आगामी शुक्रवार सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार, घरदैलो अभियान र मतदाता भेटघाटमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरु व्यस्त छन् । म्याग्दीको छ वटै पालिकामा यसबेला उम्मेदवारहरु भोट माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । स्थानीय निर्वाचनको मौन अवधि सुरु हुँदै गर्दा दलका उम्मेदवाहरु चुनावी आमसभा टुङ्ग्याउने हतारोमा लागेका हुन् ।
म्याग्दीको बेनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा सुरत केसी र उपमेयरमा पशुपति शाही तथा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट मेयरमा चिरञ्जीवी शर्मा र उपमेयरमा ज्योती लामिछाने चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । एमालेबाट मेयरका लागि प्रत्याशी बनेका सुरत केसीसँग हामीले आसन्न निर्वाचनको बारेमा छोटो कुराकानी गरेका छौं । आइतबार घतानको तोरीपानीमा आयोजित चुनावी सभामा मतदाता भेटघाटमा व्यस्त रहेका मेयरका प्रत्याशी केसी केही समय निकालेर हतारका बाबजुद हामीसँग कुराकानी गर्न तयार देखिए । प्रस्तुत छ, नगर प्रमुख अर्थात् मेयरका उम्मेदवार उनै केसीसँग गरिएको कुराकानीः
रुप्से संवादमा यहाँलाई स्वागत छ ।
धन्यवाद !
तपाइको चुनावी प्रचारप्रसार कसरी चलिरहेको छ ?
उम्मेदवारी दर्ता गरेपछि हामीले कार्यतालिका बनाएरै घरदैलो अभियान र मतदाता भेटघाट सुरु गरेका हौं । तपाईंले देख्नुभएको छ । आज हामी घतानको तोरीपानी क्षेत्रका मतदाता भेटघाटमा व्यस्त छौं । नेकपा एमालेको तर्फबाट बेनी नगरको मेयर र उपमेयरको उम्मेदवार, सम्बन्धित वडामा अध्यक्ष तथा सदस्यका उम्मेदवार साथीहरु एउटै टिममा रहेर प्रचारप्रसारमा जुटेका छौं ।
उम्मेदवारको रुपमा गाउँघरमा पुग्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
आम जनताले हामीप्रति देखाउनुभएको सदाशयता र अपेक्षाले हामी निकै उत्साहित भएका छौं । घरदैलोका क्रममा बिहान झिसमिसेदेखि राति अबेरसम्म मतदाताको घर पुग्दा पनि उहाँहरुले निकै उत्साहित भई स्वागत गर्नुभएको छ । त्यति मात्रै होइन, उम्मेदवारको रुपमा हामीसँग वहाँहरुले केही आशा, केही गुनासा र मागहरु प्रस्तुत गर्नुभएको छ । समग्रमा भन्नुपर्दा बेनी नगरका मतदाताहरुबाट निकै सकारात्मक र सहयोगी प्रतिक्रिया पाएका छौं । यसबाट हामी उत्साहित छौं ।
कार्यक्रममा आउने जनताहरु स्वतस्फूर्त रुपमा सहभागी भएका हुन् कि, दवाव र प्रभावमा ?
कार्यक्रममा सहभागी गराउन दबावै दिनुपर्ने निम्छरो सङ्गठन भएको पार्टी एमाले हैन भन्ने कुरा म यहाँ स्पष्ट पार्न चाहन्छु । नेपाली राष्ट्रियता, देशभक्ति र सामाजिक आर्थिक रुपान्तरणको सवालमा नेकपा एमालेले जे जस्ता कामहरु गरेको छ, एजेन्डा उठाएको छ त्यसले आम नेपाली जस्तै बेनी नगरवासी जनताको पनि मन जितेको हाम्रो विश्वास छ । अर्को कुरा, एमालेका उम्मेदवारहरु जनताको सुखदुःखमा सँगै उभिएको हँुदा पनि एमाले र यसका कार्यक्रमसँग धेरै नागरिकको वैचारिक र भावनात्मक साइनो पनि छ । बरु, कार्यक्रममा सहभागी हुन नपाएकोमा, चुनावी अभियानमा सँगै हिँड्न नपाएकोमा धेरै मतदाताहरुले चिन्ता र गुनासोसहितका फोन र म्यासेज गर्नुभएको छ ।
त्यसो भए तपाईँहरु उत्साहित हुनुहुन्छ ?
