काठमाडौ, १० मंसिर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनमा सहयोग गर्न गरेको आग्रह एमालेले अस्वीकार गरेको छ ।सरकारले मधेशी मोर्चाको माग सम्बोधन गर्नसविधान संशोधनको प्रस्ताव संसदमा लैजाने तयारी गरिरहेको बेला प्रधानमन्त्री प्रचण्डले साँझ एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटरमा छलफल गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री प्रचण्डले सबैलाई समेटेर सविधान संशोधनको प्रस्ताव ल्याउने भन्दै त्यसमा सहयोग गर्न ओलीलाई आग्रह गरेपनि उनले अस्वीकार गरेको जानकारी दिए ।
छलफलपछि एमाले नेता भीम रावलले राष्ट्रलाई द्धन्दतर्फ धकेलिने र राष्ट्रको हितमा नहुने सविधान संशोधनमा आफूहरुको कदापी सहयोग नरहने रावलले बताए ।
‘जुन पक्षका लागि तपाईँहरुले संविधान संशोधन गर्न लाग्नु भएको हो त्यसमा ती पक्ष (मधेशी मोर्चा) को पनि सहमति छैन भने तपाईहरु कसका लागि सविधान संशोधन गर्दै हुनुहुन्छ भन्ने प्रश्न प्रधानमन्त्रीसँग हामीले राख्यौ’, बैठकपछि रावलले भने ।
जवाफमा मधेशी मोर्चाले सविधान संशोधनमा पूर्ण सहमति नजनाए त्यो प्रक्रिया अघि नबढ्ने प्रचण्डले आफूहरुलाई भनेको रावलले बताए ।त्यस्तै, प्रधानमन्त्री प्रचण्डले पूरक बजेट ल्याउनका लागि पनि एमालेलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ। एमालेले भने यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएको छ ।