बागलुङ, १६ मंसिर/सरकारले दर्ता गराएको संबिधान संशोधनका बिरुद्ध बागलुङमा पनि बुधबार बिरोध प्रर्दशन गरिएको छ । मन्त्रि परिषदवाट दर्ता गरिएको संविधान संशोधन बिधेयक राष्ट्रघाती भएको भन्दै राष्ट्रिय जनमोर्चा र नेकपा एमालेले जिल्ला सदरमुकाम बागलुङ बजारमा बिरोध प्रर्दशन गरेका हुन् । राष्ट्रिय जनमोर्चा र एमालेले धौलागिरि चोकमा कोणसभा गर्दै राष्ट्रियतालाई जोखिममा पार्ने गरी दर्ता गरिएको संविधान संशोधन बिधेयक खारेजीको माग गरेका थिए । कोणसभामा बोल्दै नेकपा एमालेका अध्यक्ष श्रीप्रसाद शर्माले देश र जनताको हित बिपरित गरिएको कार्यका बिरुद्धमा सबै एक भएर लाग्नुपर्ने बताए । नेकपा मसाल बागलुङका प्रवक्ता भरत पौडेलले अहिलेको सरकारले जनताको भावना बिपरीत संविधान संशोधनको प्रस्ताव दर्ता गरेर राष्ट्रघाती काम गरेको बताए । राष्ट्रिय जनमोर्चाको यूवा संगठन अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापाले राष्ट्रियतालाई कमजोर बनाउने गरि गरिएको कार्य तुरुन्त फिर्ता नलिए थप संर्घषका कार्यक्रम गर्ने चेतावनी दिए । कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुवँरले गरेका थिए । यसैबिच, स्थानिय तह पुर्नसंरचनाका क्रममा गरिएको बरेङ गाउँपालिकाका बिषयमा बिवादास्पद निर्णय गरिको भन्दै उक्त क्षेत्रका बासिन्दाले बिरोध जनाएका छन् । प्राविधिक समिति र राजनैतिक दलहरुको सहमतीमा गरिएको बरेङ गाउपालिकाको दोस्रो प्रस्तावमा राङखानीको १ देखी ७ वडालाई बरेङ केन्द्रमा राखिए पनि स्थानीले लगातार बिरोध प्रर्दशन गरेपछि मंगलबार ६ राजनीतिक दलको उपस्थितिमा पुनः उक्त वार्डलाई जैमिनीघाट नगरपालिकामा राख्ने निर्णय गरिएको थियो । उक्त निर्णय पछि बरेङ गाउँपालिकाको पुर्वप्रस्ताव र निर्णय कार्यन्वयनको माग गर्दै राङखानी, पैयूथन्थाप, धुल्लुबास्कोट र हुग्दिशिरका बासिन्दा सदरमुकाम आएका छन् ।
Previous Articleबृहत कृषि मेला प्रदर्शनी हुने
Next Article भूकम्प पीडितलाई पशुपंक्षी राहत