हो, हामीले निकै राम्रो रेस्पोन्स पाइरहेका छौं ।
अब हामीलाई बताइदिनुस्, तपाइँले निर्वाचन जित्ने आधारहरु के–के छन् ?
हामीले चुनाव जित्ने पहिलो आधार नेकपा एमालेले अँगालेको जनताको बहुलीय जनवादको सैद्धान्तिक मार्गदर्शन नै हो । स्वर्गीय जननेता मदन भण्डारीले प्रस्तुत गर्नुभएको जबजको सिद्धान्तले नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट उचाइमा पु¥याएको आजको यथार्थ हो । जबजको मार्गदर्शनलाई आत्मसात् गरेकै कारण आज नेकपा एमाले देशकै ठूलो, लोकतान्त्रिक पार्टीको रुपमा स्थापित भएको छ । अर्को कुरा, नेकपा एमालेको मजबुत र चलायमान सङ्गठन छ । नेकपा एमालेमा आबद्ध नेता कार्यकर्ताहरु कसैलाई ठगेर, बेइमानी गरेर वा नीतिगत रुपमै भ्रष्टाचार गरेर कमाउने र त्यही पैसा खन्याएर चुनाव जित्ने कुरामा विश्वास गर्दैनन् । गरिखाने वर्गको विश्वास र भरोसा हामीमाथि छ । बेनी नगरमा हामीले चुनाव जित्ने तेस्रो र मुख्य आधार हामीले गरेको काम नै हो । बाढी, पहिरो, भूकम्प, कोरोना महामारीको बेला होस् वा जनताले उपचार नपाउँदा, एमालेका कार्यकर्ताहरुले जुन सहयोग र मानवीय व्यवहार देखाउनुभएको छ, त्यसले आममतदाताको मन जितेको छ । नेकपा एमाले भाषण गर्नेभन्दा पनि समस्या परेका ठाउँमा सहयोगीका रुपमा उपस्थित हुने पार्टी हो भन्ने कुरा व्यवहारमै पुष्टि भैसकेको छ । त्यसैेले सैद्धान्तिक आधार, पार्टीको चलायमान सङ्गठन र जनताको सुखदुःखमा सँगै उभिएका कारण पनि निर्वाचन जित्नेमा हामी ढुक्क छौं ।
नेकपा (एमाले) बेनी नगर कमिटीले आफ्नो प्रतिबद्धता–पत्र पनि सार्वजनिक गरेको थियो । त्यसमा के–कस्ता विषयहरुलाई जोड दिनुभएको छ ?
निकै राम्रो प्रश्न गर्नुभयो । वास्तवमा बेनी नगरपालिकामा मात्र होइन, म्याग्दीका ६ ओटै पालिकामा स्थानीय आवश्यकता र वस्तुस्थितिको विश्लेषण गरी प्रतिबद्धता–पत्र तयार गरिएको छ । यसबारे जिल्लास्थित सञ्चारमाध्यमहरुको पर्याप्त ध्यान गएको जस्तो लाग्दैन । जहाँसम्म बेनी नगरको प्रतिबद्धतापत्रको कुरा छ, यसमा हामीले नेपालको संविधानले दिएको अधिकार, स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान र स्थानीय आवश्यकतालाई समेट्दै प्राथमिकताको आधारमा नीति, योजना र कार्यक्रम प्रस्तुत गरेका छौं । प्रतिबद्धतापत्रमा भएका सबै कुरा यो छोटो संवादमा उल्लेख गर्न सम्भव छैन । तर पनि केही कुरा राख्नु मैले आवश्यक ठानेको छु । हाम्रो प्रतिबद्धतापत्रमा आगामी पाँच वर्षमा बेनी नगरको शैक्षिक, स्वास्थ्य, कृषि, पर्यटन शहरी विकास लगायतका क्षेत्रमा के, कस्तो विधि बसाल्ने र काम गर्ने भन्ने कुरा बुँदागत रुपमा उल्लेख गरेका छौं । जस्तो शिक्षाको सवालमा पूर्व प्राथमिक तहको अध्ययनका लागि बालबालिकालाई आफ्नै