तीते करेली
कृष्णराज शर्मा
राजनीतिमा असंभव भन्ने कुरै हुँदैन । जे पनि संभव हुन्छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र पनि हुँदैनन् । यि भनाईहरू नेपाली राजनीतिमा खास्सा सफलिभूत भएका भनाईहरू हुन् । विशेषगरी खुला र उदार राजनीतिक व्यवस्थामा यसो हुन्छ । बन्द राजनीतिमा पनि भित्र भित्रै गुम्सिएका अन्तरबिरोधका स्वरलाई दमन गर्दा गर्दै पनि फेरी मित्रवत बाताबरणको निर्माण गरेर राज्य व्यवस्थालाई तन्काउने प्रयत्न हुन्छ । त्यसैले राजनीतिमा जसो पनि हुन्छ भन्नु अत्युक्ति नहुने रहेछ । राष्ट्रराज्य भित्र यसो हुनु गलत पनि होईन । तर कुनै “ठानेदार’’ को रोहबरमा शत्रुलाई मित्र र मित्रलाई शत्रु बनाउने काममा भयो भने भयानक गल्ती हुन्छ । यसरी ठानेदारको रोहबरमा कुनै पनि राष्ट्रराज्य भित्र असंभवलाई संभव बनाईयो भने त्यो देश निरीह र कमजोर हुँदैछ भन्ने सजिलै बुझ्न सकिन्छ । अहिलेको नेपाली राजनीतिमा यो ठानेदारको अहं भूमिका झन बढ्दो छ । नेपालका दलहरूमा टूट् फूट् जूट हुनुमा यही ठानेदारको मुट्ठे जूँगाले ठूलो काम गरेको सर्व्विदितै छ । ठानेदारका जूँगा वायाँ गालातिर उठाउँदा र दायाँ गालातिर उठाउँदा के गर्नु पर्दछ भन्ने ईशारा नेपालका प्राय सबै दलहरूलाई थाहा छ । यो संगसंगै आँखाका गेडी फन्फन्ती घुमाउँदा के गर्नु पर्छ,त्यो पनि राम्ररी थाहा छ यिनलाई । अहिलेका राणाका छोराहरू त्यसै तर्सन्छन् ।
अहिलेको पंङतीलाई थाहा नहोला । पहिलाका सबैलाई थाहा छ । गौंडा गौडामा पुलिस ठाना रहन्थ्यो । यो पुलिस ठानाको प्रमुखलाई ठानेदार भनिन्थ्यो । अहिलेको हवल्दार सरहको ठानेदार हुन्थ्यो । तर अत्यन्त शक्तिशालि हुन्थ्यो यो ठानेदार । अनपढ र अशिक्षित समाजमा ठानेदारको हुन सम्मको हैकम रहन्थ्यो । अहिले पनि झगडालु बच्चालाई ऊ पुलिस आयो ! भनेर आफ्नै जन्मदिने आमाले तर्साए जस्तै त्यो बेलाका जनतालाई ठानेदारले तर्साउँथ्यो । जूँगाको पनि सरकारी भत्ता पाईने हुनाले ठानेदारहरूले मुट्ठी भरका जूँगा बनाउँथे । डरलाग्दा राक्षसकै रूपमा अड्डामा जमेका हुन्थे । उनीहरूको हाउभाऊ देखेरै सातो जान्थ्यो मान्छेको । यो ठानेदार अहिलेको चेतनशील र शिक्षित समाजमा पनि उत्तिकै दमदार भै राखेको छ । ठानेदार भनेको यो हो !
एक समय थियो काँग्रेस दलको । खुब टूट र फूटको मारमा पर्यो । एमालेलाई त्यही रोग लाग्यो । राप्रपालाई त्यस्तै भयो । माओवादीको त्यही हविगत छ । मधेशवादी दलहरूमा उस्तै छ । यो टूटफूटमा हुनुमा सबै ठानेदारको भूमिका रह्यो । जुट्दा पनि उसैको रोल रह्यो । फूट्दा पनि उसैको रोल रह्यो । कहिल्यै पनि नेपालका दलहरू आपसि मेलमिलापमा जुटेनन् । ठानेदारको रोहबरमा मिलापत्र लेखेर मात्रै मिले । त्यसैको पछिल्लो कडि राप्रपा मिलाप हो भन्दा के फरक पर्ला !
