भविन्द्र कुँवर “भवभिन्न”
स्वदेशमै केही गर्छु भन्नेहरु भन्छन्, सोच्छन्, गर्न दिएनन् खराब विचार भएका मानिसहरुले, हावाहरुले । राम्रो कामलाई पनि बनावटी आलोचना गरे, उडाए । हो, उडाउनु ? असल काम गर्नेलाई उडाउनु पनि उडाउनु । हावाहुरीले जस्तो उडाउनु पनि उडाउनु । रहनबस्न नदिने गरी उडाउनु । यी सबै हावाका कामहरु वा हुरीबतासका आनीबानीका अनुकरणहरु । हावाका लक्षणका विकृत स्वरुपहरु । सकभर टिक्न नदिनु । देख्ने आँखामा धूलो हाल्नु । ध्वनि उल्टोपाल्टो वा अन्योलग्रस्त पार्नु । सुन्ने कानलाई दिग्भ्रमित पार्नु । ती खाले हावाहुरीको काम त्यही हो । गर्छन् । तर अर्काथरी हावाको बचाउने काम पनि हो । हामी श्वास लिन्छौँ । यसले बाँच्दछौँ पनि । साथै हुन्छन् यी । त्यसैले दुवै थरी हाम्रा साथी ।
उडाउनु । कुनै वस्तुलाई उडाउनु । जीव या अजीव । दुवैलाई पनि । मानिस पनि जीव । उडाउन खोज्छ हावाले । उडाइ पनि हाल्छ । हुरीबतासले गर्ने त्यै हो । उडाउनेलाई हावा नाम बनेको छ । चलेको छ सदियौँदेखि यो नाम । उड्नेलाई कसिंगर वा पातपतिंगर । झारपात । धूलो । चलेको छ यो नाम पनि । तपाईँ अग्लो डाडामा चढ्नुहोस् । हावाले ईष्र्या गर्छ । देखी सहन्नँ । एक्लै चढ्ने र चढिरहने उसको बानी र सोचाइमा ठेस लाग्छ । शायद पीर पर्छ उसलाई । तपाई अग्लिएको मन पर्दैन उसलाई । हावा आफूलाई हिमालभन्दा पनि अग्लो ठान्छ । र त गालामा चिसो साँठले थप्पड हान्न आइपुग्छ । हामी मफलर सप्काउँछौँ । बाक्लो कपडा लगाउछौँ । कपडाले नछोपिएको ठाउँ पाए छोड्दैन हावाले । घोच्छ । हावा हो यो । यससँगै हल्का चीजहरु उड्छन् पनि ।
अँध्यारो भयो भनेर बत्ती बाल्नुहोस् त । हावा आइपुग्छ । तपाईँ उज्यालोमा बसेको उसलाई मन किन परोस् ? कतिपय साना उज्याला र आगोहरु हावाले निभ्छन् पनि । मैन निभ्छ । टुकी निभ्छ । बल्ब निभेको खै ? बल्न जान्नुपर्छ । बाल्न जान्नुपर्छ । एडिसनले हावालाई माथ गर्ने बत्ती बाले । यस्ता मानिसहरु हावादेखि आत्तिँदैनन् । बरु यसैबाट बिजुली निकाल्छन् । उनीहरुले त झन् हावा चल्ने ठाउँको खोजी गरेका हुन्छन् । जान्ने हो भने हावा जति चल्छ उति धेरै बत्ती बल्छ ।
आगो ठूलो छ भने हुरी चल्दा झनै फैलिन्छ । सानो छ भने निभ्छ । हावा आगोको साथी पनि हो । अक्सिजनबिना आगो बल्दैन भनिन्छ । आगो निभाउँछ हावाले । आगो बल्न मदत गर्छ हावाले । जीवन । साथी वा समाजबिना जीवनको अर्थ छैन । मानिसहरु फरक स्वभावका हुन्छन् । साथीहरु पनि फरक मनका, संगतका हुन्छन् । कुनै साथी र साथ नभए हामी बाँच्न सक्दैनौँ । त्यो हामीले श्वासमा लिने हावा हो । अर्को हावा विध्वंश मच्चाउने हावा हो । हुरी हो । जस्तो कुनै साथीले हामीलाई बाँच्न बाधा गर्छन् ।
जहाँ गहिराई हुन्छ त्यहाँ हावाको पनि घनत्त्व हुन्छ । ठाउँले पनि फरक पार्छ हावाको स्वभावलाई । हिमालको हावामा कम घनत्त्व हुन्छ । पहाडी हावामा पनि कम घनत्त्व हुन्छ । पहाडमा घनत्त्व कम भएकैले हावा चलेको होइन । तराईमा पनि चल्छ हावा । झन् भयानक । अलिअलि राम्रो हावा चलेको त सुहाउँछ पनि । यो त राम्रो हावा हो । असल चलाइ हो । नत्र फूलको बासना केल्ले सार्ने ? बीऊहरु केल्ले सार्ने ? प्रकृतिमा सुन्दरता प्रदान केल्ले गर्ने ? परिवर्तन केल्ले ल्याउने ? जीवन र सिर्जना कसरी अघि बढ्ने ?
