वीरगन्ज, ११ मंसिर – कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने जनाएका छन् । शनिबार वीरगन्जमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले मधेसको भावना अनुरुप कांग्रेसले भोलि संशोधन प्रस्ताव पेश गर्ने बताएका हुन् । उनले प्रस्तावलाई पास गर्न एमाले लगायतका दललाई आग्रह समेत गरेका छन् ।
सीमाकंन, जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकता लगायतका बँुदा संशोधनका लागि प्रस्ताव प्रस्तुत गरिने उनले खुलाए । संविधान कार्यान्वयनका लागि संशोधन आवश्यक रहेको उनले दाबी गरे । ‘मुलुक चुनौतीपूर्ण मोडमा उभिएकाले सबै पार्टीले नेपाली जनताको इच्छाको कदर गर्नुपर्छ,’ कार्यकर्तालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘संशोधन प्रस्तावको विरोधमा जाने पार्टीलाई जनताले सजाय दिनेछन् । प्रस्ताव पास हुनेमा म विश्वस्त छु ।’
मधेसको भावनाको कदर गर्दै संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्न लागिएको उनले बताए । ‘जब जब मधेसले पार्टीलाई सहयोग गर्छ, तब तब कांग्रेस सरकारमा जान्छ,’ उनले भने, ‘कांग्रेस मधेसकै पार्टी हो ।’ मुलुकको अन्य भागमा बस्ने नेपालीझैं मधेसका जनता पनि राष्ट्रभक्त हु्न्,’ उनले भने, ‘मधेसका जनतालाई अविश्वास गर्नु भनेको आफ्नो पार्टी खत्तम गर्नु हो ।’
संविधान संशोधन पछि स्थानीय निकायका निर्वाचन गरिने उनले बताए । ‘इलाका नत्र पुरानै गाविसको आधारमा भएपनि चुनाव गराउनुपर्छ,’ उनले भने, ‘लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा गाउँको विकास रोकिएको छ, भ्रष्टाचार मौलाएको छ ।’
संविधान कार्यान्वयनका लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको उनले औँल्याए । मुखिया/उपमुखियाले राष्ट्रिय सभामा मत हाल्ने भएकाले स्थानीय तहको चुनाव आवश्यक छ ।
अर्का वक्ता केन्द्रिय सदस्य रमेश रिजालले हकअधिकार सँगै संविधान कार्यान्वयनको पनि चुनौती रहेको बताए । संविधानमा प्राप्त अधिकार संस्थागत नहुँदै अधिकारको नाममा संविधान विफल भए देश ठूलो दुर्घटनामा फस्ने प्रति पनि सचेत रहन सबैलाई आग्रह गरेका थिए ।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सांसद तथा युवा उद्यमी अनिल रुंगटाले राष्ट्रिय अखण्डताको लागि संविधान संशोधन आवश्यक रहेको बताए । ‘संशोधनको नेतृत्व कांगेसले लिनुपर्छ,’ उनले भने, ‘संशोधन पछि मुलुकलाई विकास तर्फ डोर्याउने जिम्मेवारी पनि कांग्रेसले नै लिनुपर्छ ।’ भेलामा पर्सा, बारा र रौतहटबाट कार्यकर्ता आएका थिए ।