तातोपानी गाउँपालिका–८ डोंग्रीकी परिवर्तित नाम कको २० वर्षको उमेरमा सम्बन्ध विच्छेद भयो । एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नपा–१० का आफूसँगै पढ्ने केटासँग उनले विवाह गर्नु भएको थियो । तर, उनको वैवाहिक सम्बन्धले पाँच वर्ष पनि पार गर्न पाएन । मुलुकी अपराध संहिताले विवाह गर्न गराउन अनुमति दिएको २० वर्षे उमेरमा पुग्दासम्म त उनको सम्बन्ध विच्छेद नै भइसकेको थियो ।
यस्तै तिला गाउँपालिका–९ राँसा गाउँकी २३ वर्षीया परिवर्तित नाम खको सोही गाउँपालिका –७ तुहीगाउँका २५ वर्षीय परिवर्तित नाम गसँग ०७४ सालमा प्रेम विवाह भयो । विवाह पश्चात ०७५ कात्तिक १५ गते छोराको जन्म भएको जिल्ला अदालत जुम्लामा ०७९ जेठ ३१ गते दर्ता भएको सम्वन्ध विच्छेद उजुरी पत्रमा उल्लेख गरिएको छ । उहाँको अहिले सम्वन्ध विच्छेदको उजुरी कानुनी प्रक्रियामा रहेको छ ।
०७८ चैत मसान्तमा घरका सामान र छोरासमेतलाई घर निकाला गरेको पीडित परिवर्तित नाम खले बताउनु भयो । उहाँले भन्नु भयो–‘घर निकाला गरेदेखि छोरासहित तिला गाउँपालिका–९ राँसागाउँ माइती घरमै बस्दै आएकी छु ।’ परिवर्तित नाम खलाई कानुनी प्रकृयामा लैजान ०७८ असार ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा पुग्न समस्या भएको भन्दै इन्सेकद्वारा गठित जिल्ला स्तरीय सिफारिस संयन्त्र, जुम्लामा सहयोगको लागि पीडितले जेठ ३१ गते निवेदन दिएपछि इन्सेकबाट सहयोग रकम हस्तान्तरण गरेको हो ।
जिल्ला अदालतमा उजुरी दिएपनि आर्थिक अवस्था कमजोर रहेकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो । पीडित महिलालाई जिल्ला सिफारिस संयन्त्रमार्फत पाँच हजार रुपियाँ नगद हस्तान्तरण गरिएको हो । सम्बन्ध विच्छेदको परिणाम पति र पत्नीबिचको सम्बन्ध विच्छेद हुनुमा मात्र सिमित रहँदैन । यसले महिलाहरू खासगरी किशोरीहरूको जीवनमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ । अझ पूर्व दम्पतिको सन्तानको लालनपालन र भविष्य निर्माणमा समेत असर पार्दछ । तातोपानी गाउँपालिकाकी इश्वरी रावतले घरपरिवारको किचलो र पतिको हिंसा सहन नसकेर जुम्लाको जिल्ला अदालतमा २०७६ सालमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभयो । अदालतले छोरा र छोरीको पालनपोषण बाबुले गर्ने गरी सम्बन्ध विच्छेद गरिदियो । व्यवहारमा बाबु जिम्मेवार देखिएनन् । उनीहरूका छोराछारी बिचल्लीमा परे ।
यी र यस्ता हाम्रो सभाजका प्रतिनिधि मुलक घटना हुन् । जसले बालविवाह जन्य विकृतिको असर सम्बन्ध विच्छेदसम्म पुग्ने देखाउँछन् । त्यति मात्र होइन, नवयुवतीमै सम्बन्ध विच्छेद भएपछि महिलाको जीवनमा हिंसाबाट कहिल्यै जोगिन नसकिने फराकिलो यात्राको सुरुआत हुने कुराको सङ्केत यी घटनाले गर्दछन् । महिलामाथि हुने हिंसामा तिनका बालबालिकाको जीवन पनि जोडिएको हुन्छ । यसले हिंसाको पुस्तान्तरणलाई पनि जनाउँछ । मानव विकासको सन्दर्भमा यो बेलैमा सल्टाउनुपर्ने गम्भीर विषय हो । कर्णाली प्रदेशमा नै बालविवाह अत्यधिक छ । कर्णाली प्रदेशमा ५२ प्रतिशतले बालविवाह गरेको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले देखाउँछ ।
