शीघ्र कुपोषणको व्यवस्थापन कार्यक्रमअन्तर्गत बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी म्याग्दीको बेनीमा सकिएको छ । स्वास्थ्य कार्यालयको आयोजना र युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सपोर्टमा समीक्षा गोष्ठी सञ्चालन गरिएको हो ।
बहिरङ्ग उपचार केन्द्रबाट सञ्चालित कार्यक्रमबारे समग्र प्रगतिको विषयमा समीक्षा गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको छ । तालिममा बहिरङ्ग उपचार केन्द्रहरुको प्रस्तुतीकरण, कडा, शीघ्र कुपोषित बालबालिकाहरुको उपचारमा आवश्यक ज्ञान सिपको पुनरावलोकन, समयमै कुपोषित बच्चाको व्यवस्थापन, वृद्धि अनुगमन, आरयुटिएफको आपूर्ति प्रणाली, बहिरङ्ग उपचार केन्द्र विस्तार, कार्यक्रम सञ्चालनका समस्या, असल अभ्यास, कुपोषणमुक्त समाज निर्माण र कार्ययोजना निर्माणको विषयमा सहजीकरण भएको थियो ।
दुई दिनसम्म चलेको तालिमको विषयवस्तुमाथि स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, सुआहारा कार्यक्रम केन्द्रीय कार्यालयका पोषण विज्ञ मनिशा श्रेष्ठ, बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारी र पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थीले सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले समुदायस्तरमा कुपोषण न्युनीकरण गर्नका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले कुपोषित बालबालिकाहरु पत्ता लगाएर तुरुन्तै उपचार गर्नुपर्ने भन्दै पूर्ण पोषणयुक्त वडा बनाउन आवश्यक कार्ययोजना बनाई लागू गनुपर्ने बताउनुभयो ।
सुआहाराको बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र अधिकारीले समुदायमा रहेको कुपोषण घटाउन सरोकारवाला निकाय सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । स्वास्थ्य कार्यालयका सिनियर अहेव सोमनाथ उपाध्यायले स्वागत गरेको कार्यक्रमको सञ्चालन पब्लिक हेल्थ नर्स दुर्गा शर्माले सञ्चालन गर्नुभएको थियो ।
म्याग्दी जिल्लामा रहेका १४ ओटा बहिरङ्ग उपचार केन्द्रहरुबाट कुपोषित बालबालिकाहरुको पहिचान गरी उपचार गर्ने गरिएको छ ।