चेतना भया
भरत बागलुङे
२०४६ सालको परिवर्तन ताका म प्राथमिक तहमा जीवन सिकीरहेको थिएँ । मनमा विल्कुल राजनैतिक ज्ञान या चेतना थिएन । बिहान अबेर उठ्नु मुख नधोई आमाको हप्काईसँगै आमाले दिएको तात्तातो चिया पिउनु र खाली खुट्टा घर नजिकको खाली चौर जसलाई हामी खोलेटो भन्ने गथ्र्यौँ । खोलेटो टोलका बीस घरको खुल्ला हग्ने ठाउँ थियो । र सराबरी गुहुको बीचमा साथीहरुसँग खेल्न जानु र हतार हतारमा आमाको गालीसँगै फर्केर भात खाएर पाठशाला जानु मेरो दैयन्दिनी थियो । मेरो घरको नजिक करिब करिब पच्चिस घरको बीचमा एउटा खानेपानीको धारो थियो । पानीको अभावले जीवनको आधा समय गृहिणीहरुको उपलब्धिहिन बनेर बितिरहेको थियो । अभैmपनि मुलुकमा यस्ता गाउँहरु असङ्ख्य रहेका छन् जहाँ पानीको लागि गृहिणीहरुले महत्वपूर्ण समय खर्च गरिरहनु परेको छ । पानीको धारामा हरेक दिन टोलका आइमाईहरुको बीचमा झगडा चलिरहन्थ्यो । कहिलेकाहिँ त हामी केटाकेटीहरु समेत झगडा गर्ने गथ्र्यौँ । पक्ष विपक्षमा लागेर झगडाले विकराल रुप लिने गथ्र्यो । धाराको छेउ हामी टोलका केटाकेटीहरुको गुच्चा, खोपी, कपर्दी, डाँडेलौरी र डण्डी वियो खेल्ने सार्वजनिक र प्रिय स्थान थियो । अज्ञानता र रुढले डेरा जमाएको समय गुहुलाई सुरक्षित र भरपर्दो गरी लुकाएर राख्नु पर्छ भन्ने ज्ञान त्यस समयका बुद्धिजीवि, शिक्षक या सामाजिक अभियन्ताहरुमा समेत लेसमात्र पनि थिएन । तिनको अज्ञानता या लापारवाहीको शिकार हामी केटाकेटीहरु खेल्ने बेलामा बन्ने गथ्र्यौँ । गुहुमा लडिबुडि खेलेर कपर्दी या अन्य खेल खेल्नु हाम्रो अभिषाप जस्तो नियति थियो ।
चैत्रको एक उराठ बिहान म चिया सुर्काएर धाराको छेउमा खेलिरहेका साथीहरुको हुलमा मिसिएँ । धारामा मेरी दिदी र उनकी सहेली पानी थाप्ने उपक्रममा थिए । उनीहरु धारामा गाग्री थापेर गफमा मग्न थिए । सायद गाग्री भरिने समयको प्रतिक्षामा ती समयको फाइदा उठाईरहेका थिए । उसो त धारामा या पँधेरामा एकले अर्कोको बद्ख्वाइँ गर्ने परम्परा आजपर्यन्त हाम्रो समाजमा विद्यमान छ । यो हाम्रो मौलिक परम्परा हो भन्नु अन्यथा हुँदैन । हिजो राती राजाले बहुदल घोषणा गरो थाह पाइस अब तानाशाहको दिन गयो । दिदीकी साथी कल्पनाले दिदीको सम्मुख उभिएर बडो उत्साहसाथ घोषणा गरिन । आज विजया जुलुस हुन्छ, स्कुलमा पढाई हुन्न । उनले थप उत्साहसाथ बोलिरहेकी थिइन । हाम्रो परिवार बागलुङमै गनिने राजनैतिक परिवार थियो । मेरा हजुर बा पं. भवानी प्रसाद उपाध्याय काँग्रेसका जिल्लास्तरका प्रतिष्ठित नेता हुनुहुन्थ्यो र काकाहरु पनि राजनीतिमा विशिष्ट स्थानमा हुनुहुन्थ्यो । विडम्बना उहाँहरुबाट हाम्ले कहिल्यै राजनैतिक ज्ञान प्राप्त गर्न सकेनौँ । त्यसघरी सहेली कल्पनाको कुराले मेरी दिदीमा कुनै प्रभाव पार्न सकेन । एकप्रकार मेरी दिदीले मैले जसरी उनका कुरा बुझिरहेकी थिइनन् । ती नादान अज्ञानी थिइन र राजनीति भनेको के हो तिनलाई त्यसको छेउटुप्पो केही थाह थिएन । हामी हतार हतारमा भात खाएर स्कुल गयौँ नभन्दै स्कुलको वातावरण हिजो अस्तिको भन्दा विल्कुल भिन्न थियो । ठूला दाई दिदीहरुका झुण्ड खुशी साटासाट गर्दै थिए र गुरु आमाहरु ती भयभित चेहेराको छेउछेउ जर्वजस्ति खुशी रोप्ने कसरत गरिरहेका