दिलिप पौडेल
सडक विकासको पहिलो खुड्किलो हो । यातायात नभए जीवननै अधुरो हुन्छ । मुलुक संघीय ढाँचामा गएपछि प्रदेशगत आधारमा विकासको चर्चा चलेको छ ।
अहिलेको बाँडफाँडमा प्रदेश नं ४ जलश्रोत र पर्यटनमा धनी छ । दुई छिमेकी चीन र भारतसँग सीमा जोडिएको यो प्रदेश सडक पूर्वाधार खाकाको रुपमा पनि अघि देखिएको छ । यही प्रदेश छिचोलेर जाने निर्माणाधीन राष्ट्रिय प्राथमिकताका दुई सडक मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर छन् । यी सडक सरकारको उच्च प्राथमिकतामा रहेकोले ढिलोचाँडो निर्माण हुने सम्पन्न हुने निस्चित छ, किनकी हरेक वर्षको बजेट बक्तव्यमै यी दुई सडक समेटिने गरेका छन् ।
सडकले पूर्णता पाए भने यसक्षेत्रमा आर्थिक विकास सहित अवसरको खोजीमा सारथी बन्नेछन् । कालीगण्डकी करिडो मुस्ताङको कोरलादेखि म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, नवलपरासी सहित भिमकाय अर्थतन्त्र भएका चीन र भारतलाई समेत जोड्छ । ४ सय ३५ किलोमिटरको करिडोरमा बागलुङ र गुल्मीको केही भाग बाहेक सबै ठाउँमा ट्रयाक खोलिसकेको छ ।
त्यसै गरी करिब १८ सय किलोमिटर लामो मध्यपहाडी लोकमार्ग नेपाल—भारत सीमामा पर्ने पूर्वको पाँचथर चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग प्रदेश नं ४ का गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ गरी छ जिल्ला सहित २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको बैतडीको झुलाघाट नेपाल—भारत सीमानामा पुग्छ ।
यी दुई सडकले प्रदेश नं ४का प्राय सबै जिल्लालाई जोड्ने भएकाले प्रदेशको लागि सडक संरचना निर्माणमा ठूलो खाका बनिसकेको छ । निर्माण सम्पन्न भएपछि यस क्षेत्रको आर्थिक विकासको ढोका खोल्न टेवा पुग्नेछ । स्वाधिन र समृद्ध अर्थतन्त्रको विकास हुन नसक्दा परनिर्भरता बढ्दै गइरहेको अवस्थामा पूर्व—पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग र चीन—भारत जोड्ने कालीगण्डकी करिडोर यी दुई महत्वपूर्ण सडकले यस क्षेत्रका आसपासका बस्तीलाई आत्मनिर्भर बन्न टेवा पु¥याउने छ । यी सडक सम्वृद्धिको आधार बन्न सक्छन् ।
मध्यपहाडी सवा दुई सय बस्तीका करिब पानै करोड जनसंख्यालाइ लक्षित गरेर निर्माण गरिको हो । यो लोकमार्ग वैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, रुकुम हुँदै बागलुङ हुँदै पोखरा, काठमाडौं जाने भएकोले यसको महत्व सहजै अनुमान लगाउन सकिन्छ । बागलुङ खण्डमा बाग्लुङ नगरपालिकाबाट भिमपोखरा दोविल्ला, बिहुँ, दुदिलाभाटी, नरेठाँटी, हटिया, मल्म, रिघा, दगातुन्डाँडा, ग्वालिचौर, भिमगिठे, बुर्तिवाङ, देविस्थान, बोहोरागाउँ, निसी रुकुमबाट जानेछ । बागलुङका १५ गाविसलाई छिचोलेर जाने सडकले आसपासका दर्जनौं गाविसका हजारौं जनताले यसबाट फाइदा लिन सक्नेछन् । मध्यपहाडी राजमार्गकै आसपासमा पर्ने पोखरामा अन्तराष्ट्रिय बिमानस्थल निर्माण