टोल वस्तीमा मन्टेश्वरी अवधारणामा आधारित सुविधासम्पन्न विद्यालय व्यवस्था गर्ने भनेका छौं । त्यस्तै, बेनी नगरका २२ ओटा सामुदायिक विद्यालय र म्याग्दी बहुमुखी क्याम्पसले आवश्यक ठानेमा एक–एक ओटा सवारीसाधन उपलब्ध गराउने र आवश्यकताअनुसार विद्यालय गाभेर गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता गरेका छौं । बेनी नगरपालिका–९, तोरीपानीमा सञ्चालित प्राविधिक धारतर्फको शिक्षालाई बहुविधामा कक्षा सञ्चालन गर्ने, प्राविधिक सिप तथा व्यवसायिक तालिम प्रदान गर्ने व्यवस्था मिलाउने र त्यसबाट लाभान्वित हुने सङ्ख्याको यकिन गरी रोजगारी सिर्जना गर्न पहल गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छन् । यसैगरी गरिब तर जेहेन्दार विद्यार्थीले प्राविधिक विषय पढ्न चाहेमा अध्ययनपछि तोकिएको क्षेत्रमा सेवा उपलब्ध गराउने शर्तमा उच्च शिक्षाको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने कुरालाई आवश्यक नीति बनाएरै सम्बोधन गर्ने कुरामा हामी प्रतिबद्ध द्धौं । त्यस्तै नगरवासी आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्न नियमित कामका साथै ‘मोबाइल अस्पताल’ सञ्चालन गर्ने र बिरामीलाई घरदेखि अस्पतालसम्म पु¥याउन एम्बुलेन्सको व्यवस्था गर्ने विषयलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । सडक यातायातको सवालमा हामीले केही रणनीतिक महत्वका सडकलाई जोड दिएर नगरपालिका भित्रका मुख्य सडकमा कालोपत्रे गर्ने, वडा कार्यालय जोड्ने सडकको कालोपत्रे र स्तरीकरण गर्ने योजना बनाएका छौं । यसका साथै नगरपालिकाले आफ्नै हेभी इक्वीपमेन्ट डोजर, स्काभेटरलगायत खरिद गरी अवरुद्ध सडक खुलाउन तत्कालै आवश्यक जनशक्तिसहित सम्बन्धित ठाउँमा परिचालन हुने व्यवस्था मिलाउनेछौं भने बाह्रै महिना सडक सञ्चालनको व्यवस्था गर्नेछौं । बेनी नगरको यातायातलाई सहज र सर्वसुलभ बनाउन प्राधिकरण मोडलको संस्था स्थापना गर्ने योजना बनाएका छौं । त्यो संस्थाले यातायात क्षेत्रमा निजी क्षेत्रलाई समेत समेटी एकद्वार प्रणालीबाट बेनी नगरमा यातायातको विकास गर्नेछ । कृषि, पशुपालन, आवास, भूमि व्यवस्थापन र सिँचाइको विकासका लागि पनि प्रतिबद्धतापत्रमा विशेष योजना उल्लेख गरिएको छ । समग्रमा भन्नुपर्दा बेनी नगरलाई आधुनिक, पर्यावरणमैत्री र सभ्य नगरमा रुपान्तरण गर्नका लागि हाम्रो प्रतिबद्धतापत्रले स्पष्ट योजना र कार्यक्रमहरु किटान गरेको छ । अहिले तपाईँलाई यतिमात्र भनौं, यदि हामीले बेनी नगरमा नेतृत्व गर्ने अवसर पायौं भने अहिले सार्वजनिक गरिएको प्रतिबद्धतापत्रलाई नै आधार मानेर काम गर्नेछौं, यसमा कुनै द्विविधा छैन ।
प्रतिबद्धतापत्रमा उल्लेख गरेका कुरा पाँच वर्षमा पुरा गर्न सक्नुहुन्छ त ?
