बागलुङ, १७ मंसिर – जिल्ला प्रहरीको प्रमुखको रुपमा आएका राजेन्द्र ढकालले प्रहरीको विकल्प राम्रो प्रहरी भएको बताएका छन् ।
विहिवार कार्यालयमा आयोजित जिल्लाका राजनीतिक दल, संघसंस्थाका प्रमुख तथा पत्रकारको परिचयात्मक कार्यक्रममा कानूनले दिएको सबै जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् । प्रहरी उपरिक्षक ढकालले सर्वसाधारणले टिप्पणी गर्ने खालको प्रहरी नबन्ने बताएका हुन् ।
राजनीतिक दल, पत्रकार लगायतको जिज्ञाशाको उत्तर दिने क्रममा उनले प्रहरीको नाउँ जोडिएर जुवातास लगायतका कुनैपनि गैरकानूनी काम गरेको देखिएमा कारवाही गरेर जानकारी दिने समेत प्रतिवद्धता जनाए । ‘मलाइ सरकारले दिएको रासनपानीले खान पुग्छ’ ढकालले भने, ‘प्रहरीको भेष र ड्रेसमा कसैले जनतालाइ दुःख दिने काम गरेको पनि सहन सक्दिन ।’ ठूला ठालुले गरेका गैरकानूनी कामलाइ वैधता दिन नसक्ने पनि उनले दावी गरे ।
प्रहरी कार्यालयमा सूचना प्रणालीलाइ चुस्त बनाउने काममा चासो दिने पनि उनले बताए । राजनीतिक क्षेत्रका व्यक्ति तथा पहुँचवालाहरु पक्राउ परेको समयमा सूचना लुकाउने गरेको संचारकर्मीले राखेको जिज्ञाशामा उनले उक्त कुरा बताएका हुन् । जिल्लाको ट्राफिक व्यवस्थापनलाइ चुस्त बनाउने, सडकमा सवारी चलाउँदा गरिएका लापरवाही, जथाभावी रुपमा चलाइएका मोटरसाइकललाइ नियमित गर्ने काममा पनि निर्देशन दिने उनले बताए । बागलुङमा प्रतिवन्धित लागूपदार्थहरु ओसारपसारको काम बढी हुने गरेको प्रसंग उल्लेख गर्दै ढकालले त्यसका लागि पनि विशेष खोजी र नियन्त्रण अभियान चलाउने बताए ।
तीन बर्ष अघि भएको जिल्लाको रुपा गौतम हत्याकाण्डको अनुसन्धानलाइ अभैm प्रभावकारी बनाउने पनि उनले बताए । ‘यो घटना पुरानो र धेरैको चासोको बिषय भएको पाएँ’ उनले भने, ‘केन्द्रीय अनुसन्धान व्युरो सिआइविले पनि चासो राखिसकेकोले यसको उचित छानवि गरी निष्कर्षमा पुगिन्छ ।’ केही घटनामा विशेष कारणले ढीलाइ हुने धारणा उनले राखे । सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमको हत्या काण्डको उदाहरण दिंदै उनले ढीला भएपनि अपराधको तथ्य बाहिर आएरै छाड्छ । यो अभियानमा प्रहरी सफल भएरै छाड्ने समेनन उनले बताए ।
यस अघि जिल्लामा कार्यरत प्रहरी उपरिक्षक चक्रबहादुर सिंहको पालामा व्यवस्थापकीय सुधार र भौतिक निर्माणमा फट्को मारेकोले उनले त्यस कार्यक्रमलाइ समेत निरन्तरता दिनुपर्ने सरोकारवालाले बताएका थिए । प्रहरीले जनताको काम सहज रुपमा गरिदिने र समस्यामा नपारिदिएमा पनि धेरै सुधार हुन सक्ने उनले बताए । कार्यक्रममा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा जिल्ला प्रहरी मार्फत पनि सहयोग हुनुपर्ने समेत धारणा सहभागिको थियो । प्रहरीमा आएका पिडित महिलालाइ थप पिडा नहुने काम गर्न सकेमा प्रहरीको सफलता सम्झनुपर्ने समेत उनीहरुले बताए । प्रहरी प्रमुख आएपछि पत्रकार भेटघाट, राजनीतिक दलको अन्तरक्रिया हुने गरेकोमा ढकालले भने संयुक्त अन्तरक्रिया राखेका हुन् ।