बागलुङ, १६ मंसिर/सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लि. बागलुङको व्यवस्थापनमा आगामी मंसिर १७ र १८ गते जिल्लाको भीमापोखरामा बृहत कृषि मेला प्रदर्शनी एवं निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर र वडा स्तरिय खुल्ला भजन प्रतियोगिता गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय र रोटरी क्लब अफ बागलुङको आर्थिक एवं प्राविधिक सहयोगमा जिल्लाको भीमापोखरा, धम्जा, पाला र बागलुङ नगरपालिकाको वडा नम्बर ६ र ७ लाई समावेश गरेर उक्त कार्यक्रम गर्न लागेको सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारीका अध्यक्ष मनिभद्र शर्माले जानकारी दिए । उनले ग्रामिण क्षेत्रका कृषकलाई प्रोत्साहन गर्न र ग्रामिण क्षेत्रमा गरिने कृषिहरुलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यीयले उक्त कार्यक्रम गर्न लागेको अध्यक्ष शर्माले बताए । कार्यक्रममा भीमापोखरा, धम्जा, पाला र बागलुङ नगरपालिकाको वडा नम्बर ६ र ७ का कृषकहरुले आफुले उत्पादन गरेका कृषि सामाग्रीहरु प्रदर्शन गर्न सक्ने छन् । उक्त प्रदर्शनीमा उत्कृष्ट ठहरिएका कृषि बस्तुहरुलाई पुरस्कृत गरिने सहकारीका सहसचिव खिम बहादुर कार्कीले बताए । उक्त कार्यक्रममा घरपालुवा पशुहरुको बाँझोपन तथा विभिन्न रोगहरुको समेत उपचार गरिने सहकारीले जानकारी दियो । यस्तै सहकारीले वडा स्तरिय खुल्ला भजन प्रतियोगिताको पनि आयोजना गरेको छ । उक्त प्रतियोगितामा कृषिमा आधारित रहेर भजन गाउनुपर्ने भजन प्रतियोगिता व्यवस्थापन उपसमितिका संयोजक विद्यापति शर्माले जानकारी दिए । सहकारीले अघिल्लो वर्षपनि भीमापोखरामा कृषि मेला प्रदर्शन गरेको थियो । सहकारीले कृषकहरुको मनोभावमा परिवर्तन ल्याउन र कृषिमा यान्त्रिकीकरण र कृषिको बजारीकरण गर्नको लागि सहयोग गर्दै आएको छ ।