कृष्ण कँडेल
बागलुङ, ८ मंसिर – पश्चिम बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा अपाङ्गता विशेष कक्षा सञ्चालन भएपछि अपाङ्गता भएका बालबालिकाले आवासिय बसाईसँगै पढ्ने अवसर पाएका छन् ।
गत बर्षको मंसिर १८ गते अन्तराष्ट्रिय अपाङ्गता दिवसदेखि सुरु भएको कक्षामा अहिले यस क्षेत्रका १९ जना बालबालिकाले पढ्दै आएका छन् । जिल्ला शिक्षा कार्यालय बागलुङले उत्तरगंगा मावि बुर्तिबाङको माताहत रहने गरि विद्यालयकै हातामा कक्षा सञ्चालनको अनुमति दिएको छ ।
भवन, फर्निचर र शैक्षिक सामग्रीको व्यवस्थान भएपछि एक बर्षअघि बौद्धिक अपाङ्गता विशेष कक्षा सुरु गरिएको थियो । यहाँ अहिले बौद्धिक, शारिरीक तथा बहुअपाङ्गता भएका बालबालिका रहेका छन् । प्लान ईन्टरनेशनल नेपालको १३ लाख ५३ हजार १३९ आर्थिक सहयोग र उत्तरगंगाा माविको ५ लाख ४१ हजार ३५४ रुपैयाँ लागतमा विशेष कक्षाका लागि भवन निर्माण भएको छ । प्लानले फर्निचरका लागि २ लाख २ हजार ४९६ रुपैयाँ र शैक्षिक सामाग्री खरिद र निर्माणको लागि ६७ हजार ६८६ रुपौयाँ प्रदान गरेको थियो । शारीरिक अपाङ्गता भएका १२ बर्षिय छोरालाई विशेष कक्षामा राखेकी ग्वालीचौरकी सरिता घिमिरेले अपाङ्ता कक्षा सुरु भएपछि छोराको पठनपाठन र रेखदेख हुँदै आएको भन्दै खुसी व्यक्त गरिन् ।
‘बच्चाको नियमित हेरचाहका लागि एक जनाले छोड्न मिल्थेन’, घरमा एक्लै हुदाँ त उसलाई हेर्ने की अरु काम गर्ने झनै समस्या हुन्थ्यो’ घिमिरेले भनिन्, ‘बेला–बेलामा भेट्न जान्छु, अहिले त धेरै सजिलो भएको छ ।’ उनले विशेष कक्षा व्यवस्थापनका लागि आर्थिक अभाव रहेकाले निरन्तर कक्षा सञ्चालन हुन्नकी भन्ने चिन्ताले आफुलाई सताउने गरेको बताईन् । त्यहाँ १६ बर्ष मुनिका बौद्धिक, शारीरिक तथा बहुअपाङ्गता भएका बालबालिकाले पढ्दै आएका छन् । उनीहरुलाई आनीबानी तथा व्यवहारमा सुधार, साथीबीच रमाएर खेल्ने वातावरणसहित अक्षर चिनाउने गरिएको शिक्षक कल्पना भट्टराईले बताईन् ।
‘हामीले पारिवारिक अनुभुती दिलाउँदै खेल खेलाएर नानीहरुको व्यवहारमा सुधार गर्ने प्रयास गर्छौं’ भट्टराईले भनिन्, ‘गीत गाएर पनि रमाईलो गराउँछौँ ।’ उनले बच्चाहरुलाई अवसर पाए हामीले पनि गर्नसक्छौँ भन्ने आत्मविश्वास बढाउन प्रेरित गरिने बताईन् । ‘हामी कमजोर छौँ भनेर नानीहरुले हिनतावोध गर्छन्’ उनले थपिन्, ‘यो सोचलाई हटाएर बालबालिकामा अवसर पाए हामीले गर्न सक्छौँ भन्ने विश्वास बढाउने हाम्रो प्रयास हुन्छ ।’ समुदायकै सक्रियतामा सुरु गरिएको विशेष कक्षा शिक्षणका लागि अहिले एक शिक्षिका, एक भान्छे र एक जना बच्चाहरुलाई रेखदेख गर्ने कर्मचारी रहेका छन् ।
यसअघि कुनै प्रकारको सरकारी र अन्य अनुदान नभएका कारण तिनै जनाले स्वयंसेवी रुपमा काम गर्दै आएका थिए । गत आर्थिक बर्षदेखि जिशिकाबाट अनुदान आउन थालेपछि सरोकारवालासँग छलफल गरेर उनीहरुलाई पनि तलब भत्ताको व्यवस्था गरिने उत्तरगंगा माविका प्रअ धनबहादुर कुँवरले जानकारी दिए ।
जिशिकाबाट गत बर्ष १ लाख २५ हजार रुपैयाँ प्राप्त भएको प्रअ कुँवरले बताए । ‘अनुदान नहुँदा सहयोगदाताबाटै रकम जुटाएर खर्च व्यवस्थान गथ्र्यौं’ विशेष कक्षाका पहलकर्ता तथा जिल्ला अपाङ्गता सरोकार संघ बागलुङका अध्यक्ष चुडाबहादुर कुँवरले भने, ‘पैसा नहुँदा उधारोमा हामी आफै जिम्मेवार भएर चामल, दाल तरकारी किनेरै यिनलाई खुवाएका छौँ ।’ उनले चरम आर्थिक अभावमा पनि शिक्षक कर्मचारीले स्वयंसेवा गरेर ठुुलो योगदान गरेको बताए ।
भवन निर्माण समितिको अध्यक्ष समेत रहेका उनले बालबालिकाको बसाई व्यवस्थान, पठनपाठन, शिक्षक कर्मचारीको तलब भत्ता र आवासिय बसाई व्यवस्थापन गर्नै पर्ने अवस्था रहेकाले अझै रकम अभाव रहेको बताए । ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक शिवराज क्षेत्रीको अगुवाईमा गत कात्तिकमा स्थानिय दाताबाट २३ हजार ५०० रुपैयाँ जुटाएर भवनको झ्यालमा ग्रील राखिएको थियो । अन्य खर्च समेत दाताकै भरमा चलाउने गरिएको छ ।
उत्तरगंगा माविको विद्यालय व्यवस्थान समिति र प्रधानाध्यापकले नै सबै कुरा हेर्नुपर्ने समग्र व्यवस्थान प्रभावकारी हुन नसकेको अघिकारकर्मीले बताएका छन् । उनीहरुले उत्तरगंगा माविमा विव्यस सक्रिय नरहेको र प्रअको व्यस्तताले बिशेष कक्षा व्यवस्थापन चुस्त हुन नसकेको बताउँदै आएका छन् । ‘बिषेश कक्षाको लागि मात्र हेर्ने गरि छुट्टै व्यवस्थान समिति गठन गरेर व्यवस्थानलाई चुस्त बनाउने सोच बनाएका छौँ’ अपाङ्गता सरोकार मञ्च बुर्तिबाङका अध्यक्ष चुडामणी भुषालले भने, ‘यसका लागि मातृ विद्यालय र जिल्ला शिक्षा कार्यालयसँग पनि छलफल गर्दैछौँ ।’ उनले आफ्नै व्यवस्थान समिति भए व्यवस्थापन चुस्त हुने बताए ।