बागलुङ, १५ मंसिर – जिल्लाको बुर्तिबाङ गाविस–१ निवासी एक कृषकले प्याज र गोपीका बेर्ना बेचेर मनग्य आम्दानी गरेको छन् । एकै मौसममा गोपीका बेर्ना बचेर कृषक युवराज कँडेलले ९५ हजार आम्दानी गर्न सफल भएका हुन् ।
मौसम अनुसार तरकारीका बेर्ना जमाउने पेशा अंगालेका कँडेलले गोपीका बेर्ना जमाउँदा बिउको लागि ३० हजार खर्च भएको र ९५ हजारसम्म आम्दानी गरेको बताए । गतबर्ष बेर्ना जमाउन शुरु गरेका कँडेलले राम्रो आम्दानी हुने देखेपछि यसलाई व्यवसायिक रुपमा गर्न थालेको बताए । बुर्तिबाङ आसपासका देबिस्थान, निसी, बोहोरागाउँ, खुंंगा, बोंगादोभान र भिमगिठे गाबिसका कृषकहरुलाई आफुले उत्पादन गरेका बेर्ना बिक्री गरेको उनले बताए ।
कँडेलले एक सय फुलगोपीको बेर्नालाई २ सय रुपैयाँमा बेचेको र ब्रोकाउलीलाई प्रतिबेर्ना ५ रुपैयाँका दरले बेचेको बताए । गोपी बेर्नाहरुको मौसम सकिएलगत्तै उनले हाल प्याजका बेर्ना उत्पादन गरी बिक्री गर्न शुरु गरिसकेका छन् । उत्पादन गरेको प्याजको बेर्ना दैनिक २ हजार सम्मको बेर्ना बेच्ने गरेको कँडेलले बताए । ‘गत बर्षभन्दा यस वर्ष बेर्नाबाट राम्रो आम्दानी हुने संभावना देखेको छु’ कँडेलले भने ।
अहिलेसम्म प्याजका बेर्नाबाट २५ हजारसम्म आम्दानी गरेको उनले बताए । ‘सबै प्याजका बेर्ना बेचेर ८० हजार कमाउने लक्ष्य छ’ कँडेलले हौसिदै भने । वर्षको ५ हजार रुपैयाँ तिर्ने सर्तमा जग्गा भाडा लिएर तरकारीका बेर्ना उत्पादन गर्ने पेशा शुरु गरेको उनले बताए । ‘प्याजका बेर्नापछि आलु रोप्ने योजना बनाएको छु’ कँडेलले भने ।
आफ्नै अनुभवको आधारमा कृषि पेशा गर्दै आएका उनले आवश्यक तालिम लिन इच्छुक रहेको बताए । बेर्ना कुहिने, मर्ने जस्ता समस्या आउँदा कृषि कार्यालयबाट कुनैपनि सुझाव सल्लाह पाउन नसकेको अपाङ्गता भएका कँडेलले गुनासो गरे ।
Previous Articleसंशोधन प्रस्तावपछि के गर्दैछन राजनैतिक दल ?
Next Article तेक्वान्दो च्यापियन हुने