बागलुङ, ६ मंसिर – युवा नमूना संसदका प्रमुख प्रतिपक्ष दलका नेता बिषेश पराजुलीले सरकारका कामकारवाहीमा ढीला सुस्ती भएको टिप्पणी गर्दा सांसदहरुले तालीको बर्षा गरे । जरुरी महत्वका मुद्दामा पनि सरकार मौन रहेको भन्दै टिप्पणी सहित ध्यानाकर्षण गराएपछि प्रधानमन्त्रीले तत्काल काम थाल्ने प्रतिवद्धता व्यक्तगर्न बाध्य भए ।
देशमा बढेको भ्रष्ट्राचार, संवैधानिक पदमा नियुक्तीमा राजनीतिक हस्तक्षेप, सिमा विवाद, युवा रोजगारी लगायतका बिषयमा उनले युवा सरकारको ध्यानाकर्षण गराएका थिए । युवा सभामुखको भूमिकामा रहेकी चित्रा थापा मगरले शुन्य समय, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, प्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण लाइ समेत शिलशिलाबद्ध रुपमा संसद बैठक संचालन गरेकी थिइन् । युवा सांसदहरुले पनि जल्दाबल्दा एजेण्डाहरु उठाएर सरकारको ध्यानाकर्षण गराए । ती एजेण्डालाइ युवा प्रधानमन्त्री गणेश शर्मा र मन्त्रीहरुले सम्बोधन गरेका थिए ।
यस्तो अभ्यास बागलुङका युवाहरुले आइतवार होटल पिस प्यालेसको सभाहलमा गरेका हुन् । राजनीतिक नेतृत्व र संसदीय परंपरालाइ घृणाको रुपमा हेर्न थालेका युवालाइ पुन राजनीतिक क्षेत्रमा आर्कर्षित गर्नका लागि नमूना युवा संसद संचालन गरिएको थियो । व्यवस्थापिका संसद जस्तै व्यवस्थापन गरेर आइतवार उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा १५ बर्षदेखि २५ बर्ष समूहका युवाले व्यवस्थापिका संसद, कानून निर्माण गर्ने प्रकृया र कानूनको महत्व बारेमा सांसदको भूमिकामा बसेर छलफल र बहस गरेका थिए । उनीहरुबाटै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, सचेतक र मन्त्री बनेर सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने तथा कानूनी प्रकृया बारेमा पनि प्रष्ट्याउने काम गरे । कार्यक्रममा उपस्थित भएका दर्शक र नेपालको व्यवस्थापिका संसदका सांसदले पनि उनीहरुको नमूना भूमिका लाइ प्रसंसा गरे ।
उपस्थित सांसदले उनीहरुले उठाएका मुद्दालाइ संसदमै उठाउन सकिने पनि बताए । युवाहरुले देशको शिक्षा नीतिले अपांग, गरिव र दलितलाइ अझै अवसर नदिएको बताएका थिए । त्यस्तै लागू औषध दुव्र्यसनमा फसेका युवालाइ शिक्षा, चेतना र रोजगारीमा लगाउन राज्यलाइ घचघच्याए । अहिले पनि महिला हिंसा उस्तै भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै बैदेशिक रोजगारीले रेमिट्यान्स भित्राएपनि त्यसलाइ सदुपयोग गर्न नसक्दा विकास निर्माणका काम ठप्प भएको टिप्पणी समेत गरे । बरु रेमिट्यान्सले विकृति भित्राएको र केही समयमै बिना उपलब्धी उक्त रकम खर्च गरेर सकिने गरेकोमा उनीहरुले चिन्ता व्यक्त गरे । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन), स्थानीय युथ अफ बागलुङ र सेद द युथ बागलुङले यो अभियानको आयोजना गरेका थिए । त्यस्तै स्थानीय गाजा डेभलपमेन्ट फाउन्डेसन, नवमालिका सहकारी संस्था र केही गैरसरकारी संस्थाले पनि सहयोग गरेको युएनडिपीका संसद सहयोग परियोजनाका टिम लिडर डिलादत्त पन्तले बताए । यो अभियानलाइ सातवटै प्रदेश सम्म लगेर युवाहरुको क्षमता विकास गर्ने लक्ष रहेको पनि उनले बताए । ‘नेपालले लिएको सहश्राब्दी विकास लक्षको अभियानलाइ पुरा गर्न युवालाइ राजनीतिक ज्ञान दिनुपर्ने छ’ पन्तले भने, ‘युवाहरु सचेत बनेनन् भने भोलीको राजनीतिमा वितृष्णा आउने र देशको मुल कानून बनाउने स्थानमा अध्ययनशिल र सक्रिय युवा नपुग्ने डर भएकोले यो भूमिका शुरु गरिएको हो ।’ एकदुइ दिनको तालिममा खारिएका युवाले देशको वर्तमान एजेण्डालाइ उठाउन सकेभने भोलीका दिनमा पनि अझै सक्रिय बन्ने र राजनीतिक नेतृत्व लिन कोशिस गर्ने वातावरण आउने उनले बताए ।
कार्यक्रममा युवाहरुले उठाएका एजेण्डालाइ संसदमा उठाउने बागलुङका सांसद प्रकाश शर्मा पौडेलले बताए । उनले संसदमा उठाउनुपर्ने एजेण्डा युवाकै मुखबाट आउनुले संसदलाइ मार्ग निर्देश गरेको धारणा राखे । साथै यो अभियानलाइ अझ जिल्ला जिल्लामा पु¥याउन म्याग्दीका सांसद नवराज शर्माले आग्रह गरे । ‘युवाको क्षमता विकास मात्र नभइ आम जनताको आ“खा खोल्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुन्छन्’ शर्माले भने ।
आइतवार भएको कार्यक्रममा आयोनका अध्यक्ष हिमाल महत, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, सहभागि निकिता थापा, युवा अभियानका रामचन्द्र गौतम लगायतले पनि युवाहरुको क्षमतालाइ राज्यले कदर गर्नुपर्ने, देशमै रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतको माग गरेका थिए । संसदले बागलुङ घोषणापत्र समेत जारी गरेर संसदीय अभ्यासको समापन गरेका थिए ।