उड्नु घनत्त्व न्यून भएका पदार्थहरुको स्वभाव । आधारहीन र सहाराहीन वस्तु वा संरचनाहरुले देखाउने स्वभाव । खै पहाडहरुले उडेको, सीमलको भुवाझैँ ? मात्तिएको हावा काटिन्छ बरु पहाडले । खै ग्रहौँ पथ्थरहरु उडेको ? हावा आफै उड्न पुग्छ माथिमाथि, उनीहरुलाई उडाउँछु भन्दा झन् । त्यसैले हावा चिन्नुपर्छ । आफू र आफ्नो घनत्त्वलाई चिन्नुपर्छ । कसैले उडाउँदा किन उडिन्छ, जब आफ्नो घनत्त्व कम हुन्छ । किन उडिँदैन, जब हाम्रो घनत्त्व बढी हुन्छ । तौलन्छ हावाले । जोजो हलुका छन्, भुमरीमा उठाएर लैजान्छ । तौलन खोज्छ हावाले र सक्दैन । जोजो ग्रहौँ छन्, घनत्त्वले भरपूर छन् ।
समुद्रमा सुनामी ल्याउँछ, आँधी ल्याउँछ हावाले पनि । पानी तरल छ । पानीमा पथ्थरको जस्तो आन्तरिक एकता छैन । अन्तरआणबिक बल र सहकार्य निकै कम छ उसमा । एकता छैन भने घनत्त्व पनि फिका हुन्छ । कसले भन्छ पानीको घनत्त्व सतहमा चल्ने हावाको भन्दा कम छ ? तर एकता छैन उसका अणुहरुका बीचमा । यो बुझ्दछ हावाले । हावाले दिएको दबाब र उक्साहटमा आफूले आफूलाई लहैलहैमा उठाउँछ, उडाउँछ पानीले । सुनामी निम्त्याउँछ ।
सके उडाउनु नसके हल्लाउनु । चलायमान गराउनु । यी पनि प्रायः हावाले गर्ने काम । हावा केही वस्तु उडाउने गरी चल्छ । उड्ने वस्तुहरु पायो भने ऊ वस्तु लिएरै उड्छ । सकेन भने हल्लाउँछ । अग्लाअग्ला र बलिया भनिएका रुखहरु पनि हल्लिएका छन् दिनदिनै हावाबाट । तर नउड्ने वस्तुलाई उडाउन खोज्दा ऊ आफू जोडदार उड्छ । झन् उड्छ । कुनै हावाको पेशा नै उडाउने हुन्छ । युगौँदेखि भएको हो यो । हावा आफै चल्दैन । जहाँ आफ्नो घनत्त्व कम छ त्यहाँ पुग्न चाहन्छ ऊ । पतिंगरहरु पछ्याउँछन् उसलाई । उसको निजी र विवश यात्रालाई । कसैले कतै आफ्नो घनत्त्व कम गराउँदा हावालाई पनि रिस उठ्छ । उसले पनि अरुलाई उडाउन खोज्छ सँगसँगै । आफूजस्तो बनाउने प्रयास उसको हुन सक्छ ।
