चालु आर्थिक वर्षको प्रथम चौमासिकको व्यापार घाटाको आँकडाले देशको खराब अर्थतन्त्र र परनिर्भरताको भयानक तस्बिर प्रस्तुत गरेको छ । यो अवधिमा नेपाललाई अन्तर्रा्ष्ट्रिय व्यापारमा २ खर्ब ७७ अर्ब २ करोड रुपैयाँ घाटा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्ममा ३ खर्ब १ अर्ब ९३ करोडका वस्तु विभिन्न मुलुकबाट आयात भएका छन् । निर्यात भने केवल २४ अर्ब ४९ करोड रुपैयाँबराबरको भएको छ । गत आवको तुलनामा चालु आवको प्रथम चार महिनामा आयात ८७.८५ प्रतिशत र निर्यात १३.१ प्रतिशत बढेको छ । आयात–निर्यातको यो चुलिँदो असन्तुलनले मुलुकको अर्थतन्त्रमै गम्भीर असर पार्ने अवस्था सृजना भएको छ । यो आँकडाले मुलुकको उत्पानशील क्षमता तीव्र गतिमा ह्रास हुँदै गएको र परनिर्भरता ह्वात्तै बढेको यथार्थ पनि प्रस्तुत गरेको छ । यो अवधिमा सवारीसाधन सबैभन्दा बढी करिब ३४ अर्बको आयात भएको छ । त्यसपछि पेट्रोलियम पदार्थ करिब ३३ अर्बको भित्रिएको भन्सार तथ्यांकले देखाएको छ ।
गत वर्ष भारतले हठात् लगाइदिएको नाकाबन्दीका कारण आयात कम हुन पुगेको तथ्य यो आवमा ह्वात्तै बढेको सवारी साधन लगायतको आयातले प्रष्ट पारेको छ । विलासिताका वस्तु आयातमा देखापरेको अपार वृद्धिले पनि व्यापार घाटा बढाउन मद्दत गरेको देखिन्छ । नेपालमै मनग्गे उत्पादन हुने चकलेटको आयात आँकडा मात्रै हेर्ने हो भने पनि फुर्मायसी तथा विलासिताका वस्तु आयातको बढ्दो अवस्था छर्लंग हुन्छ । गत आवमा विभिन्न २८ मुलुकबाट एक अर्ब ६० करोड रुपैयाँ बराबरको चकलेटजन्य उत्पादन आयात भएको देखिन्छ । नेपालमा चकलेट आयातको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतसम्म रहेको छ । चकलेट, बिस्कुट, साबुनजस्ता वस्तु नेपालमा उत्पादन नहुने होइन, तर यहाँ उत्पादित यी वस्तुको स्तरका कारण पनि आयातितमा बढी ध्यान गएको बुझ्न सकिन्छ । कच्चा पदार्थ महँगो, अनियमित ऊर्जाप्रवाहका कारण पनि उत्पादन लागत बढी पर्न गएको देखिन्छ । कमजोर प्रतिस्पर्धी क्षमता, न्यून गुणस्तर तथा उद्योगमैत्री वातावरणको अभावजस्ता कारणले स्वदेशी उत्पादनमा उपभोक्ता आकर्षित हुन सकिरहेका छैनन् ।
उत्पादनमुखी उद्योग स्थापना, वैदेशिक लगानी प्रोत्साहन, लगानी सुरक्षा लगायतका सवालमा नेपाल जहिले पनि पछाडि पर्दै आएको छ । यति हुँदाहुँदै पनि नेपाली गलैँचा, पस्मिना, चिया, अलैँची, कफी, तयारी पोशाक (गार्मेन्ट) लगायतका उत्पादनको माग विभिन्न मुलुकमा अझै भइरहेको छ । यी वस्तुको पर्याप्त निर्यातले पनि परनिर्भरताको अवस्थालाई विस्तारै अन्तर्निभरतातर्फ लैजान मद्दत गर्छ । चालु आवको प्रथम चौमासिकमा निर्याततर्फ पहिलो नम्बरमा गलैँचा रहेको छ । करिब ३ अर्ब रुपैयाँबराबरको गलैँचा विभिन्न मुलुक निर्यात भएको छ । चिया र कफी २ अर्ब ३० करोड, गार्मेन्ट उत्पादन २ अर्ब १९ करोडको निर्यात भएको छ। आयातको तुलनामा यो निकै न्यून परिमाण हो । विगतमा गलैँचा, पस्मिना, गार्मेन्ट, जडिबुटी तथा कृषिउपजको निर्यातको अवस्था निकै सुदृढ हुनाले नै व्यापारघाटा कम थियो । पछिल्लो समय उल्लिखित वस्तुको गुणस्तरमा आएको ह्रास तथा कमजोर प्रतिस्पर्धी क्षमताका कारण बजार गुम्दै गएको छ । गुमेको बजार पुनस्र्थापित गर्न सक्दामात्रै पनि निर्यात ह्वात्तै बढ्न जानेछ ।
Previous Article१२ मंसिर २०७३, ढोरपाटन दैनिक
Next Article ठानेदारले जुँगा हल्लाए पछि…!