२५ वर्ष नपुग्दै सम्बन्ध विच्छेद हुनु वा सम्बन्ध विच्छेदका मुद्दा पर्नुको पछाडि मूल कारण त कानुनको आँखा छलेर उमेर नपुग्दै गरिने विवाह नै हो । बालविवाह भएकाहरूको सम्बन्ध विच्छेद पनि सानै उमेरमा हुने सम्भावना बढी रहेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ ले औँल्याएको छ । जुम्ला जिल्लाको मात्र कुरा गर्दा २२ हजारभन्दा बढी युवतीको २० वर्षभन्दा कम उमेरमा विवाह भएको तथ्याङ्कले देखाउँछ । यसले गर्दा जुम्लालगायत कर्णाली प्रदेशमा २५ वर्ष नपुग्दै औपचारिक रूपमा नै सम्बन्ध विच्छेद हुने गरेका घटनाहरू पनि बढेका छन् । २० वर्ष नपुग्दै विवाह गर्नेहरूमा युवाभन्दा युवतीहरूको सङख्या बढी रहेको पनि जनगणना २०६८ को तथ्याङ्कले देखाउँछ । सो तथ्याङ्कअनुसार, जुम्लामा २० वर्ष नपुग्दै विवाह गरेकाहरूमा बालक तथा युवाहरूको सङ्ख्या १३ हजार ८ सय ७५ र बालिका तथा किशोरीहरूको सङख्या २२ हजार ५ सय ४८ रहेको छ ।
डिभोर्स नेपाल नामक संस्थाले पनि सम्बन्ध विच्छेदका कारणहरूमध्ये एक सानै उमेरमा भएको विवाहलाई औँल्याएको छ । सो संस्थाले काठमाडौँ जिल्ला अदालतमा सन् २०१८ र २०१९ मा चलिरहेका १ सय वटा मुद्दाको अध्ययन गरेको थियो । उक्त अध्ययनले कुल १ सय व्यक्तिमध्ये २२ जना कम उमेरका रहेको देखाएको छ । डिभोर्स नेपालले करिअर बनाउने समयमा विवाह गर्दा धेरै मनमुटाव बढेको र अन्त्यमा सम्बन्ध विच्छेदसमेत भएको उल्लेख गरेको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का अनुसार, २० वर्षभन्दा कम उमेरमा हुने विवाहले गरिबी, बालिका बेचबिखन तथा ओसारपसारका घटना वृद्धि भएका छन् । सम्बन्ध विच्छेदका घटनामा वृद्धि हुनु र महिला हिंसाका घटना बर्सेनि थपिनुलाई पनि बालविवाहको नकारात्मक परिणामको रूपमा लिइएको छ । कानुनले रोक्दा रोक्दै पनि बालविवाह भइरहनाका धेरै कारण छन् । कर्णालीको सन्दर्भमा जुम्लामा रही महिला अधिकारका क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी पत्रकार दिलमाया शाहीका अनुसार घरमा काम गर्ने मान्छेको सङ्ख्या बढाउन पनि अभिभावकहरूले छोराको विवाह कमै उमेरमा गर्ने र त्यसका लागि विवाह योग्य उमेर नै नपुगेकी बुहारी भित्र्याउने गर्दछन् ।
हिमा गाउँपालिकाकी पूर्व उपाध्यक्ष हिमाली रोकाया अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी नहुँदा पनि बालविवाहले उग्र रूप लिएको बताउनु भयो । चन्दननाथ नगरपालिका महिला शाखा प्रमुख माया थापाले गरिबीमा थिचिएर छोरा तथा छोरी बिचमा विभेद गरिने भएका कारण पनि कर्णालीका कतिपय छोरीहरूको विवाह सानै उमेरमा हुने गरेको बताउनु भयो । लैङ्गिक विभेदको यो चक्रलाई तोड्न जरुरी रहेको पनि उहाँको ठम्याई छ । डिभोर्स नेपालले सामाजिक सञ्जालको दुरुपयोग र अनेक कारणबाट सानो उमेरमा मायाजालमा पर्ने र विवाह गर्ने चलन बढेको उल्लेख गरेको छ । सामाजिक सञ्जालको दुस्प्रभाव र मायाजालको सन्दर्भ कर्णालीका केही जिल्लाका केही व्यक्तिको हकमा पनि लागू हुन्छ ।
बहुविवाहले सम्बन्ध विच्छेद !