आयो कुरो राप्रपा मिलापको । यो मिलापले के गर्न खोजेको छ भन्ने आम सर्वसाधारणलाई थाहा छैन । मलाई पनि थाहा छैन । सबैलाई थाहा के छ भने दुई दल जुटेर बन्ने दल बलियो हुन्छ । लथालिङ्ग मनस्थिती बनेका राप्रपाका मनहरू समेलिन सक्छन् । भोट बढ्छ । साँसदको सीट संख्या बढ्छ । सत्ताको च्याँखे दाऊ थापेर एकको तीन नाफा हात पर्छ । बस्,सतहमा देखिने बुझाई यत्ति हो । तर मिलाप भित्रको गुह्य नपाए सम्म असाधारणहरू ह्वात्तै विश्वास गर्दैनन् र कि यस भित्र के छ ? केलाउँछन् । सतहमा देखिने र गहिराईमा भएका तत्वको गहन अध्ययन नभै बोल्दैनन् । मिलाप हुनु र मिलापत्र लेख्नुमा भिन्नता छ । मेलमिलापमा दुवैले जित्छन तर मिलापत्रले एउटाले हार्न पनि सक्छ । जब हारको ज्ञान मिल्छ तुरून्तै मिलापत्र धूजाधूजा परेर च्यातिन्छ । साथै पुनः मिलापमा दरार उत्पन्न हुन्छ ।
सूर्यबहादुर त गए राणा लोहनीहरू यहीं छन् । उनीहरू भन्थे राजतन्त्र अब इतिहास भैसक्यो । वहुसँख्यक नेपाली हिन्दुभएपछि हिन्दुराष्ट्र नभएपनि सो सरह हो भन्थे । गणतन्त्रका भरपर्दा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिमा आफ्नो पार्टी राप्रपालाई उभ्याउँथे । उता,कमल थापाहरू कोही गएका छैनन् । सबै छन् । उनीहरू भन्थे राजा सहीतको प्रजातन्त्र र सर्वधर्म समभाव सहीतको सनातन हिन्दुराष्ट्र नेपालको शासन व्यवस्था कायम नभए सम्म उनीहरू राजनीतिबाट विश्राम लिने छैनन् । तर दुई “घनिष्ट’’ शत्रुहरू परम मित्र बन्न फेरी ठानेदारले रोल खेल्यो । यदी उसको भूमिका हुँदैन्थ्यो त त्यो पार्टीका कार्यकर्ताको भावना अनुसार उहिल्यै एकता गरिसकेका हुनेथिए । यसरी हेर्दा यि कट्टर राष्ट्रवादीहरू ठानेदारको जूँगा हेरेर मिलाप गरे कि मिलापत्र गरे त्यो निकट भविष्यले नै देखाउला । नेपाली जनताले हेरिरहेका छन । गत साउनमा देब्रे जूँगा उठाउँदा हुन लागेको एकता भँग भयो । अहिले दाहीने जूँगा उठाउँदा नपताएको एकता र मिलाप देखियो । यो सब हुनुमा ठानेदारको जूँगा देखेर एकता भएको हो भन्न कत्ति पनि हिच्किचाउनु पर्दैन ।
यि दुई पार्टीमा राजतन्त्रको बारेमा जस्ताको तस्तै मतभिन्नता कायमै छ । एकता पछि हुने भनिएको महाधिवेशनले यसको छिनोफानो गर्ने उनीहरू बताउँछन् । यस महाधिवेशन भित्र लुकेको रहस्य नै उनीहरूका कार्यकर्ताका लागि पत्यारिलो छैन । देशभरिका संगठनहरूमा आ–आफ्नो पकड जमाउने उद्देश्यका साथ केन्द्रिय प्रतिनिधि पठाउँदा शँका पैदा भैसकेको ति कार्यकर्ताहरू बताउँदैछन् । यही बेलामा ठानेदारको ईशारा अनुरूप सैद्धान्तिक आधार नबने यो पार्टीको एकता कर्कलाको पानी सरह हुनेछ । त्यसो नभै देओस् कि नेपालका अरू पार्टीले पनि राप्रपाको सिको गर्न सकुन् ।
Previous Articleनेपाली उत्पादनको माग
Next Article एमाले भीमापोखराको अध्यक्षमा शर्मा चयन