बागलुङ, १४ मंसिर – स्थानिय तह पुर्नसंरचना प्रस्तावको बिषयमा असमति जाहेर गर्दै आएका बागलुङ जिल्लाका बिभिन्न गाविसका स्थानियवासी सदरमुकाम केन्द्रित हुन थालेका छन् ।
पुर्नसंरचना क्रममा स्थानियबासीलाई कुनैपनि जानकारी नगराई मनोमानी रुपले गरिएको कार्यको बिरोध गर्दै प्राविधिक सहयोग समिति र जिल्लामा क्रियाशिल राजनीतिक दलको ध्यानाकर्षण गराउन २ र ३ नम्वर क्षत्रका बिभिन्न गाविसका बासिन्दा सदरमुकाम केन्द्रित हुन थालेका हुन् ।
बागलुङको क्षत्र नम्वर २ अन्तरगत दक्षिण राङ्खानी र पैयूथन्थाप गाविसका बासिन्दाले प्रस्तावित कुश्मिशेराको जैमुनी नगरपालिकामा समावेश गर्न माग गर्दै जिल्ला बिकास समितिको कार्यालय परिसरमा धर्ना दिदै आएका छन् भने क्षेत्र नम्वर ३ अन्तरगतको पाण्डवखानी र राजकुतका बासिन्दा दलहरुको ध्यानाकर्षण गराउन सदरमुकाम आएका छन् । उनीहरुले गाविसलाई पायक पर्ने ठाउँमा भन्दापनि राजनीतिक स्वार्थका लागि विभाजन गरि स्थानिय तह पुर्नसंरचनाको प्रस्ताव आयोगमा पठाएको आरोप लगाएका छन् ।
दलहरुले अदुरदर्शिता प्रकट गर्दै स्थानियबासीको चाहाना र भावना बिपरितका कार्य गरेको समेत आरोप लगाएका छन् । जनताको चाहाना बिपरित गरिएको कार्य तुरुन्त सच्चाउन माग गर्दै उनिहरुले यहि मागको सुनुवाई नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । जिल्ला प्राविधिक सहयोग समिति र राजनीतिक दलका नेताहरुलाई एकै ठाउँमा राखी स्थानियबासीले छलफल पनि गरेका छन् ।
स्थानियबासीको मागका बिषयमा जिल्ला विकास समितिमा निरन्तर रुपमा छलफल जारी रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए । स्थानिय तह पुर्नसंरचनाका क्रममा गाविसलाई बरेङ गाउपालिकामा समावेश गर्न गरिएको प्रस्तावको बिरोधमा राङ्खानीबासी र पैयूथन्थाप गाविसको वडा नम्वर १, २ र ९ का बासिन्दाले समग्र गाविसलाई जैमुनी नगरपालिकामा समावेश गर्न माग गर्दै पैयूथन्थापबासी सदरमुकाममा केन्द्रित भएका छन् ।
उता पाण्डवखानीबासीले समग्र पाण्डवखानीलाई गलकोट नगरपालिकामा समावेश गर्न माग गर्दै प्राविधिक सहयोग समिति र दललाई दबाव दिन सदरमुकाम आएका छन् ।
Previous Article१४ मंसिर २०७३, धौलागिरी स्टार साप्ताहिक
Next Article ३४ वर्ष पढाएर रित्तै फर्कदै भारतीय शिक्षक