म्याग्दी, २ मंसिर – जिल्लाको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमखी क्याम्पसमा आयोजित धार्मिक तथा शैक्षिक महोत्सवको सातौं दिन बुधबारसम्म झण्डै सवा दुई करोड रकम सङ्कलन भएको छ । महोत्सवको सातौं दिनको ७६ लाख पाँच हजार चारसय ३५ रुपैयाँसहित हालसम्म दुई करोड २१ लाख ६५ हजार पाँचसय ९७ रुपैयाँ आर्थिक सङ्कलन गरिएको हो । बुधबार म्याग्दीबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँले सांसद विकास कोषबाट क्रमशः चारचार लाखका दरले १२ लाख रुपैयाँ सहयोग गरेको महायज्ञ लेखा उपसमितिले जनाएको छ । यसैगरी म्याग्दी बहुमुखी क्याम्पसको बिएतर्फको प्रथम व्याज २०५७ का पूर्व विद्यार्थीहरुले दुईलाख ३२ हजार सहयोग गरेका छन् । त्यस्तै पूर्वसभासद गोविन्द पौडेल तथा मनोज पौडेल र ठाकुरप्रसाद पौडेलबाट दुईलाख छ हजार एवं बेनीका शेरबहादुर केसी, खेम केसीलगायतबाट दुईलाख दुईहजार रुपैयाँ सहयोग भएको लेखा संयोजक कृष्णबहादुर थापाले जानकारी दिए । महायज्ञको अवसरमा शालिग्राम परिक्रमा, धनधान्याञ्चल, तुलादान, ब्रतबन्धलगायतका धार्मिक कार्यहरु पनि भैरहेको र त्यसबाट समेत आर्थिक सङ्कलन भएको उनले बताएका छन् । ‘विकासका लागि पुँजी, प्रविधि र शिक्षाबीचको एकता, स्नातकोत्तर एवं प्राविधिक शिक्षा म्याग्दीको आवश्यकता’ भन्ने मूल नारासहित म्याग्दी बेनी धार्मिक एवं शैक्षिक महोत्सव तथा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ । म्याग्दी जिल्लाकै उच्च शिक्षाको शैक्षिक धरोहर मानिने म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा स्नातकोत्तर तह थप तथा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले महायज्ञ लगाइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए । महायज्ञमा प्रमुख कथावाचक पण्डित दिनबन्धु पोखरेल र सहवाचक ध्रुवशरण बस्यालले धार्मिक तथा शैक्षिकलगायतका विषयमा कथावाचन गरेका छन् ।