क्युबाका पूर्वराष्ट्रपति तथा क्युबाली समाजवादी क्रान्तिका नेता फिडेल क्यास्ट्रोको शनिबार ९० वर्षको उमेरमा निधन भयो । सन् १९२६ मा जन्मेका क्यास्ट्रो क्युबालाई अघोषित अमेरिकी उपनिवेशबाट र आफ्नै देशका तानाशाहबाट मुक्त गर्ने आन्दोलनका एकजना नायक थिए । उनको नेतृत्वमा उनका भाइ राउल र अर्का अर्जेन्टिनी क्रान्तिकारी नेता चे ग्वेभारासहितको टिमले सन् १९५९ मा क्युबामा क्रान्ति सम्पन्न गरेको थियो । झन्डै ६० प्रतिशतभन्दा बढी अमेरिकी पुँजीपतिको नियन्त्रणमा रहेको क्युबाली अर्थतन्त्रलाई स्वतन्त्र गर्ने क्रममा उनले सन् १९६५ मा गएर क्युबामा समाजवादी क्रान्ति सम्पन्न गरेका थिए । तर, उनको नेतृत्वमा भएको क्रान्तिलगत्तै क्युबामाथि संयुक्त राज्य अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको थियो । अमेरिकी राज्य लोरिडाको दक्षिणपट्टि समुद्रको बीचमा रहेको यो सानो देशमाथि अमेरिकाजस्तो महाशक्ति राष्ट्रले लगाएको नाकाबन्दीको प्रभाव सामना गर्न र क्युबालाई आर्थिक तथा सामाजिक रूपमा सबल र सम्पन्न बनाउन क्यास्ट्रोले क्युबाली जनताको नेतृत्व गरे । यसक्रममा सिआइएले कैयौँपटक उनको हत्या गर्ने प्रयास गर्यो र क्युबामाथि सीधै सैन्य हस्तक्षेप गरियो । त्यसक्रममा क्यास्ट्रो सोभियत ब्लकको समाजवादी खेमातिर नजिक भए । क्युबाको अर्थतन्त्र अमेरिकी प्रभावबाट त मुक्त भयो, तर यसले समाजवादी खेमासँगको निर्भरता अत्यधिक रूपमा बढायो । यसैले गर्दा सन् १९९० मा समाजवादी खेमाको पतनसँगै क्युबाली अर्थतन्त्र तीव्र रूपमा ओरालो लाग्यो । मानिसहरू पेटभर खान पनि नपाउने र सहज रूपमा यात्रा गर्न पनि नपाउने गरी आर्थिक रूपमा कंगाल भए, तर क्यास्ट्रोले यो संकटको पनि साहसपूर्वक जनतासँग एकाकार भएर सामना गरे । अहिले पनि क्युबा मानव विकास सूचकमा मध्यमस्तरको विकसित देशको दाँजोमा छ । यहाँको स्वास्थ्यसेवा विश्वभर उदाहरणीय छ । यहाँको शिक्षाप्रणाली विश्वभर अनुकरणीय छ । र, सबैभन्दा ठूलो कुराचाहिँ क्यास्ट्रोले विशाल शक्तिसहितको छिमेकी देशले नाकाबन्दी र आक्रमण गरिरहँदा पनि क्युबालाई स्वतन्त्र राखिरहे, क्युबा निरन्तर शिर ठाडो पारेर जुधिरह्यो । नेपालजस्ता देशका लागि जहाँ एउटा बलियो छिमेकीले विभिन्न बहानामा आफ्ना सर्तहरू थोपर्ने र नाकाबन्दीजस्ता अमानवीय हतियार प्रयोग गर्ने गर्छ, जनतालाई एकताबद्ध पार्न सकेका खण्डमा आफ्नो स्वाभिमान जोगाउन कठिन छैन भन्ने सन्देश फिडेलको जीवनको मुख्य सन्देश हो । असंलग्न आन्दोलनका एकजना प्रखर प्रवक्ताका रूपमा उनी नेपालका एक सच्चा मित्र रहेका थिए ।
पुँजीवादको विकल्पमा समाजवादी समाजको निर्माण सम्भव छ भन्ने सन्देश पनि उनले दिन खोजेका छन् । केही वर्षअगाडि सक्रिय राजनीति छाडे पनि उनले लेख र प्रवचनमार्फत आफ्ना विचार सक्रियतापूर्वक राखिरहन्थे । केही साताअगाडि मात्र उनले भियतनामी राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका थिए । उनको निधनबाट विश्वको कामदार वर्ग र साम्राज्यवादविरोधी शक्तिले एकजना नायक गुमाएको छ । उनको जीवन र मृत्युको अर्थबारे रुसी राष्ट्रपति पुटिनको यो भनाइ अर्थपूर्ण रहेको छ । यो शक्तिशाली तथा बौद्धिक मान्छे, जसले सधैँ भविष्यप्रति विश्वासका साथ हेने गर्थे । उनको व्यक्तित्वमा देशभक्त, नागरिक र राजनीतिज्ञको उच्च आदर्श एकाकार थियो । आफ्ना उद्देश्यको सहीपनामाथि उनी सधैँ गम्भीरतापूर्वक विश्वस्त थिए, जसका लागि उनले सम्पूर्ण जीवन अर्पण गरे । उनीबाट सवै राजनीतिज्ञले सिक्न जरुरी छ ।
Previous Articleतेक्वान्दो च्यापियन हुने
Next Article प्रजातान्त्रिक प्रणाली र आवधिक निर्वाचन