हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरत केसीले फरक क्षमता भएका व्यक्तिहरुको उत्थानका लागि आवश्यकता अनुरुपको सहयोग गर्ने बताउनुभएको छ । बौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीले बेनीमा आयोजना गरेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख केसीले बौद्धिक अपाङ्गता अभिभावक संघमार्फत फरक क्षमता भएका बालबालिका तथा व्यक्तिहरुलाई चाहिने आवश्यक सहयोगका लागि उचित योजना तथा कार्यक्रम बनाएर आएमा सहयोग गरिने बताउनुभयो । उहाँले नगरपालिकामार्फत गर्नुपर्ने कामहरु धेरै भएकाले कतिपय काम गर्दागर्दै पनि छुट्ने हुँदा समय समयमा जनप्रतिनिधिलाई सम्झाइरहन पनि बौद्धिक अपाङ्गता अभिभावक संघलाई सुझाव दिनुभयो । नगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण तथा व्यवस्थापनमा सघाउने उहाँको भनाइ छ ।
उपप्रमुख ज्योती लामिछानेले नगरपालिका आफैले बनाउने आवश्यक ऐन, कानुनहरु निर्माण, संशोधन र परिमार्जन गरेरै भए पनि नगरवासीलाई सहयोग गरिने बताउनुभयो । उहाँले नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको टिम सबैको साझा भएकाले आवश्यक सहयोग तथा सल्लाह, सुझाव उपलब्ध गराउन आग्रह गर्दै अपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि उचित पहल गर्ने बताउनुभयो ।
बौद्धिक अपाङ्गता अभिभावक संघका प्रतिनिधिहरुले राज्यले फरक क्षमता भएका नागरिकहरुलाई विशेष सुविधाको व्यवस्था गरेको भए पनि त्यो कार्यान्वयनका सवालमा जटिल समस्या रहेकाले जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रम बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जमुना पौडेलको अध्यक्षता र सचिव कृष्णसिङ बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleसञ्चारकर्मीको क्षमाता अभिवृद्धिका लागि पहल गर्ने
Next Article बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा