प्रकाश थापा
सामान्य अर्थमा जडी भन्नाले औषधीय गुण भएको जरो र बुटी भन्नाले औषधीय गुण भएको वनस्पतिजन्य बोट वा बिरुवालाई जनाउँछ । समग्रमा जडिबुटी भन्नाले औषधीय गुण भई रोगसँग प्रतिरोध गर्नसक्ने बोटबिरुवा र झारपातलाई जनाउँछ । मानव सभ्यताको विकास संगै जडिबुटीको उपयोग पनि परापूर्व कालदेखि नै हुँदै आइरहेको हो । जडिबुटीको महत्व सामाजिक, साँस्कृतिक, आर्थिक र वातावरणीय रुपमा रहिआएको छ । ग्रामीण क्षेत्रका जनताको आयआर्जन र जीविकोपार्जनमा जडिबुटीले विशेष भूमिका खेलिरहेको छ । देशको भौगोलिक अवस्था, हावपानी र विविध वातावरणीय विशेषताहरुका कारण नेपालमा विभिन्न प्रजातिका जडिबुटीहरु पाइन्छन् । नेपालमा पाइने करिब ७००० वनस्पतिका प्रजातिहरुमध्ये ७०० भन्दा बढी प्रजातिहरुमा औषधीय गुण रहेको पाइन्छ ।
वन विकास गुरुयोजना (२०४६) ले समेत देशको आर्थिक तथा सामाजिक विकासका लागि जडिबुटीको महत्व झल्काएको छ । वन विकास गुरुयोजना (२०४६) मा प्राथमिकतामा परेका छ वटा कार्यक्रममध्ये जडिबुटी तथा सुगन्धित वनस्पतिहरु र अन्य गैह्रकाष्ठजन्य वन पैदावारको खेती विस्तार पनि एक हो । जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावार विकास नीति, २०६१ ले नेपालमा जडिबुटी खेतीको विकास तथा विस्तार र अन्य आर्थिक अभिवृद्घिका संभावनालाई उजागर गर्न पाँच वटा लक्ष्यहरु लिएको छ । यी परिलक्षित नीतिहरुमा जडिबुटीको दिगो विकासको अवधारणाका आधारमा संरक्षण र विकास गर्ने, जनसहभागितालाई प्रोत्साहन गर्ने, प्रमाणीकरण र कर प्रणाली सरलीकृत गर्ने, उपयुक्त प्रविधि र विकासको प्रतिफल जनसमुदायमा पु¥याउने र सीप विकासका साथै व्यवसायिकरणलाई सरलीकृत गर्न सहुलियत प्रदान गर्ने रहेका छन् । यसै नीतिअन्र्तगत नेपालमा पाइने जडिबुटिहरु मध्ये ३० प्रजातिलाई नेपाल सरकारले अति उपयोगि प्रजातिका रूपमा संरक्षण तथा विकास गर्न र १२ प्रजातिका जडिबुटीहरुलाई खेती तथा अनुसन्धानको लागि प्राथमिकतामा राखेको छ । साथै वन नीति २०७१ समेतले जडिबुटीको संरक्षण, उत्पादन र प्रशोधनमा जोड दिएको छ । जडिबुटीको संरक्षण तथा व्यवस्थापनका लागि राज्यले विभिन्न नीति नियमहरु अबलम्वन गरेपनि यस सम्बन्धी आर्थिक, सामाजिक, भौतिक, वातावरणीय र नीतिगत समस्याहरु अहिलेका वर्षहरुमा टड्कारो रुपमा आइरहेका छन् ।
मुलतः नेपालमा जडिबुटीहरुको उपलब्धता सम्बन्धी गहन अध्ययन अनुसन्धान हुन सकिरहेको छैन् । त्यसैले जडिबुटीहरुको संरक्षण तथा व्यवस्थापन सहजै गर्न सकिने अवस्था पनि छैन् । धेरै स्थानमा जडिबुटीहरुबारे पहिचान हुन नसक्नाले उपयोग पनि कम मात्रा भइरहेको छ । गाउँघरमा पहिलेदेखि रहि आएको जडिबुटी सम्बन्धी परम्परागत ज्ञानको पनि अभिलेखिकरण नहुनाले ज्ञान लोप हुँदै गइराखेको छ । सहर केन्द्रीत बसाईसराई र परम्परागत ज्ञानको अभावले जडिबुटीको प्रयोग धेरै ठाउँहरुमा हराइ सकेको अवस्था छ । यस कारण पनि जडिबुटि संरक्षण र व्यवस्थापन कार्य चुनौतिपूर्ण छ ।
