बागलुङ, १३ मंसिर – मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुश्मामा फेरी अर्को अग्लो झोलुङ्गे पुलको निर्माण गरिएको छ । पर्वतको सदरमुकाम कुश्मालाई जिल्लाको फलेबास क्षेत्रसँग जोड्न मोदीखोलामा १ सय ५८ दशमलब ७० मिटर अग्लो कुश्मा–मुडिकुवा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको हो ।
पुलको निर्माण कार्य सकिएसंगै सोमबार बिहानदेखि बालाचतुर्दशीको अवसर पारेर औपचारिक रुपमा सर्वसाधरणलाई ओहोर–दोहोर गर्न तथा पर्यटकका लागि अवलोकन गर्न खुल्ला गरिने भएको छ । कुश्मा–मुडिकुवा झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले पुलको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको र सोमबार बिहानसम्म सकिने भएकाले सोमबार बिहानदेखि सर्वसाधरण र पर्यटकका लागि खुल्ला गरिन लागेको जानकारी दिएको छ ।
आइतबार साँझसम्म तारबार लगाउने काम सकिने र त्यसलाई राम्रो बनाउने काम मात्रै बाँकी हुने भएकाले यात्रु र पर्यटकका लागि भने कुनै जोखिम नहुने निर्माण समितिका अध्यक्ष बालकृष्ण तिवारीले जानकारी दिए ।
सोमबार बालाचर्तुदशी पर्व पर्ने भएकाले पनि गुप्तेश्वर गुफा, अलपेश्वर, गलेश्वर जाने तीर्थालुको सुबिधालाई समेत ध्यानमा राखेर पुल सञ्चालन गर्न लागिएको समितिले जनाएको छ । मोटरसाईकललाई वारपार गर्नका लागि अझै दुई महिना लाग्ने अध्यक्ष तिवारीले बताए । दुबै तर्फबाट सडक जोड्न तथा पुलमा मोटरसाईकल ओहोर–दोहोर गर्ने पुर्बाधार बनाउन समय लाग्ने उनको भनाई छ ।
कुश्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ–कैया झोलुङ्गे पुलभन्दा ३० सेमी होचो छ । यो पुल अहिलेसम्म निर्माण भएका पुलमध्ये लामो छ । यो पुल ३५९ मिटर लामो रहेको छ । विभागका अनुसार, कुल १ करोड ७६ लाखको लागतमा निर्माण भएको छ ।
बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुश्मा–कैया झोलुङ्गे पुलबाट निर्माण भएकाले पर्यटक भित्राउन सहयोग पुग्ने बिश्वास लिईएको छ ।
Previous Articleसंविधान संशोधन कि कार्यान्वयन ?
Next Article २०७३ मंसिर १३ गते सोमबारको राशिफल