तीते करेली
कृष्णराज शर्मा
महाभारतको कथाका प्रमुख पात्र हुन् भगवान श्रीकृष्ण । यस महाकथामा अरू पनि थुप्रै प्रमुख पात्रहरू छन् । तर श्रीकृष्ण सँग जोडिएर आउने महत्वपूर्ण पात्र हुन् अर्जुन । महाभाहारतको युद्धमा पाण्डवको पक्षमा साथ दिने एक्लो श्रीकृष्ण थिए । कुरूक्षेत्रमा अर्जुनको रथ यिनै कृष्णले हाँकेका थिए । भूत बर्तमान र भविष्यका ज्ञाता श्रीकृष्णै हुन् । महाभारतको कथाको श्री र ईतिश्री पनि कृष्णै हुन् । यहाँ यिनै श्रीकृष्णसंग छुटाउनै नसकिने पात्र धनुर्धर अर्जुनको प्रसँग राख्न खोजिएको छ ।
गुरू द्रोणाचार्यका शिष्य मध्येका प्रीय अर्जुन नै थिए । गुरूले आफ्ना शिष्य सबैलाई बराबर शिक्षा दिएका थिए तैपनि अर्जुनले जति अरूले गुरूविद्या हासिल गर्न सकेनन् । उनले दिएको महत्वपूर्ण एउटा विधा थियो धनुर्विद्या । यो विद्यामा उनी सर्वश्रेष्ठ नै बने । विद्या आर्जन गरिसकेपछि एकदिन सबै शिष्यको अन्तिम परीक्षा लिन गुरू द्रोणाचार्यले सबैलाई बोलाए । जमीनमा निश्चल र स्थीर जलकुण्ड थियो । यदाकदा हावाचल्दा अस्थीर पनि हुन्थ्यो । त्यही जलकुण्डमा हेर्दै माथी भित्तामा घुमी राखेको माछामा निशाना दाग्नु पर्ने । यो प्रश्नको हल सबै शिष्यले पालै पालो गर्नु थियो । ताँदो चढाउनु अघि सबैलाई गुरूले सोधेका थिए । अर्थात् प्रश्न बुझ्यौ कि बुझेनौ भन्ने अर्थमा गुरू द्रोणाचार्यले सोधे । के देख्यौ ? कसैले गुरूलाई देखें भन्थे । कसैले जलकुण्ड देखें भन्थे कसैले माछा भन्थे । यसैगरी केकेमा सबैको दृष्टि पुग्यो । निशाना कसैले देखेको बताएनन् । निशाना सबैको फेल भयो । अन्तिममा अर्जुन पुगे । त्यसैगरी सोधे गुरू द्रोणाचार्यले । अर्जुनले भने– मैले माथी घुमीरहेको माछाको आँखा मात्रै देखेको छु गुरूवर ! द्रोणाचार्य मुसुक्क मुस्कुराए र मन मनै भने ल, ओ के ! त्यसपछि अर्जूनले तल जलकुण्डमा हेर्दै माथी ताँदो हाने । जहाँ देखेका थिए त्यहीं अचूक निशाना मारे । माथी घुमी राखेको माछाको आँखामै बाँण गएर रोपियो । आँफूले शिक्षादीक्षा दिएका मध्ये एक शिष्यले गुरूलाई सन्तोष दिलाए । गुरू द्रोणाचार्य अत्यन्त हर्षित बने । प्रसन्न भए । गुरू द्रोणाचार्यले तत्काल अर्जुनलाई ‘सर्वश्रेष्ठ धनुर्धर’ को उपाधी दिए । त्यही समय देखि अर्जूनको दृष्टिको तारिफ गरिन्छ । र कुनैपनि कार्य गर्दा अर्जून दृष्टि दिएर काम तमाम गर्न सक्नु पर्छ भन्ने यौटा नैतिक पाठ हाम्रो समाजमा महाभारतको त्यो सन्दर्भ संग जोडिन्छ । र गरे नहुने के छ र ! असंभव भन्ने शब्दै नदेख्नेहरूका लागि अर्जुन उदाहरणीय प्रतिविम्व हुन् ।
