बागलुङ, १५ मंसिर – नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटि र बागलुङ आइटिएफ तेक्वान्दो संघको आयोजनामा बुर्तिवाङमा चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ । आउने शनिवार हुने च्यम्पियनशिपमा ५ विकास क्षेत्र, आयोजक र दुई बिभागीय नेपाली सेना र सशष्त्र प्रहरी भिड्ने भएका छन् ।
मंगलबार बिहान पत्रकार सम्मेलन गरेर संघले उक्त जानकारी दिएको हो । बागलुङमा पहिलोपटक हुन लागेको यो खेललाइ बुर्तिवाङ सम्म लगेर पर्यटन विकास, ग्रामीण क्षेत्रसम्म खेलको विकासका लागि पहल हुन सकोस भन्ने उद्धेश्य राखिएको आयोजकले बताए ।
उक्त च्याम्पियनशिपमा प्रथम हुने खेलाडीलाइ ६ सय डलर, द्वितिय हुनेलाइ ३ सय डलर र तृतिय हुनेलाइ २ सय डलर पुरस्कार प्रदान गरिने छ । राष्ट्रिय खेलकुँद परिषदले १ लाख रुपैयाँ सहयोग गरेको यो खेल प्रतियोगितालाइ ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक टिमबाट ३ जनाका दरले २४ जना देशभर ख्याती कमाएका खेलाडीले भाग लिने संघका केन्द्रीय सचिव राजु खड्काले जानकारी दिए । विशेषगरी यो खेलका लागि ब्ल्याक बेल्ट पाएर कम्तिमा २ बर्ष खेलेको व्यक्ति योग्य मानिन्छ ।
त्यस्तै ५७ केजी देखि ६४ केजी बिचका खेलाडी बिच मात्र प्रतियोगिता गरिने प्रावधान छ । रोयल हिमचुली इन्टरनेशनल प्रालिले खेलको पहिलो पुरस्कार लगायतको व्यवस्थापनमा प्रायोजन गरेको छ ।
त्यस्तै यही मंसिर २६ गते देखि २८ गते सम्म बागलुङ बजारमा राष्ट्रिय खेलकुँदका लागि क्षेत्रीय छनौट प्रतियोगिता पनि हुने भएको छ । राजु खड्काकै अध्यक्षता, पत्रकार ताराप्रसाद शर्माको संचालनमा भएको कार्यक्रममा प्रतियोगिता बारेमा संघका घमबहादुर थापाले जानकारी गराएका थिए ।