बागलुङ, ९ मंसिर – भारतीय सेनामा २६ बर्ष सेवा गरेर निवृत्त भएका म्याग्दीको पात्लेखेतका तुलबहादुर थापा विकास आएर नेपाली जनताले काम गर्ने बानी गुमाएको गुनासो गर्छन् ।
पैदल हिडेर नौतुना पुगेपछि मात्र सवारी चढ्ने जमानाका थापाले घरघरमा बाटो पुगेर नेपाली गरिव बन्दै गएको बताए । ‘घरघरमा बाटो लगेर बजारीया सामान भित्राए, तर आफ्नो दैलोको खेत बाँझैछ’ थापाले भने, ‘आजकलका युवालाइ काम नगर्ने बनाउन गएको विकासले देश कंगाल बनाउँदै छ ।’ भारतीय पेन्सन क्याम्पमा पेन्सन बुझ्न आएका थापाले छोराछोरी अहिले सम्म सुरक्षित पेशामा नगालेको गुनासो गरे ।
यस्तै समस्या पात्लेखेतकै अर्का ७७ बर्षिय दलभक्त पाइजाको पनि छ । ३ वटा छोरा सबै खाडी मुलुकमा मजदुरी गर्न गएका छन् । ‘बाबुले भारतीय सेनामा बहादुरी देखाएर अहिले पनि २५ हजार रुपैयाँ पेन्सन पाउँछ, छोराहरु अर्काको मजदुरी गर्न गएका छन्’ पाइजाले भने, ‘फर्केर आउँदा कमाएको पैसा पनि सकिन्छ, जागिर पनि सकिन्छ ।’ समाजले सम्मान गर्ने र भविष्य सम्म कमाइ हुने काममा युवा पुस्ता नलागेकोमा उनलाइ दुःख लागेको बताए ।
दुःख नगर्ने बानीले खेतबारी बाँझै बस्न थालेको भन्दै उनीहरुले देशको आयस्तर खस्कंदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पेन्सनले घरपरिवार चलाएका उनले दोश्रो पुस्ताको जीवन शैली र देशको राष्ट्रियता खस्केको दुःखेसो पोखे । ‘भारतीय सेनामा भर्ना भएपनि हामीले देशको माया विर्सेनौं’ उनले भने, ‘अहिलेका युवाले देशको माया पनि गर्दैनन्,कमाइ पनि छैन ।’ उल्टै देश र सरकारलाइ गाली मात्र गर्ने, काम नगर्ने चलन भित्रियो । विदेशीहरुले आफ्नो प्रभुत्व जमाउने, आफ्नै उत्पादनको बजार विस्तार गर्ने स्थानको रुपमा नेपाललाइ बनाउन खोजेको उनको तर्क छ । बिदेशीले आफ्नो बजार बढाउन खोज्दा साथ दिए खोज्ने नेपाली प्रति चिन्ता लागेको उनले बताए । गाउँमै फलाउन सकिने धान, मकै र कोदो समेत हराउँदै गएको, बिदेशबाट ल्याएका खाद्यान्न र जंकफुडले गाउँमा कब्जा जमाएपछि देशको राष्ट्रियता गुमेको उनले महसुस भएको बताए ।
सरकारलाइ युवाहरु स्वदेशमै बस्ने र रोजगारी पाउने नीति ल्याउन थापाले आग्रह पनि गरे । ‘पहिलाजस्तो गल्ला आउन छाड्यो, युवाहरु आँफै लाखौं खर्चेर रोजगारी खोज्दै विदेशीन थाले’ उनले भने, ‘पहिला गाउँमा आएको गल्लाले भर्ती हुन नसकेको युवालाइ समेत बाटो खर्च दिएर घर फर्काउँथ्यो ।’ युवाहरुले कृषि उत्पादनमा लागेर आर्थिक उन्नती गर्न सक्ने र बजारको व्यवस्थापन भएको देख्न चाहेको उनले बताए । बिदेशबाट कमाएर ल्याएको सबै रकम खर्चेर युवाहरुले भविष्यको जोहो नगरेकोमा उनलाइ दुःख छ । सरकारले लगानी गर्ने वातावरण बनाउने, युवाले खाडी मुलुकमै भएपनि कमाएको पैसालाइ सदुपयोग गरिदिने अवस्था सिर्जना गर्नुपर्ने उनको तर्क छ ।
पेन्सन पट्टा बुझाएर पालो कुरेका भूपू सैनिकहरुले आफ्नै गाउँघरमा पेन्सन पाउने व्यवस्थालाइ समेत उतीबेलाको नेपालीको बहादुरी र जीत भएको दावी गरे । गल्लाआएको समयमा भर्ती भएर गएकाहरुले २० देखि ३५ बर्ष सम्म भारतीय सेनामा काम गरेको इतिहास छ । उनीहरुले ४० बर्षदेखि पेन्सन समेत थापिरहेका छन् । भारतीय पेन्सन क्याम्पले बर्षको दुइपटक वितरण गर्ने पेन्सन थाप्न म्याग्दी, पर्वत र बागलुङका झण्डै ७ हजार भूपू सैनिकहरु बागलुङ आउने गर्छन् । पेन्सनकै भरमा जीवन गुजारा गरेका उनीहरुले अझै पनि छोराछोरीको आस गर्नु नपरेको दावी गरे । भूपूको निधन भएपछि पनि उसको श्रीमतीलाइ ५० प्रतिशत पेन्सन दिने व्यवस्था गरेको छ । उक्त पेन्सनको भरमा ग्रामीण बासिन्दाको जीवनस्तर अझै चलायमान भएको छ । भर्ती हुँदा लेखिएको नाम थर फरक परेको अवस्था भएमा जिल्ला प्रशासनले पनि सहज रुपमा सच्याइदिने व्यवस्था गरेर उनीहरुको जीवनलाइ थप सुखमय बनाइदिएको छ । पेन्सन खानेहरुले युवा पुस्ता दुःख नगर्ने र काम पनि नगर्ने प्रवृत्तिमा लागेकोमा भने निरन्तर चिन्ता व्यक्त गरेका छन् ।