प्रकाश थापा
अहिलेका वर्षहरुमा नेपालीहरु माझ रोजगारीका लागि जापान उत्कृष्ट गन्तव्य बनेकोे छ । जापानी येनको मोहले गर्दा अहिले करिव ६० हजार नेपालीहरु जापानमा रहेको तथ्य विद्युतीय सञ्जालहरुमा पढ्न पाइन्छ । तर यही जापानी येन अर्थात् जापानी नोट नेपालमा पाइने अर्गेली नामक बोटको बोक्राबाट बन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हो जापानी रुपैयाँको कच्चा पदार्थ अर्गेलीको रेशादार बोक्रा नेपालबाट जापान निकासी हुने गरेको छ । यस अर्थमा नेपालमा नै जापानी येन (नोट) फलिरहेको छ ।
अर्गेलीलाई ठाउँ वा स्थान अनुसार अर्यौली, अर्कले पात, तीनहाँगे लोक्ता, रातो बरुवा आदि भनिन्छ । यसलाई गुरुङ भाषामा पच्यार, तामाङ भाषामा वारपादी र शेर्पा भाषामा ध्यारपाती समेत भनिन्छ । जापानमा नेपालको अर्गेलीसँग मिल्दोजुल्दो अर्को प्रजातिलाई मित्सुमाता भन्ने गरिन्छ । मित्सुमाताको विकल्पको रुपमा जापानी नोट बनाउन अर्गेलीको प्रयोग जापानमा हुँदै आएको छ ।
नेपालका इलाम, संखुवासभा, पाँचथर लगायतका पूर्वी पहाडी जिल्लाहरुबाट जापानी येन (नोट) को कच्चा पदार्थका रुपमा अर्गेलीको रेशादार बोक्रा हरेक वर्ष जापान निकासी हुने गर्दछ । गत वर्ष मात्रै अर्गेलीको १ सय १४ टन माग भएकोमा नेपालबाट ९० टन मात्र कच्चा पदार्थ जापान निर्यात भएको जानकारी विभिन्न पत्र पत्रिकाहरुबाट सुन्नमा आएकोे थियो । नेपालबाट निकासी हुने अर्गेलीको बोक्रा चार सयदेखि चार सय चालिस रुपैंया प्रतिकेजी सम्ममा विक्री हुने गरेको छ ।
मूलत अर्गेलीको रेशादार बोक्राबाट जापानी नोट, पासपोर्ट, खाम, हुलाक टिकट, कागज र कपडा समेत बनाउने गरिन्छ । अर्गेलीको मुख्य रुपमा उपयोग हुने भाग नै डाँठको भित्री रेशादार बोक्रा हो । यसको बोक्रालाई उचित रुपमा प्रशोधन गरी नेपाली हाते कागजको समेत उत्पादन गरिन्छ । स्थानीय स्तरमा उपलब्ध प्रशोधन विधिमा अर्गेलीको बोक्रा गलाउन कठिन हुने हुनाले धेरै जसो ठाउँमा अर्गेलीलाई लोक्ता भन्दा कम महत्व दिने चलन पनि रहिआएको छ । गाउँघरमा अर्गेलीको बोक्रा डोरी तथा नाम्लो बाट्न समेत प्रयोग गरिन्छ । कहिंकतै अर्गेलीको जरा खटिरा निकोपार्न प्रयोग गर्ने गरेको पनि सुन्नमा पाइन्छ । अर्गेलीको बोक्रा र पात कुटेर निकालेको रस माछा मार्नका लागि विषको रुपमा समेत प्रयोग हुने गर्दछ । नेपाली अर्गेलीको बोक्रा विश्व मै उत्कृष्ट भएकाले जापानमा यसको माग बढिरहेको छ । यसबाट बनेको नोट बलियो तथा पानीमा भिजाउँदा समेत केही नहुने भनाइ यसका जानिफकारहरुको रहेको छ । अर्गेली आफैमा वातावरणीय दृष्टिकोणबाट समेत उपयोगी वनस्पति हो । छिटो बढ्ने क्षमताका कारण यसले भूक्षय रोक्न तथा हरियाली बढाउन पनि विशेष भूमिका खेल्दछ ।
