नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका नवराज शर्मा चयन भएका छन् । नेकपा एमालेको दोश्रो केन्द्रीय कमिटी बैठकले म्याग्दीका शर्मालाई गण्डकी प्रदेश अध्यक्षमा चयन गरेको हो । शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।
बि.सं. २०४१ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा २०४२ अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति म्याग्दीको सभापति भएका शर्मा यसअघि गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य थिए ।
शर्मा तत्कालिन समयमा भुमिगत राजनीतिमार्फत जिल्लामा संगठन विस्तारमा केन्द्रित भएका थिए । नेकपा एमाले म्याग्दीमा शालिन ब्यक्तित्वको शर्माले संविधानसभाको सदस्यपछि लामो समयसम्म प्रमुख भूमिकामा नरहेपनि संगठन विस्तार सहितका पार्टीका गतिविधिमा निकै सक्रियतापूर्वक लागेका थिए ।
शर्मा पार्टीको कुनै पनि जिम्मेवारी पदमा नहुँदा पनि नेकपा एमालेको पार्टी कार्यालय भवन निर्माणको जिम्मेवारी लिएर सम्पन्न गरेका थिए । त्यस्तै शर्मा २०४७ पहिलाको नेकपा मालेको भूमिगत कालिन ७ सदस्यीय जिल्ला कमिटिका सदस्य समेत हुन् ।
एमालेमा पद भन्दा पनि आफ्नो जिम्मेबारीलाई प्रमुख प्राथमिकता दिने नेता शर्माले पार्टीले खटाएको जिम्मेवारीलाइ पुरा गर्ने र पार्टीको उचाइ थप मजबुत बनाउनका लागि आफू सँधै खट्ने बताउछन् । ‘हामीले काम गदैं जाँदा पार्टीबाट जिम्मेबार पनि आउँछ,‘आफ्नो जिम्मेबारी अनुसार काम गरेपछि सफलता मिल्छ’ शर्माले बताए । उनले गण्डकी प्रदेशमा पार्टी बलियो बनाउन लागिपर्ने बताए ।