बागलुङ, ८ मंसिर – जिल्ला विकास समितिको कार्यालय बागलुङको आयोजनामा आगामी अािर्थक बर्ष २०७४/०७५ का लागि मंगलबार पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठीको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी राम प्रसाद आचार्यले जनताको चाहना र भावना अनुसारका योजना ल्याउन सबैले पहल गर्नुपर्नेमा जोड दिए । उनले ग्रामीण तहको आवस्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।
गोष्ठीमा राजनीतिक दलका प्रतिनिधि, क्रियाशील सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनीधि, गाविस सचिव लगायत ७० जनाको सहभागिता थियो । आगामी बर्षका लागि रणनीति, योजना तर्जुमाका प्रक्रियाहरु नेपाल सरकारबाट प्राप्त मार्गदर्शन बारे छलफल गरिएको बताइएको छ । कुन आधारमा योजना तर्जुमा गर्ने भन्ने कुरा प्रष्ट पारिएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले खाका प्रस्तुत गरेका थिए ।
योजना तर्जुमाका चौध चरणअन्तर्गत ०७३ पौष मसान्तभित्रै नगर तथा गाउँ परिषदहरु सम्पन्न गरी माघ महिना सम्ममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी, बिषयगत समितिका बैठक र फागुन महिनाभित्र एकीकृत समिति बैठक र जिल्ला परिषद सम्पन्नगर्ने संबन्धि कार्य तालिका बनाईएको छ । सो कार्यक्रममा गैसस महासंघका सचिव मणीभद्र पौडेल, गाविस सचिव हकहित केन्द्रका अध्यक्ष महेन्द्र पौडेल महिला तथा बालबालिका कार्यालयका निमित्त महिला विकास अधिकृत सरस्वति रेग्मी र नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले आ–आफ्नो मनतव्य राखेका थिए ।
प्राप्त सुझाबलाई ऐन कानुनको परिधि भित्र रही प्रभावकारी योजना तर्जुमा गर्न कार्यालयहरु प्रतिवद्ध रहेको आचार्यले बताए । उक्त कार्यक्रममा स्वागत र कार्यक्रमको उद्देश्य माथी प्रकाश जिविस बागलुङका शाखा अधिकृत प्रेमप्रसाद सापकोटाले र कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत भेषराज शर्माले गरेका थिए ।