नेपालका करिव २० भन्दा बढी पहाडी जिल्लाहरुमा अर्गेली प्राकृतिक रुपमा नै पाइन्छ । हाम्रै धवलागिरी अंचलमा पनि पर्वतको सालिजा, लेकफाँट, भुक्ताङ, क्याङ, बागलुङ जिल्लाका हटिया तथा बुर्तिवाङ आसपासका क्षेत्रहरु र म्याग्दीको राम्चे नागीमा प्रशस्त पाइने कुरा वन कार्यालयका कर्मचारीहरु बताउँछन् । तर उचित व्यवसायीकरण गर्न नसक्नाले यस क्षेत्रलाई जापानी येनको कच्चा पदार्थले फाइदा दिन सकिरहेको छैन् । समान्यतया १५०० देखि ३००० मिटरको उचाइमा पाइने अर्गेली प्रायजसो उत्तरी मोहडामा सेपिलो तथा पानी नजम्ने क्षेत्रमा पाइन्छ । अर्गेली करिव तीन मिटरसम्मको उचाइ हुने झाडिदार प्रजाति हो । यो प्रजाति छिटो बढ्दछ र उचित व्यवस्थापन गरेमा ३० वर्षसम्म बाँच्न सक्दछ । साधारणतया कार्तिकदेखि चैत्र महिनासम्म अर्गेलीको फूल फूल्दछ भने फल चैत्रदेखि श्रावण महिनासम्म पाक्दछ ।
अन्तराष्ट्रिय स्तरमा अर्गेलीको माग बढिरहेको अवस्थामा हाम्रा वनजंगलमा भने अर्गेली खेर गइरहेको छ । हाम्रा गाउँबस्तीदेखि सहर बजारसम्मका युवा जनशक्ति भने जापान लगायतका विभिन्न मुलुकमा धन कमाउन जानका लागि लालाहित छन् । कस्तुरीले आफ्नै बिनाको सुगन्ध थाहा नपाइ जंगल भैतारिए झै हाम्रा कर्मठ हातहरु पनि श्रोतको पहिचान र उपयोग गर्न नजानेर विदेशतिर हानिएका छन् । जापानी येन भने यही नेपालको अर्गेलीले बने पनि हामी कहाँ यसको उद्यम विकास हुन नसकेर स्रोतहरु प्रयोग बिहिन भएका छन् । हाम्रो सोच र नजर भने यही स्रोत र साधन उपयोग गरी जापानी धन फलाउनेतर्फ जान सकेको छैन् ।
आधुनिक प्रविधिको प्रयोग गरी अर्गेलीमा आधारित उद्यम स्थापन गर्नसकेको खण्डमा स्थानीय स्तरमा रोजगारी तथा अन्तराष्ट्रिय मुद्रा सजिलै आर्जन गर्न सकिने प्रवल संभावना छ । अर्गेलीको अन्तराष्ट्रिय मागलाई हेर्दा यसको खेती विस्तार तथा व्यवसायीकरणमा राज्यले विशेष ध्यान दिइ यसको निकासीमा जोड दिनुपर्ने देखिन्छ । राज्यले अर्गेलीको कच्चा पदार्थ उत्पादनका लागि यसका पकेट क्षेत्रहरुमा तत्कालै संभाव्यता समेत अध्ययन गरी परिणाममुखी कार्य थालनी गर्नु पर्दछ । किसानहरुलाई कच्चा पदार्थ उत्पादन सम्बन्धी उपयुक्त प्राविधिक सीप प्रदान पनि गर्दै जानुपर्दछ । अर्गेलीको व्यवसायिक रुपमा निकासी गर्नसके अर्गेली वैदेशिक रोजगारीको विकल्प बन्न सक्ने थियो । त्यसैले सम्पूर्ण सरोकारवालाहरुले वनजंगलमा खेर गइरहेको अर्गेलीको बोटबाट जापानी येन नेपालमै फलाउने हो कि ?