बागलुङ, १४ मंसिर – अमेरिका लगायतका देशमा २, ४ बर्ष बसेपछि सबैले त्यहीको कार्ड बनाउने र सरकारी जागिर खाने चाहना धेरैले राख्छन् । तर नेपालमा ३३ बर्षदेखि बसेर पढाएका भारतीय नागरिक एक शिक्षक खाली हात फर्केका छन् ।
ताराखोला, बुर्तिवाङ लगायतको स्थानमा पढाएर लामो समय देखि धनगौज्यौती माविमा पढाएपनि अहिले अनिवार्य अवकासमा परेका छन् । उनले जीवनभर नेपालमा आएर गणित र विज्ञान विषयको अध्यापन गराएपनि निस्कने समयमा नागरिकताकै आधारमा खाली हात निस्कनु परेको हो । उनका लागि पेन्सन र अन्य सेवा सुविधा केहीपनि छैन ।
सधै मेहेनत गरेर पढाउने उनले आफ्नो देश, गाउँ र परिवारको लागि केही नभनी बसेपनि जाने बेलामा खाली हात जानुपरेकोमा दुःख लागेको स्थानीयले बताए । ‘नीजि श्रोतको शिक्षकको रुपमा पढाएका उहाँलाइ सम्मानकै लागि पनि केही उपदान दिनुपर्ने हो’ तमानका जोकलाल बुढाले भने, ‘यो अभियानमा तमानबासीले पनि सहयोग गर्न तयार छौं ।’ दशै तिहारको विदामा मात्र घर जाने गरेका सिंहले ४ बर्ष ताराखोलाको नेपाल मावि, केही समय बोहोरागाउँको प्रभा मावि र लगातार २८ बर्ष धनगौज्योती मावि तमानमा अध्यापन गराएका थिए ।
भारतमै विएसी र डिएबी डिग्री पास गरेका सिंहले लगातार पढाएर मंसिर १६ गते ६० बर्ष उमेर पुग्ने भएपछि अनिवार्य अवकास पाउने भएका हुन् । ‘आफ्नो मेहेनतले पढाएर धेरै विद्यार्थीलाइ सेवा गरें’ उनले भने, ‘मेरो लागि त्यो पनि अवसर भयो, तर बुढेसकालमा खानका लागि भने केही छैन, नेपाल सरकारले केही दिएमा सहयोग पुग्ने थियो ।’ उनले लगातार बसेपनि नेपाली नागरिकताका लागि समेत कुनै आसा गरेनन् । जिल्ला शिक्षा कार्यालय बागलुङमा उनले आफ्ना कागजात पेश गरेका छन् । ‘जिल्ला शिक्षा अधिकारी लगायतले कागजात पेश गरेर छाड्न भनेपछि पेश गरेको छु’ उनले भने, ‘केही पाउने नपाउने थाहा छैन, उमेर हदले निस्कने बेला भएको छ ।’ केही राहत पाउने अवस्था भएमा मलाइ पनि राम्रो हुनेथियो ।
सँगै पढाएका अन्य शिक्षकले पेन्सन खाएको देख्दा भने आसा लागेको उनले बताए । लगातार बसाइको कारण उनको बोली, लवाइखवाइ पनि बागलुङको पश्चिम क्षेत्रको जस्तै भएको छ । उनले लगातार बसेर गरेको मेहेनतलाइ सबै अभिभावकले पनि सम्मान गरेका छन् । ‘असल चरित्र भएको र आफ्नो विषयमा अब्बल भएकोले धेरैले मन पराए’ पूर्व प्रअ रविन्द्र बुढाथोकीले भने, ‘सरकारले दरवन्दीका शिक्षक नदिएको समयमा हामीलाइ उहाँको ठूलो सहयोग मिल्यो ।’ सरकारी दरवन्दीका विज्ञान, गणित र अंग्रेजी शिक्षकहरु नपाएर पश्चिम क्षेत्रका विद्यालयहरुमा पढाइको गुणस्तर खस्कंदो अवस्थामा छ । सिंहको मेहेनत र सहयोगले धनगौज्योती माविले भने परिक्षाफल र विद्यार्थीको सिकाइ उपलब्धी राम्रो बनाउन पाएको उनले बताए । भारतको उत्तरौलिया ग्राम घर भएका सिंहको एक श्रीमती, दुइ सन्तान छन् । उनको अनिवार्य अवकासको अवसरमा पनि तमान बासीले भब्य विदाइको तयारी गरेका छन् । साथै स्थानीयको तर्फबाट समेत आवस्यक सहयोग गर्न तयार भएको उनीहरुले बताए ।