त्यसैगरी जडिबुटि संकलन गर्दा अपनाइने विधिका कारण धेरै जसो जडिबुटीहरु लोप हुने अवस्थामा छन् । जडिबुटी संकलकहरुले क्षणिक फाइदा अनुरुप माउ बिरुवा समेत केही नराखी गर्नेे संकलनले दिगो जडिबुटी संकलनमा समस्या थपिरहेको छ । यसैगरी जडिबुटी संकलन सम्बन्धी अन्य ज्ञान सिपको अभाव र क्षणिक फाइदाका कारण जडिबुटी संरक्षण तथा व्यवस्थापन उपयुक्त तरिकाले हुन सकिरहेको छैन् ।
अर्को कुरा प्राकृतिक स्रोतको बिनाशका कारण जडिबुटीको संरक्षण र व्यवस्थापन कार्य जटिल अवस्थामा छ । समय–समयमा हुने वन डढेलो र अनियन्त्रित चरिचरणले जडिबुटीको संरक्षण कार्यमा चुनौती थपिदिएको छ । वनको कमजोर व्यवस्थापन र अत्याधिक संकलनले पनि जडिबुटी व्यवस्थापनलाई अप्ठ्यारोमा पारेको छ । साथै जडिबुटी नेपालमा संकलन भई भारत लगायत विभिन्न मुलुकहरुमा निर्यात भइरहे पनि उचित बजार व्यवस्थाका कारण ग्रामिण जनताहरुले फाइदा पाउन सकेका छैनन् । जडिबुटीमा हुने मिसावटका कारणले पनि अन्तराष्ट्रिय स्तरमा कच्चा पदार्थले समेत कम मुल्य पाएको अवस्था छ । जडिबुटीबाट सारतत्व उत्पादन गरी निर्यातभन्दा कच्चा पदार्थको मात्र निर्यातले गर्दा देशले उपयुक्त फाइदा लिन सकेको छैन् । मूल्य अभिबृद्धि हुन नसकेको समस्या ज्युँकात्युँ छ । प्याकेजिङ र लेवलिङ हुन नसेका कारण जडिबुटीबाट देशले चाहे जस्तो आर्थिक फाइदा लिन नसेकेको अवस्था छ ।
देशमा जडिबुटी संरक्षण तथा व्यवस्थापनको लागि दक्ष जनशक्तिको समेत अभाव रहेको छ । जडिबुटी सम्बन्धी आधारभूत जानकारी र अध्ययन अनुसन्धान धेरै कम मात्रा छ । स्थानीय जनतामा पूँजीको समस्याले गर्दा जडिबुटीजन्य उद्यम स्थापनामा कठिनाई छाइरहेको छ । गरिबी र पछौटेपनका कारण दूरदरारका जडिबुटीहरु बजारसम्म आइनसक्ने समस्या छ । नीजि क्षेत्रको आकर्षण जडिबुटि उद्योग स्थापनातर्फ बढेको छैन् । जडिबुटी सम्बन्धी काम गर्ने संघसंस्थाहरु बीच समन्वयको कमीले पनि संरक्षण र व्यवस्थापनका कामहरु हुन सकेका छैनन् । स्थानीय समुदायमा जडिबुटीको गृहस्थीकरण र व्यापारिकरणको अभाव छ । समग्र व्यवस्थापनको लागि मानवीय, आर्थिक र प्राविधिक श्रोतको कमी रहेकाले गर्दा जडिबुटी संरक्षण र व्यवस्थापन कार्य असहज बनिरहेको अवस्था छ ।
प्रकृतिको अनुपम उपहार जडिबुटीको दिगो व्यवस्थापन र उचित संरक्षण गरेमा सम्पूर्ण देश र जनतालाई यसले समुन्नतितर्फ डो¥याउने नै छ । तर विविध चुनौतिहरुका कारण नेपालले जडिबुटि संरक्षण र व्यवस्थापनबाट उचित फाइदा लिन नसकेको अवस्था छ । अब जडिबुटीसम्बन्धी गहन अध्ययन अनुसन्धान, दक्ष जनशक्ति उत्पादन, आर्थिक लाभ प्रतिको जनचेतना, नीजि क्षेत्रको आर्कषण, नीतिगत झमेलाहरुको न्युनीकरण र दिगो व्यवस्थापन गरी देशलाई जडिबुटीबाट आर्थिक लाभ दिलाउन सबैले ध्यान पु¥याउनु पर्दछ । (लेखक थापा जिल्ला वन कार्यालय बागलुङका सहायक वन अधिकृत हुन् ।)
Previous Articleढिकी–जाँतो संरक्षण
Next Article माइक्रोबाट खस्दा पूर्व उपप्रधानमन्त्री केसी घाइते