पोखरा, २ मङ्सिर – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भागबण्डा मिलेको छ । महाधिवेशन सुरु भएको ६ दिनपछि तरुण दलको भागबण्डा मिलेको हो । जसअनुसार, नेताहरुबीच सहमतिका आधारमा अध्यक्षमा पार्टी सभापति शेरबहादुर देउवा निकट जितजंग बस्नेत र उपाध्यक्षमा प्रभावशाली नेता कृष्णप्रसाद सिटौला निकट उत्तमकुमार चापागाईं चयन भएका छन् । यस्तै महासचिवमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा बालकृष्ण खाँड निकट विद्वान गुरूङ चयन भएका छन् ।
पौडेल समूहबाट बीपी कोइरालाका नाति सिद्धार्थ कोइराला महासचिव बन्ने व्यापक हल्ला थियो । यसका लागि कांग्रेस महामन्त्री शशांक कोइरालाको पनि व्यापक दबाब थियो । तर, अन्ततः पौडेल पक्षबाट महासचिवमा शाही छानिएका हुन् । यसका अतिरिक्त महासचिवमा प्रकाशमान सिंहका छोरा र डा. रामशरण महतका भतिज रमेश महतको दाबी थियो ।
बाँकी पदाधिकारीको चयन अब बस्ने निर्देशक समितिको बैठकले गर्नेछ । कार्यसमितिको अन्य सदस्यको टुंगो भने काठमाडौं पुगेपछि सार्वजनिक गरिने भएको छ । अहिलेसम्म ६१ सदस्यीय रहेको कार्यसमिति अब भने समावेशी प्रतिनिधित्वको आधारमा ९५ सदस्यीय बनाइएको छ ।
Previous Articleएआईजी बढुवाको सात महिनापछि बल्ल मुख्यालयमा
Next Article २०७३ मंसिर २ गते बिहीबारको राशिफल