देखिन्थे । स्कुलमा पढाई भएन । एक हुल बाहिरी मान्छेहरु स्कुलभित्र छिरे र तिनले भाषाण गरे । सधैं हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर चिच्याईरहने हामी केटाकेटीहरुलाई तिनले राजाको विरुद्ध बोल्न लगाए । कस्तो अचम्म ! तिन्ले डरलाग्दा जुँगा भएको चौकीको हवल्दारको नाकमै ताकेर डण्ठे पुलिस भने आम्मै कति डर लाग्दो कुरो ! तर पुलिस हारेको योद्धा थियो । बरा उ चुँ बोलेन । चुपचाप हेरिरह्यो, आफुप्रतिका कठोर शब्द सुनिरह्यो । यो मेरो लागि एउटा विष्मयकारी घटना थियो । जहाँ राजा र पुलिस दुवै एकसाथ देवताबाट दानवमा पतन भएका थिए ।
बहुदल आएको निकै महिनासम्म पनि मैले राजनीतिको भेउ पाउन सकिरहेको थिइन । एकदिन हजुरबाको आदेशमा म काँग्रेसको झण्डा बोकेर बलेवा एयरपोर्टमा काँग्रेसका नेता भनिने अदभूत मुन्छेका सम्मुख हजुरबासँगै उभिन पुगेँ । चिरिच्याट्ट परेका तर बोली घाँटीबसे जसरी बोल्ने ती मनुवा काँग्रेसका अहिलेका प्रभावशाली नेता रामचन्द्र पौडेल थिए । तिनले गरेका भाषणले भन्दा मेरो मन तिनले लगाएका सुकिला लुगाले तानिरहेको थियो । गरिबका दुःख र अभाव हटाउने कुरा गर्ने ती मनुवाले पहिरिएका लुगाबीच मैले अस्मेल खाडल देखिरहेको थिएँ कस्तो अचम्म ! त्यसदिनपछि मैले कहिल्यै काँग्रेसको झण्डा उचालिन र काँग्रेसप्रति मेरो लगाव पनि रहेन । बहुदलको करिब करिब छ महिनामा गाउँभरी पैmलिन पुगेको राजनैतिक दलको प्रभाव र प्रचारबीच म अकल्पनीय रुपमा कम्युनिष्ट पार्टीको नजिक पुगिसकेको थिएँ । रक्तिम परिवारका गीत र सम्मोहनकारी नृत्यले मलाई क्रान्तिको जटिल बाटोतिर धकेलिरहेको थियो । मनोरञ्जनको अन्य साधन नभएको पछौटेसमय थियो त्यो । गाउँमा टोल–टोलमा केटाकेटीहरु रक्तिमका गीत गाएर आकाश धर्ती ब्यूँझाईरहेका हुन्थे ।
अहिले आएर गम खान्छु । समयका प्रत्येक आयामहरुलाई पढिरहेको छु । आरोप प्रत्यारोप र ठेकदारी प्रथाले जुन विकराल रुपमा आज नेपाली राजनीति र समाजलाई विभक्त गरिररहेको छ । मुलुकको अखण्डता र सार्वभौमिकता आज जुन रुपमा धरापमा परिरहेको छ । त्यसको कारण एउटै थियो सत्यको विरुद्ध हामीले उभिईरहेको समय । उसबेला गाउँ–गाउँमा हामी विभक्त बनिसकेका थियौँ । काँग्रेस र कम्युनिष्टको भेषमा । हामीसँग मुलुकको साझा चिन्तन, सोच र विचार थिएन । राष्ट्रियता हाम्रो लागि राजनीति गर्ने शीर्पm एउटा मन्त्र थियो जसलाई हामी पक्ष विपक्ष भएर जपिरहेका थियौँ । नेकपा मसालको झण्डा बोकेर हामी ठेकेदारी प्रथाको विजारोपण गरिरहेका थियौँ की हामी नै सच्चा राष्ट्रभक्त हौँ र काँग्रेस गद्दार र भारतीय विस्तारवादको दलाल हो । काँग्रेस हामीले पुराना सन्धि सम्झौता जो भारतसँग यो मुलुकका शासकले सत्ताको लागि गरेका थिए तिनको खारेजीको कुरा गर्दा ती भारतका पक्षमा लाजै नमानी वकालत गरिरहेका हुन्थे । राष्ट्रियता, जनतन्त्र, जनजीविका र अधिकारको कुरा आजपर्यन्त नेपाली समाजमा कुनै अमुक दल विशेषको ठेक्का जस्तै बनिरहेको छ । वर्तमान राजनैतिक जटिलतालाई मसिनो गरी चिरफार गर्दा हामीले प्रष्ट त्यसको प्रस्तर रेखाचित्र देख्न सक्छौँ । हामी राजनीतिको नाममा राजनीति गरिरहेका छौँ या ठेकेदारी प्रथाको निरन्तरता ? चेतना भया ! (क्रमश…)
bhbaglunge@gmail.com