बागलुङ, २ मंसिर – धौलागिरी अञ्चल बस व्यवसायी समिति बागलुङले मंगलबारदेखि काठमाण्डौका लागि शौचालय जडित पर्यटक बस संचालन गरेको छ । पुरानो बसपार्क बाट छुटेको उक्त बसलाई प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले उद्घाटन गरेका थिए ।
हरियो नम्बर प्लेटमा दर्ता भएको बसले स्तरीय सेवा सहित राजधानीका लागि नियमित छुट्ने सेवा दिने समितिका अध्यक्ष कुमार खड्काले बताए । उक्त बसभित्रै मिनिबारको व्यवस्था समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले धौलागिरी बस समितिले पछिल्लो समयमा दिल्लीका लागि समेत स्तरीय बस सेवा संचालन गरेको र हाल पर्यटक लक्षित सेवा दिएकोमा खुसी व्यक्त गरे । साथै उनले जनतालाइ सेवा दिएर फरक रोजाइको व्यवस्था गरेको भन्दै आजकलका यात्रीले शुल्क भन्दा स्तरीय सेवा चाहेको धारणा राखे ।
उक्त अवसरमा बागलुङ उद्योग बाणिज्य संघका कावा अध्यक्ष युवराज राजभण्डारी, केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले स्वच्छ प्रतिष्पर्धाको वातावरणमा यात्रीलाइ सेवा सुविधा दिन समितिले थालेको अभियानलाइ स्वागत गरेका थिए ।
समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उमेश केसीले स्वागत र संचालन ख्यामराज लामिछानेले गरेका थिए ।