सबै कुरा पाँच वर्षमा पुरा हुन्छन् भन्ने गफ हामी गर्दैनौं । तर, यसको इमानदार कार्यान्वयन सुरु गर्नेछौं । हाम्रो प्रतिबद्धतापत्रमा उल्लेख भएका विषयलाई प्राथमिकताक्रम निर्धारणसहित देखिने गरी जनताको पक्षमा विकासका काम अगाडि बढाउँछौं । यो हाम्रो सार्वजनिक प्रतिबद्धता हो ।
नगरपालिकाको विकासका लागि आवश्यक स्रोत कहाँबाट जुटाउनुहुन्छ त ?
नेपाल सरकारले उपलब्ध गराउने सशर्त, निशर्त अनुदान, समपूरक कोषहरु नै नगरपालिकाको विकासका लागि मुख्य स्रोत हुनेछन् । तपाईँ हामीले देखेका छौं, नेपाल सरकारले बजेट पठाउँदा पनि विकासको काममा खर्च नहुँदा पछिल्लो पाँच वर्षमा बेनी नगरको धेरै बजेट फ्रिज भएको छ । बेनी नगरवासी मतदाताहरुले हामीलाई जिम्मेवारी सुम्पिनुभयो भने तुलनात्मक लाभ र लागतको मूल्याङ्कन गरी तोकिएको क्षेत्रमा बजेट विनियोजन गर्ने व्यवस्था मिलाउनेछौं । यो सवालमा कुनै मोलमोलाई हुनेछैन भन्ने कुरा आममतदातासमक्ष विश्वास दिलाउन चाहन्छु ।
अन्त्यमा, रुप्से संवादमार्फत् केही भन्नुपर्ने छ कि ?
स्थानीय तहको निर्वाचन भनेको हिँजोको गाउँ विकास समितिको जस्तो होइन । बेनी नगरपालिकालाई आगामी पाँच वर्षमा कस्तो बनाउने भन्ने विषय त्यहाँ कस्तो जनप्रतिनिधि आउँछ भन्ने महत्वपूर्ण हुन्छ । त्यसैले बेनी नगरवासी आम मतदाताहरुले कुरा गर्नेभन्दा परेका बेला जनताको घरदैलोमा उपस्थित हुने जनप्रतिनिधि छनोट गर्नुहुन्छ भन्ने विश्वास मैले गरेको छु । अर्को कुरा, आगामी पाँच वर्षमा बेनी नगरको विकास गर्ने नेकपा एमालेको दृष्टिकोण के हो भन्ने कुरा हामीले प्रतिबद्धतापत्रमा विषयगत रुपमा र प्रष्टसँग उल्लेख गरेका छौं । सोझा, सीधा मतदातालाई दबाव र प्रभावमा पारेर होइन, बकाइदा प्रतिबद्धतापत्रमा उल्लेख गरेअनुसार नै हामी काम गरेर देखाउनेछौं । प्रतिबद्धतापत्र भनेको राजनीतिक दलले आम नागरिकसमक्ष सार्वजनिक रुपमा खाएको कसम हो । त्यसैले चुनावमा घोषणापत्रको आवश्यकता नदेख्ने, बनाइहाले पनि एकपाने पर्चा छापेर ठूल्ठूला कुरा गर्नेभन्दा हिँजो पनि जनताको सुखदुःखमा भिजेका, प्रतिबद्धतापत्रमार्फत् बेनी नगरको योजना र कार्यक्रम प्रस्तुत गरेका नेकपा एमालेका जनप्रतिनिधिहरुलाई आफ्नो अमूल्य मत दिएर समृद्ध र सुन्दर बेनी नगरको निर्माणको जिम्मा दिन म बेनी नगरवासी दिदीबहिनी, आमाबुबा तथा दाजुभाइहरुलाई हार्दिक अनुरोध गर्दछु ।
अन्त्यमा, चुनावी सभाको बेफुर्सदीका बीचमा पनि यहाँ तोरीपानीसम्म आएर मलाई आफ्नो भनाइ राख्ने अवसर दिएकोमा रुप्से दैनिक र तपार्इँहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । धन्यवाद !