खासगरी मुलुकमा यतिवेला संस्कारको विषय अलि वढि उठ्ने गरेको छ । हरेक क्षेत्र, समुदाय र दलहरुमा समबन्धित विषयको संस्कारको वारेमा वहस हुनु स्वाभाविक पनि हो । त्यसले समाजमा केही सकरात्मक प्रभाव पनि पार्ने गर्दछ । त्यस्तैमध्येको एक संस्कार हो दलहरूमा प्रजातान्त्रिक संस्कार र अभ्यासको विषय । प्रजातान्त्रिक संस्कार र अभ्यासको अभावमा शुन्यतामा झर्ने नेपालका अधिकांश राजनीतिक दलहरूको मुख्य चरित्र बनेको छ । आन्तरिक प्रजातन्त्रको अभाव, पार्टी विधानमा लेखिएअनुसार आन्तरिक निर्वाचन नहुनु र पार्टीमा संस्थाभन्दा नेता या व्यक्तित्वको हैसियत ठूलो हुनु राजनैतिक दलमा रहेका मुख्य समस्या हुन् । यस्तै शुन्यतामा रहेको राजनैतिक दल मध्ये नेपाली काँग्रेस नै पहिलो स्थानमा आउछ । किनकी उसले नै वढि भन्ने गरेको छ कि ऊ मुलुकमा सवैभन्दा बढि प्रजातान्त्रिक छ ।
हुन त नेपाली कांग्रेसले आफ्नो अस्तित्वको ७० वर्ष पूरा गरेको छ । यसबीचमा उसले प्रजातन्त्र र राष्ट्रियताका शक्तिहरूबीच समन्वय बढाउँदै नेपालमा राजनीतिक स्थायित्व ल्याउने र प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको दावी पनि गर्दछ । तर ०६२÷०६३ पछि उसले नेपाली राजनीतिमा आफ्नो निर्णायक हिैसियत गुमाउदै गएको छ । उसले आफैले भन्दै आएको पार्टीका मूल्य, मान्यता र सिद्धान्तमा देखिने गरी सम्झौता गरेको छ । उसलाई आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेप भिञ्याएको आरोपसमेत लाग्ने गरेको छ । मुलुकको सबभन्दा जेठो पार्टीले नै आन्तरिक राजनीतिमा बाह्य निर्देशन लिँदा त्यसले अरू दललाई त्यही रूपमा प्रोत्साहित नगर्ला भन्न सकिन्न । त्यसैले सिद्धान्त या सम्झौता र बाह्य शक्तिसमक्ष समर्पण मुख्य दल र नेतृत्वको नियति बन्न पुगेको छ । यस्तो निराशाजनक र आलोचित राजनीतिक परिवेशमा कांग्रेसले पार्टी अध्यक्ष र संसदीय दलका नेता दुवैमा शेरबहादुर देउवालाई चुनेर विगतका विकृति र विचलन सच्याउने अभिभारा सुम्पेको हो ।
पार्टी सभापतिमा देउवा निर्वाचित भएलगतै नौ वर्षदेखि हुन नसकेको नेपाल विद्यार्थी संघ र अन्य भ्रातृ संगठनहरूको निर्वाचन घोषणाले पार्टीमा आन्तरिक प्रजातान्त्रिक अभ्याससमेत सुरु हुने आशा पनि जगाएको हो । तर सबभन्दा ठूलो पार्टीले तेस्रो ठूलो दलको नेतृत्वमा सरकारमा जाने निर्णय गर्नु या नेविसंघभित्रै गुटरउपगुटको अस्तित्व स्विकारी कोटा पद्धतिअन्तर्गत पद बाँडफाँट गर्ने गरी निर्वाचनमा हस्तक्षेप गर्दा पार्टीको नयाँ नेतृत्वले जगाएको आशा निराशामा बदलिदै गएको छ । अंशबन्डाको राजनीति र बढ्दो गुटबन्दीकै कारण मन्त्रिपरिषद निर्माण भएको तीन साता बित्न लाग्दा पनि कांग्रेसले आफ्ना तर्फका मन्त्रीहरूको पूर्ण सूची दिन सकेको छैन । सिद्धान्त र मान्यताको राजनीतिमा पूर्ण ग्रहण लागेको वर्तमान अवस्थामा पदको सम्भावना समाप्त भएमा नेतृत्वविरुद्ध विद्रोह हुने सम्भावना बढ्छ । त्यसैले आन्तरिक प्रजातन्त्रको भरपर उपयोग गर्ने संस्कार बसाउन सक्नुपर्दछ । प्रजातान्त्रिक संस्कार नै उत्तम हो भन्ने कुरा विर्सन हुदैन ।