आधुनिक कुटनी पिसनीको विकास नभएको बेलामा प्रयोगमा आएको ढिकी र जातोको चलन आजकल हराउदै गएको छ । ग्रामिण भेगका अधिकांश मानिसको घरघरमा ढिकी र जातोहरु हुने गर्दथे तर आधुनिक मिल र घट्टहरुको विकास भएपछि लोपहुदै गएका छन् । सुख र सुबिधाको लागि आधुनिक मिलमा कुटानी पिसानी गरेपनि हाम्रो सभ्यता बोकेका यस्ता सामाग्रीहरुको संरक्षण गर्न पनि उत्तिकै आवश्यक छ । विज्ञान र प्रविधिको प्रचुर विकाससंगै परम्परागत ढिकी जांतोको पनि उत्तिकै महत्व छ । डिजेल पेट्रोल र विजुली बत्तिवाट चल्ने मिलहरुमा प्रशस्त सुविधा भएपनि देशमा बढ्दो महंगीले गर्दा ढिकीजातोलाई संरक्षण गर्दै यसको प्रयोगलाई निरन्तरता दिनुपर्छ । ढिकी र जातोमा काम गर्न झन्झटिलो भएपनि यसको आफ्नै मौलिकता र संस्कृति पनि बोकेको छ । ढिकी र जातोमा कुटनीपिसनी गरी बनाईएका परिकारहरु खानको लागि उत्तम र स्वास्थ्यको लागि फाइदा हुने भएकोले यसको प्रयोग गर्नुपर्छ । घरैमा उत्पादन गरेका गुणस्तरिय स्वस्थकर तथा स्वादिष्ट खानाका लागि निरन्तर ढिकीजाँतोको प्रयोग आवश्यक छ । हाम्रो पुर्खाले चलन चल्तीमा ल्याएका यस्ता घरेलु उपकरणहरुले हाम्रो परम्परा बोकेका हुन्छन् । यस्ता उपकरणले हाम्रो पुरानो सभ्यतालाई समेत बोकेको हुन्छ । त्यसैले आधुनिक मेशिनको आविष्कार भएपनि ढिकीजाँतोलाई जोगाउन सबै जुट्नु पर्छ ।
बागलुङमा पनि कुटनी र पिसनीमा प्रयोग हुने परम्परागत ढिकी जाँतो लोप हुने अवस्थामा छ । गाउँघरमा कुटानी पिसानी गर्न बनाईएका ढिकी, जाँतोलगायतका सामाग्रीको संरक्षणका अभावले जिर्ण अवस्थामा पुगेका छन् । दशकअघि गाउँका सबैःजसोे घरमा रहेका ढिकी, जाँतो, पानीघट्ट र कोलजस्ता स्थानीय प्रविधिको पछिल्लो समय संरक्षणको अभाव र स्थानीयबासीको बेवास्ताका कारण लोप हुँदैछन् । गाउँका हरेक घरमा रहेका ढिकी तथा जाँतो अहिले छिटफूट मात्रामा देख्न पाइन्छ । विशेष गरी युवा वर्गले हाम्रा परम्परागत उपकरणको संरक्षण र प्रयोगमा नाक खुम्चाउने प्रचलन बढ्दै गएको छ । पुरानो पुस्ताले युवालाई आफ्नो चलन हस्तान्तरण गर्न चाहेपनि युवा वर्गले खासै चासो देखाएको पाईदैन । युवाले चासो दिने होभने हाम्रो संस्कार बोकेका सामाग्रीको संरक्षण संभव छ । युवा पुस्ताले आधुनिकताको नाममा आफ्ना संस्कारलाई बेवास्ता गर्दा हाम्रा मौलिक परम्परा लोप हुँदै गएका छन् । हाम्रा पुर्खाले विगतमा चलनचल्तीमा ल्याएका घरायसी काममा प्रयोग हुने उपकरणहरु अहिले केवल संग्राहलयमा सिसाको सोकेसमा देख्न सकिन्छ । घरमै हुने काममा पनि हामीले अन्य विकल्प खोजी रहेका छौ । जसले गर्दा हाम्रो आफ्नै उत्पादन प्रयोगमा आउन सकेका छैनन् भने पैसाको पनि विनाश हुँदै गएको छ । त्यसैले घरमा हुने काम घरमै गर्ने संस्कारको विकास गर्न सक्ने होभने आधुनिकताको नाममा पैसा स्वाह हुने क्रम रोकिन्छ । अर्काेतर्फ हाम्रा संस्कार पनि जिवन्त रहन्छन् । हाम्रो पुर्खाको गौरवगाथा बोकेका ढिकीजाँतोसंगै पुराना प्रविधिको संरक्षण गर्नुपर्छ ।
Previous Articleअल्ट्रा लाइट विमान दुर्घटना हुँदा पाइलटको मृत्यु
Next Article जडिबुटी संरक्षण तथा व्यवस्थापनका चुनौतीहरु