अघि बढिसकेको अवस्थामा बागलुङ पश्चिम साविकका जिल्लाका जनताले यसको समेत उपयोग गर्न सक्नेछन् । जब मानिसको मोविलिटी हुन्छ, तब स्वभाविक रुपमा बजारमा आर्थिक क्रियाकलाप बढ्छ । त्यसको फाइदा प्रत्यक्ष स्थानीयले लिनसक्छन् । सरकारले मध्यपहाडी लोकमार्ग नेपालको सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड भनेकोले आगामि कार्यक्रम तय गर्दा यसलाईनै आधार बनाएर तय हुनेछन् ।
कालीगण्डकी करिडोर चीन र भारतसँग व्यापार जोड्ने दोस्रो छोटो मार्ग हुनेछ । यसले दुई देशको व्यापार मात्र नभएर भारतका हिन्दुपर्यटकहरु कालीगण्डकी करिडोर हुँदै मुक्तिनाथको दर्शन गरेर मानसरोवर पुग्नेछन् । तिब्बतका बौद्ध धर्मालम्वी लुम्विनी पुग्ने पनि यही मार्गको प्रयोग गर्नेछन् । अर्बौं जनसंख्या भएका दुई मुलुकबाट फाइदा लिन यो करिडोर उपयोगी हुनेछ । सो सडकको किनारमा देवघाट, मौलाकालिका, केलादीघाट, रिडी, सेतीवेणी, जैमुनीघाट, मोदीवेणी, बाग्लुङ कालिका, वेनी, गलेश्वर, तातोपानी, शिवालय, कागवेनी, मुक्तिनाथ जस्ता धार्मिक स्थलहरु रहेको अझ महत्व रहेको छ । करिडोर आसपासमा रहेका धार्मिक पर्यटकीय रुटमा पारेर भारतीय हिन्दु पर्यटकलाई आकर्षित गरेर फाइदा लिन सकिन्छ । चिनियाँ पर्यटक लुम्विनी पुग्नको लागि यो मार्गको प्रयोग गर्न सक्नेछन् । करिडोर निर्माणसँगै मुस्ताङसँग जोडिएको चीनको कोरला नाका खुलाउन पहल सुरु भएकोले प्रदेश नं ४को लागि सुखद पक्ष हो । अहिले पनि उपल्लो मुस्ताङ र तिब्बको सीमा क्षेत्रमा अन्तरदेशिय व्यापार मेलाबाट उपल्लो मुस्ताङका स्थानीयले दैनिक उपभोग्य बस्तु उपभोग गर्दै आएका छन् । करिडोर निर्माण सम्पन्न भएपछि यस प्रदेशको लागि सो अवसर उपयोग गर्न सक्नेछन् । तातोपानी नाका बन्द भएपछि चीनमा उत्पादिन सामान भारतका बन्दरगाह हुँदै नेपाल आइरहेको अवस्थामा कोरला नाकाहुँदै सामान भित्रिए सस्तोमा उपलब्ध हुन्छ । करिडोरको निर्माण सहित कोरला नाका खुलेपछि चिनियाहरु यस क्षेत्रमा लगानीको लागि तत्पर हुनेछन् । भारतसँगको परिनिर्भरता रहीरहेको अवस्थामा कोरला नाका खोल्न सके परनिर्भरता हट्नेछ । उपल्लो मुस्ताङका स्थानीयले चीनबाट इन्धन(पेट्रोल, डिजेल, ग्यास) प्रयोग गरिरहेको अवस्थामा करिडोर हुँदै यो प्रदेशका स्थानीयले इन्धन समेत उपयोग गर्न बाटो खुल्नेछ ।
कोरला नाका र कालीगण्डकी करिडोरले प्रदेश नं ४को भविस्य सुन्दर बनाउने व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले बताए । ‘हाम्रो प्रदेशको लागि कालीगण्डकी करिडोर र मध्यपहाडी सडक महत्वपूर्ण छन्,’ उनले भने, ‘कोरलासम्म यातायातको पहुँच पुगेकोले कोरला नाका खोल्न सरकारलाई पनि सुझाब दिइसकेका छौं ।’ आयात—निर्यात गर्न उपयुक्त माध्यम हुने रविन्द्र अधिकारीले बताए । ‘हामीले चीनसँग जोडिएका चार नाकाको अध्ययन ग¥यौँ,’ अधिकारीले भने, ‘सीमा सम्मनै यातायात सुविधा पुगेको र भू बनोट हेर्दा कोरला नाका यस प्रदेशको लागि अति आवश्यक छ ।’
