नेपाल पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष एवम् बेनी नगरपालिकाका नव निर्वाचीत प्रमुख सुरत के.सी.ले सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि आवश्यक पहलकदमी चाल्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा भएको जनप्रतिनिधिलाई बधाइज्ञापन कार्यक्रममा नवनिर्वाचित प्रमुख के.सी.ले पत्रकारसँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै जिल्लामा सञ्चालित सञ्चारमाध्यमको विकास तथा पत्रकारको क्षमता अभिवृद्धिमा नीतिगत रुपमा मिल्ने तबरबाट सहयोग गर्ने बताउनुभयो । उहाँले अहिले पनि स्थानीय तहबाट जिल्लाभन्दा बाहिर विज्ञापन वापत ठूलो रकम बाहिरिने र जिल्लाभित्र सञ्चालित मिडियाले सानो रकम पाउने अवस्था रहेको बताउँदै यसलाई उचित कार्यविधि बनाएर समाधानका लागि प्रयास गरिने बताउनुभयो ।
बेनीबजारमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सुझाव सङ्कलन गरेर आवश्यक निर्णय लिइने नगर प्रमुख केसीले बताउनुभयो । उहाँले नगर क्षेत्रमा कार्यरत मजदुरहरुको खर्च कम गरी बचत गर्ने बानीको विकासका लागि श्रम कार्डको व्यवस्था सहित पहल गरिने बताउनुभयो । जेठ १५ गतेदेखि नै बेनी नगरपालिकाको सवै वडाको स्वास्थ्य संस्थामा ४५ वर्षभन्दा माथिको नागरिकका लागि नसर्ने रोगको परीक्षणसम्बन्धी शिविर सञ्चालन गर्ने तयारी थालिएको उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले नगरपालिकामार्फत प्राप्त जग्गाको उपयोग गर्नका लागि आवश्यक सहयोग गरिदिन नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले जिल्लामा सञ्चालित संचारमाध्यमहरुको सबलीकरणका लागि आवश्यक सहयोग तथा पत्रकारहरुको क्षमता अभिवृद्धिसहितका तालिम÷गोष्ठी संचालन गर्न र विज्ञापन वितरणलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अवसरमा पत्रकार महासंघको तर्फदेखि पत्रकार तथा सञ्चारमाध्यमसम्बन्धी आवश्यक सुझावपत्र नगर प्रमुख केसी र उपप्रमुख ज्योती लामिछानेलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रम पत्रकार महासंघका अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गोतमको स्वागत र सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।