यहि पृष्ठभूमीमा एक दृष्टिविहिनको अर्जुन दृष्टि देखेर म चकित परेको छु । यि दृष्टिविहीनको अर्जुन दृष्टि संसारको सर्वोच्च शीखर सगरमाथाको चूचूरो हो । उनले यो चूचूरो बाहेक अरू केही पनि देखेका छैनन् । उनको बाहिरी दृष्टि नभए पनि दिव्य दृष्टिले त्यही सगरमाथाको चूचूरो मात्रै देख्ने गर्छ । र लागेका छन् त्यही चूचूरो चूम्ने महान अभियानमा । बागलुङको सर्कुवा–२ मा जन्मेका उनी हुन् अमिट केसी । विगत चारबर्ष देखि निरन्तर सगरमाथा आरोहणको अभ्यासमा तल्लीन छन् । दुई छोरा र एक श्रीमतीका धनी हुन् अमिट केसी । यिनको जिम्मामा तीनजना छन् । यो सानो परिवार पाल्ने यौटा सानो जागीर थियो । प्रावि तहमा स्नातकोत्तरको डिग्री रूमल्लीई रहेको थियो । सानोतिनो बहानामा जागीर खोसियो । विदेश पुगेर लाखौं कमाउँदै गाउँघरका शिक्षकले सट्टामा मान्छे राखेर जागीरको पेन्सन पकाउने कति छन् कति ! तर अनुमति मागेर परिवारको लागि दुईचार दिन ढिलो हुँदा उनको रोजिरोटी हरियो । स्वभावैले आँखा नदेख्ने,कान नसुन्ने र बोली नफूट्नेहरूमा हल्का घमण्ड रहन्छ । यस्तो घमण्डका प्रति सपाङ्गहरूमा केही हदसम्म सहनीयता रहनुपर्छ । अत्यन्त मानवीय संवेदनशीलताको आवश्कता हुनु पर्थ्यो त्यसो नभएको उनका गुनासाहरूले बताउँछन् । तर सपाङ्ग सरह अपाङ्ग प्रति गरिएको व्यवहार अत्यन्त निन्दनीय हुन्छ । जसले यस्तो दूर्व्यवहार गर्यो ऊ प्रति मेरो मन नाखुश छ । उल्टै उनीहरूलाई बिचरा भन्न रूचाउँछु म । यसरी उनी निरीह बने तर सपाङ्ग भन्दा दशगुणा बढी हौशला लिएर केही गरेर देखाउने अठोटका साथ आज यो अभियानमा होमिएका छन् । उन्को दिव्य चक्षु छ । त्यही चक्षुले उनलाई सगरमाथाको चूचूरोमा अभिप्रेरित गरेको छ । यही अभिप्रेरणाले दृष्टी विहीन अमिट केसी सगरमाथा आरोहण अभियानमा होमिएका छन् । सगरमाथाको शिखर आरोहण गर्न अत्यन्त जोखिम मोल्नु पर्दछ । यो अभियानको थालनी देखि आजसम्म चूचूरो चूमेकाहरूको संख्या सयौं पुगेको छ । खराब मौसम र बिबिध कठिनाईका कारण सयौंले वीचमै आरोहण परित्याग गरेका छन् । सयौंले आफ्नो सुन्दर जीवन गुमाएका छन् । यि सबैकुराका जानकार छन् अमिट केसी । नो रिस्क नो गेम् भन्ने पनि राम्रै थाहा रहेछ उनलाई । जोखिम संग पौंठे जोरी नखेली लक्ष हासिल गर्न सकिदैंन भन्ने उनलाई हरहमेशा हेक्का छ । र एउटा साहसिक निर्णयका साथ यो महाअभियानमा अर्जुन दृष्टि गाडेका छन् अमिट केसीले ।
बागलुङको दुर्गमा गाउँ सर्कुवाको निम्न वर्गीय परिवारमा जन्मिएका उनी दृष्टिविहिन माहिला छोरा हुन् । जेठा दाज्यू भारतीय सेनामा सेवागर्दै सेवानिबृत्त भएका छन्भने उनका भाई वैदेशिक रोजगारीको शिलशिलामा खाडी राष्ट्रमा पुगेका छन् । आफ्नै आँट मिहिनेत र परिश्रमले डिग्री हासिल गरेका यिनी लामो समयदेखि बागलुङ बजारमा भाडामा बस्दै आएका छन् । श्रीमती र दुई छोराको पालनपोषणका लागि जीवन संगीनीले यौटा सानो श्रृंगार पसल चलाएकी छिन् । जीवन संगिनी दुर्गा केसी भन्छिन्– “वहाँले सगरमाथा नचढी छोड्दिन भन्ने जिद्दि गर्नुहुन्छ । मैले जसरी पनि यि काखे बालकलाई हुर्काउनु छ पढाउनु छ । पहिला त मै बाधक बनेर कराउँथे । अहिले वहाँको अथक प्रयास देखेर मैले नै हौशला दिने गरेकी छु । चारबर्ष देखि निरन्तर अभ्यासका लागि दौडि रहनु भएको छ । हामीसंग भएको सबै पैसा त्यतै सकियो । कसरी र कसको सहयोगले यो पुरागर्नु हुन्छ । चिन्ता लाग्छ, मायाँ लाग्छ के गर्ने !’’ अत्यन्त भावविह्वल बन्दै श्रीमानको सफलताको लागि अपील गर्न चाहन्छिन् अमिटकि जीवन संगिनी दुर्गा केसी ।
वास्तवमै अमिटको यो अभियानलाई यतिखेर सहयोगी हात, समर्थन र हौशलाको खाँचो छ । परिवारको तर्फबाट आर्थिक व्ययभार उठाउन त के थपथापको पनि गुञ्जाएस देखिंदैन । उनको एक्लो प्रयासले पनि असंभव छ । सगरमाथामा पाईला राख्ने मात्र उनले हिम्मत जुटाएका छन् । अरूबाँकी जिल्लाबासीको सहोगको अपेक्षा गरेका छन् । एक पूर्ण दृष्टिविहिन व्यक्तिले नेपालको पहिलो दृष्टिविहिन व्यक्तिका रूपमा संसारको सर्वोच्च शीखर सगरमाथा आरोहण गर्ने साहस र प्रयत्न गर्नु नै बागलुङ जिल्लाका लागि सुखद विषय पनि हो ।
करिव एक करोडको खर्चलाग्ने यो कार्यका लागि उनले सरकारी स्तरबाट प्रयास जारी राखेका छन् । पर्यटन मन्त्रालयबाट स्वीकृति प्राप्त भैसकेको छ । लगभग दशलाख रूपैयां सरकारी तवरबाट प्राप्त भैसकेको अमिट केसी बताउँछन् । यसअघि आरोहण अभ्यासका क्रममा लाखौं खर्च गरिसकेका छन् । ०७२ साल बैशाख ८ र सोही साल चैत्र ८ गते क्रमशः सोलुखुम्बु जिल्लामा रहेका दुई हिमाल आइसल्याण्ड (६१८६ मी.) र मेरापीक (६६५४ मी.) हिमाल आरोहण गरिसकेका छन् । आगामी चैत्रदेखि यो महाअभियानको अन्तिम तयारीमा जुट्दै छन् । अमेरिकी दृष्टिविहीन एरिक र दुई हात नभएका नेपाली नागरिक सुदर्शन गौतमले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । यसै क्रममा पहिलो दृष्टिविहिन नेपाली नागरिकको रूपमा अमिट केसी सगरमाथाको शीखर चुम्न लम्केका छन् । उनको यो साहसिक यात्राका लागि आ–आफ्नो क्षेत्र र ठाउँबाट सहयोगको लागि सबैले सहयोगका हात बढाउनु जरूरी छ । सक्षम र सम्पन्नले पनि आँट देखाउन नसकेको अवस्थामा यौटा दृष्टिविहिनले गरेको साहसिक कार्यमा हामी सबैले साथ दिनु पूण्यकर्म हुनेछ । अमिट केसीमा ठूलो पहुँच छैन त के भो ? उनीमा अदम्य साहस छ यो उनले आँटेको महानकार्यमा बागलुङले गर्नुपर्ने सहयोग त हो नै हो,पुरै देशले सहयोग गर्नु पर्दछ । यो पनि साहसिक हिमाल आरोहणको खेल हो । सफलता प्राप्त गरेपछि पहिला देशकै झण्डा फर्फराउने छ । देशको ईज्जत र गौरब बढ्ने छ । नेपालीको शान बढ्ने छ । दृष्टिविहिन अमिट केसीको अर्जुन दृष्टि कामयाव बनोस् । बागलुङकि कालिका भगवतीले उनको अभियान सफल पार्न आशीर्वाद दिऊन् । उनको यो महाअभियानको लागि देश विदेशमा रहनु हुने सबै नेपालीको साथ सहयोग र शुभकामना रहोस् । मेरोपनि दिलैदेखि शुभकामना !!!