यस क्षेत्रका उत्पादनले उचित बजार नपाइरहको अवस्थामा यहाँको उत्पादनलाई स्वदेशमा मात्र नभएर विदेश निर्यात गरेर अर्थोपार्जन गर्नकोलागि यी दुई सडकले ढोका खुल्नेछ । मुलतः कृषि तथा पशुजन्य उत्पादनमा वृद्धी गर्न सकिन्छ । यस क्षेत्रमा रहेका जडिबुटी लगायत साना घरेलु उद्योग स्थापना सहित बजार प्रवद्र्धनमा टेवा पुग्छ । यातायात हुनासाथ उद्योग, कलकारखानाको पनि बाटो खुल्छ । कुनै पनि उद्योगीले आँफै सडक पूर्वाधारमा लगानी नगर्ने भएकोले यसमा सम्भावना उजागर गरेको हो । अहिलेसम्मका सबै उद्योगधन्दाहरु तराई, काठमाडौं आसपासमा केन्द्रीत रहेको अवस्थामा पहाडी क्षेत्रमा पनि त्यहाँको उपयुक्तता कच्चा पदार्थ अनुसार उद्योग सञ्चालन गर्नुपर्छ भन्ने बहस सुरु भएको छ ।
यी सडकले यस क्षेत्रमा रहेका नदी तथा खोलामा जलविद्युत आयोजनाको लागि समेत लगानीकर्ताले तत्परता देखाउन थालेका छन् । कालीगण्डकी करिडोर २सय ५०देखि ४ हजार मिटरको उचाईमा रहेकाले यो सडक निर्माण गरेपछि विद्युत उत्पादनमा समेत प्रचुर सम्भावना रहेको छ । यही क्षेत्रबाट राष्ट्रिय स्तरमा अर्बपतिको सूचीमा उक्लिने तयारी गरिरहेका उद्योगीलाई यस क्षेत्रमा लगानी गर्न अभिप्ररित गर्नेछ । मध्यपहाडीले ढोरपाटन सिकार आरक्षको महिमा बढाउँछ । सडक सञ्जालको कारण बागलुङमा विदेशी पर्यटकको आगमन सुन्य जस्तै भएको अवस्थामा अब आशा जगाउने छ ।
पूर्वाधार अभाबले तीब्र बसाइसराई बढिरहेको अवस्थामा यसको रोकथाममा पनि टेवा पुग्नेछ । त्यसको लागि सरकारले मध्यपहाडी राजमार्ग आसपासका १० नमुना शहर बढाउने योजना कार्यान्वयन चरणमा छ । यातायातको सुगमता, जमिनको उपलब्धता, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिति, जनसंख्ययाका आधारमा प्रस्तावित शहर मध्ये यस प्रदेशका बागलुङको बुर्तिवाङ र तनुहँको डुम्रे पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेर काम सुरु गरिसकेको छ । मध्यपहाडी राजमार्गमा सरकारले अप्टिकल फाइबर समेत विच्याउने योजना बनाएकोले टेलिकम्युनिकेसन क्षेत्रमा यहाँका जनताले फाइदा लिनेछन् । गुणस्तरीय टेलिफोन र उच्च गतिको इन्टरनेट सेवाका लागि अप्टिकल फाइबर सञ्जाल विस्तार गर्न लागेको हो ।
यी विविध पाटाले ग्रामिण क्षेत्रमा रोजगारीको अबसर बढाउने छ । कृषि, पशुपंक्षी मन्त्रालय मात्र होइन उद्योग मन्त्रालयले समेत मध्यपहाडी लोकमार्ग आसपासलाई केन्द्र बनाएर आफ्ना कार्यक्रम तय गर्न सुरु गरेका छन् । अर्थतन्त्रलाई बलियो बनाउन उत्पादन बढाउँदै त्यसलाई वितरण प्रणालीमा संयोजन गर्नुपर्छ । आर्थिक क्रियाकलाप बढ्न कृषि, उद्योग, व्यापार, पर्यटनमा लगानी बढाउनु पर्छ । तीनको लागि यी सडक सारथी बनेका छन् ।
Previous Articleप्रजातान्त्रिक संस्कार
Next Article जलाधार क्षेत्रको संरक्षणमा ५१ लाख बढी लगानी