सानै उमेरको सम्बन्ध विच्छेदसँग बालविवाह मात्र होइन, बहुविवाहको समस्या पनि जोडिएको पाइन्छ । जिल्ला अदालत जुम्लामा आर्थिक वर्ष ०७८/७९ मा चालु रहेका सम्बन्ध विच्छेदका १६ ओटा मुद्दामा आठ ओटा मुद्दा २५ वर्षमुनिका नवयुवतीहरूको रहेको सो अदालतबाट थाहा भएको छ । यसको अर्थ सम्बन्ध विच्छेदका चालु मुद्दाहरूमा ५० प्रतिशत मुद्दाका पक्ष वा विपक्षी महिलाहरू २५ वर्षमुनिका छन् । जुम्ला जिल्ला अदालतका सुपरिन्टेन्डेन्ट अस्ट अधिकारीको अवलोकनमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउन आउनेहरूमा ३२ वर्षमुनिका महिलाहरू धेरै छन् । उहाँका अनुसार पतिले घरेलु हिंसा गरेकाले न्याय माग्न आएको बताउने ती महिलाहरू ३२ वर्ष पुग्दा नपुग्दै तीन चार बच्चाका आमा पनि बनिसकेका हुन्छन् । यसमध्ये कतिपय त बहुविवाह पीडित पनि हुन्छन् ।
सामाजिक विकास कार्यालय, जुम्लाका प्रमुख तुलाराज चौलागाईंका अनुसार पतिले घरकी पत्नी छोडेर अरू महिलासँग लाग्ने, घरमा पत्निलाई यातना दिने गरेका कारण महिलाहरू सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेका छन् । बालविवाहले बहुविवाहको पनि समस्या निम्त्याएको चौलागाईंको धारणा छ । बहुविवाह यस्तो एउटा जटिल समस्या देखिएको छ, जुन सम्बन्ध विच्छेद गराउने कारण मात्र नभएर सम्बन्ध विच्छेदपछिको जीवनका लागि अपनाउन सकिने सम्बन्धको एउटा बाटो पनि हो । यसबाट बालबालिका पनि प्रभावित हुन पुग्छन् । सामाजिक विकास कार्यालय, जुम्लाका प्रमुख चौलागाईं भन्नु भयो–‘कम उमेरमा विवाह गरी सन्तान जन्माएर छिट्टै सम्बन्ध विच्छेद गरेका कारण धेरै बालबालिकाको पनि बिचल्ली हुने गरेको छ ।’ उहाँका अनुसार, बाबुले अर्की पत्नी ल्याउने अनि आमा पनि ‘डिभोर्स’ पछि अर्कैसँग बिहे गरेर जाने भएकाले समग्र असर बालबालिकामा परेको छ ।
राज्यको दायित्व
उमेर नपुग्दै हुने विवाह र त्यसका कारण हुने सम्बन्ध विच्छेदलगायत समस्याबाट युवतीहरूलाई मुक्त राख्न राज्यले नै सोच्नुपर्ने अवस्था आएको सामाजिक विकास कार्यालय, जुम्लाका प्रमुख चौलागाईं बताउनु भयो । नागरिक समाजका अध्यक्ष राजबहादुर महतका अनुसार, बालविवाहले निम्त्याउने समस्याका बारेमा धेरै अभिभावकलाई जानकारी नै नभएको अवस्था छ । उहाँले भन्नु भयो–‘केही गैरसरकारी सङ्घसंस्थाले धेरथोर चेतनामूलक कार्यक्रम गरेको पाइन्छ । तर, प्रभावकारिता देखिएको छैन ।’ बालविवाह रोक्नका लागि अब तीन तहको सरकार जिम्मेवार हुन आवश्यक छ ।
बालविवाहबाट बालिका र किशोरीहरूलाई जोगाउन जरुरी छ । यति गर्न सके पनि विवाह गर्ने उमेर नपुग्दै हुने सम्बन्ध विच्छेद मात्र होइन, २५–३० वर्ष पुग्दा नपुग्दै हुने सम्बन्ध विच्छेदलाई पनि घटाउन सकिन्छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख बुद्धनारायण साहनीले बालविवाह बाल अधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्र नभएर विकास र समृद्धिकै बाधक ठान्नु हुन्छ । यसै भएकाले त्यसको उन्मूलन हुनुपर्ने पनि उहाँले बताउनु भयो । उहाँले भन्नु भयो–‘स्थानीय, प्रदेश र सङ्घीय सरकारले चाहेमा यो सम्भव छ । अन्य सरोकारवालाले पनि यसमा हातेमालो गर्नुपर्छ ।’
– मानदत्त रावल/इन्सेक अनलाइन