अनिश शर्मा गैरे
बागलुङ, १२ मंसिर – आफुले उत्पादन गरेको स्याउ लिएर भानवीर बिसु ग्वालीचौरमा यता उता दिनभरी नै भौतारिइ रहे । उनी ढोरपाटनमा उत्पादन गरेको स्याउ बेच्न भनी यहाँ आएका थिए । तर अन्य स्याउलाइ प्रतिकेजी २ सय रुपयामा किन्न तयार भएपनि उनले ल्याएको ढोरपाटनको स्याउलाई ८० रुपैयामा पनि बिकाउन गाह्रो भयो ।
दिन भरी डुले अनि त्यत्तिकै फर्के स्याउ नबेची । ढोरपाटनबाट गाडीमा राखेर स्याउ ल्याउँदाको दुख त्यसै खेर गयो, आफ्नो मेहनत र दुख पनि खेर गयो उनले भने । ‘हामीले उत्पादन गर्ने स्याउ अर्गा्निक हुन्छ, तर यसै उत्पादनले बजार पाउँदैन त्यसेले दुख लाग्छ’ उनले भने । त्यसैगरी उनी सँगै आएका अर्का ब्यबसायी राम बहादुर घर्तीको पीडा पति उस्तै छ । दुइ जना आएका उनीहरुको स्याउको कुनै मुल्य भएन त्याहा, त्यसैले आफुहरुले ढुवानी गरि ल्याएको करिब ४ सय केजी स्याउ पुन फर्काउन बाध्य भए ।
‘हामीले उत्पादन गरेको स्याउले बजार पाउँदैन खै किन हो’उनले भने ‘ब्यापार ब्यबसायको लागि तथा स्वास्थ्यको लागि पनि यो स्याउ उत्तम हुन्छ ।’ उनका अनुसार स्याउमा केही दाग लाग्ने भएकोले पनि ग्राहकको आकर्षण कम देखिएको छ । आफुहरुले उत्पादनलाइ कसरी बजारमा पुर्याउने भन्ने कुराको उनिहरुलाई चिन्ता छ ।
उनिहरु जस्तै धेरै ढोरवासीहरु स्याउले बजार नपाएपछी आसपासका निसी, अधिकारीचौर, खुंखानी, खुँगा, बुर्तिवाङ, देविस्थान, राजकुत, बोहोरागाउँ गाविसहरु सम्म पुग्छन् नबिके पछी सिन्कीको भाउमा बेचेर घर फर्कन परेको मार्मिक गुनासो उनिहरुको छ । बजार अभाव र लामो समय भण्डारण गर्ने प्रविधि नहुँदा जिल्लामा उत्पादित स्याउ बारीमै कुहिन सक्ने स्थिती बनेको छ । जसले गर्दा किसानहरु समस्यामा परेका छन । ढोरपाटनमा उत्पादित स्याउ स्वादमा बढी अमिलो हुने उपभोक्ताहरु बताउछन् ।
ढोरपाटनमा स्याउ खेती केहि वर्ष देखी सुरु गरिएको भएपनि रसदार स्याउ भने बोटमा नफलेको ढोरवासीहरुको गुनासो छ । बोटमा किरा लाग्ने मात्र नभएर दाना रसिलो र गुलियो त्यति नहुने स्थानीयको भनाई छ । तीन वर्ष पहिले एक दाना स्याउ एक रुपयाँमा लैजाउ भन्दा पनि खरीददारले लान नमाने पछी त्यत्तिके कुहेर गएको स्थानीयवासीले बताउने गर्छन् ।
स्याउ खेती तिर आकर्षित बनेर ढोरपाटनमा स्याउ फलाउने कृषकहरु यतिबेला चिन्तामा छन् । उनिहरु सरोकोवाला निकायले स्याउका दाना रसदार स्वादिलो नहुनुको कारण पत्तालगाई यसको निराकरण होस भन्न चाहन्छन् तर जिल्ला कृषि विकास कार्यालय बागलुङ भने कानमा तेल हालेर बसेको छ । ढोरको आलु भने हातहातै बिक्छ स्याउ भनेपछि सबैले मन्टो बटार्छन एक किसानले भने– ‘ढोरको आलुको भाउ छ, स्याउको छैन ! गाईबस्तुलाई खुवाउन उत्पादन गरेजस्तो भयो, कि त मदिरा बनाएर बिक्री गर्नुको बिकल्प रहेन ।’
Previous Articleसंविधान संशोधन प्रस्ताव आईतवार पेश हुन्छ – देउवा
Next Article २०७३ मंसिर १२ गते आईतबारको राशिफल