प्रायः सबै चराहरु हावालाई बुझ्छन् र जीवनमा उपयोगी बनाउँछन्् । पखेटा विकास गर्यो पंक्षीले, हावा देखेर । बाक्ला र लामा रौँहरु बनायो चौँरीले, हावा बुझेर, भोगेर । हामी नजान्ने भन्छौँ उनीहरुलाई तर उनीहरु आफ्ना दिनचर्यामा हावाको गतिलो प्रयोग गर्छन् । झण्डै सबै प्राणी र बोटबिरुवा यसलाई प्रयोग गर्छन् । तर हुरी भने हावाको विकृत स्वरुप । कसैले चलाउने भएकाले हावालाई हावा भनिएको हो । कसैलाई चलाउने भएकाले हावालाई हावा भनिएको हो । यसको आफ्नै क्षमता हुँदैन । यसले आफैले निर्णय गर्न सक्दैन । पृथ्वीमा कतै अभाव हुँदा कसैको आदेश पालना गर्न तत्काल गइपुग्छ ऊ ।
हावा हावा हो । हाम्रो वास्तविकता हावाले बुझ्न सक्दैन । बुझोस् भन्ने नसोचौँ । तपाईँलाई जाडो भएको छ, चिसो सिरेठो चल्छ । तपाईँलाई गर्मीले सहि नसक्नु भएको छ, लू चल्छ । तपाईँ बास नभएर समुद्रको छेउमा घर बनाउनुहुन्छ । हावाले आँधीतुफान निम्ताउँछ, सुनामी निम्ताउँछ । तपाईँ दुःखले रोइरहेका बेला कसिंगर हालिदिन्छ आँखामा । तपाईँ चोरहरुबाट असुरक्षित भएर घर बनाउनुहुन्छ, उसले उडाइदिन्छ छानाहरु । भत्काइदिन्छ घर । राम्री युवतीको सुन्दरता र सभ्यताको भाषा बुझ्दैन हावाले । उसको किमती साडीमा आक्रमण गर्छ । खर्च गरेर सजाएको कपाल लुछलाछ पार्न खोज्छ । तर अर्काेथरी हावा, भारी बोकेरथाकेर चौतारीमा बस्दा हम्किन्छ शीतलता, दिन्छ आनन्द । तपाईँ आत्महत्या गर्न थाल्नु भयो भने पनि श्वास दिएर बचाइरहन्छ हावा । तिमी बाँच, नमर भनिरहन्छ । हावा, गर्मीमा चलेन भने पंखा चलाएरै पनि चलाउँछन् मानिसहरु ।
हावा चल्यो भनेर चिन्तित नहोऔँ हामी । बिस्तारै चले पनि ठीकै छ । उडाउने गरी चले पनि ठीकै छ । बिस्तारै चले शीतलता लिऔँ । जोडले चले यसबाट ऊर्जा निकालौँ । चौँरीले झैँ बुझौँ । पंक्षीले झैँ बुझौँ हावाहरुलाई, हावाका स्वभावहरुलाई र बनाऔँ जीवनोपयोगी । अपनाऔँ आजिन्दगी । यसलाई आफ्ना दिनचर्यामा सामेल गराऔँ । साँठ चले मफलर सप्काऔँ । हामी हावामा डुबेका छौँ । संसार डुबेको छ । हामी यसलाई छोड्न सक्दैनौँ । हावादेखि नरिसाऔँ । सबै हावा हानिकारक हुँदैनन् । हावाको स्वभाव बुझेर चलौँ । खराब हावा, अन्यत्रै वाष्पीकरण भएपछि अरुकै ठाउँको परिपूर्तिका लागि चलिदिने हावा । बिचरा हतियार हतियार हो हातजस्तो कहाँ हुन्छ ? बिचरा हावा हावा हो मानिसजस्तो कहाँ हुन्छ ? (कुवँर काठमाडौँ रिसर्च एण्ड पब्लिकेसन्सका प्रवन्ध निर्देशक हुन् ।