लघु उद्यमीहरुको प्रयासमा स्थापना भएको बेनीमा रहेको सौगात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०६६ मंसिरमा जिल्लाका लघु उद्यमीहरुको अगुवाइमा उनीहरुकै सामग्री संकलन तथा बिक्री गर्ने उद्देश्य सहित सौगात बहुउद्देश्यीय सहकारीको स्थापना भएको थियो ।
१४ औं वार्षिक साधारणसभामा बोल्दै खरमायाँ बिटालुले लघु उद्यमीहरुलाई संगठीत गरेर अगाडी बढ्ने हेतुले सुरु भएको सहकारीले अहिलेको अवस्था सम्म आइपुग्दा राम्रो प्रगति गरेको बताउनुभयो । उहाँले उद्यमीहरुको पिर मर्का बुझ्न सक्ने भनेको त्यही क्षेत्रमै सक्रिय भएकाहरुले नै हो त्यसैले सौगातले लघु उद्यमीहरुलाई उत्पादन बढाउन र उत्पादीत सामग्रीको बजारीकरणमा अझै प्रयास गर्नु पर्नेमा जोड दिनुभएको थियो । महिला तथा पुरुषहरु लघु उद्यमको क्षेत्रमा हुन सक्ने भए पनि अधिकांश महिला दिदीबहिनीहरुले नै लघु उद्यमको क्षेत्रमा प्रयास गरेको हुनाले यसलाई थप व्यवस्थीत बनाउँदै दिगोपनका लागि प्रयास गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमा संस्थाका पूर्व अध्यक्ष दिपक सुवेदीले लघु उद्यमीले समाजमा भएको सानो पुँजीलाई पनि व्यवस्थीत गरेर परिचालन गर्ने भएकाले उनीहरुको उचित सम्मान हुनु पर्नेमा जोड दिनुभएको थियो ।
साधारणसभामा असल ऋणी तर्फ जयलाल शर्मा र असल बचतकर्ता तर्फ प्रियंका कुलाललाई सम्मान गरिएको थियो ।
पाँच सय ८७ जना शेयर सदस्य रहेको संस्थाको ६८ लाख ८९ हजार छ सय रुपैंया शेयर पुँजी रहेको छ । त्यस्तै जगेडा कोषमा ११ लाख २४ हजार एक सय ६५, अन्य कोषमा सात लाख ८५ हजार आठ सय २९ रुपैंया रहेको साधारण सभामा जनाइएको थियो । सन्तोष ढुंगानाको अध्यक्षता, उपाध्यक्ष उषा किसानको स्वागत तथा सिता गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।