नेकपा एमालेमा आबद्ध महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै अनेमसंघका जिल्ला अध्यक्ष थमसरा पुनले एमालेमा आबद्ध महिलाहरुलाई वैचारिक र साङ्गठनिक रुपमा सशक्त बनाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताइन् ।
भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिँदै नेकपा एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय सदस्य नवराज शर्माले माक्र्सवादका अनुसार यो संसार मजदुरहरुले बनाएको बताए । संविधान सभा सदस्य समेत रहेका कार्यालय सदस्य शर्माले प्रशिक्षण कार्यक्रममा द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्तलगायत विषयहरुमा सहजीकरण गरेका थिए ।
यसैगरी अगुवा भेलामा प्रशिक्षण दिँदै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एमालेको सरकार ढलाएर बनेको कांग्रेस नेतृत्वको गठबन्धन सरकारले अहिलेसम्म मन्त्रीपरिषदलाई पूर्णता दिन नसक्नु लाचार बनेको आरोप लगाए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले पार्टी र जनवर्गीय सङ्गठनको अन्तसम्बन्धलगायत विषयहरुमा सहजीकरण गरेका छन् ।
त्यस्तै एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं निवर्तमान सामाजिक विकास मन्त्री नरदेवी पुनले महिला आन्दोलनको इतिहास र अनेमसंघको भूमिका, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदीले अहिलेको राजनीतिक अवस्था र हाम्रो दायित्व तथा अनेमसंघका जिल्ला अध्यक्ष एवं धवलागिरि गाउँपालिकाको अध्यक्ष थमसरा पुनले सङ्घीयताको कार्यान्वयनसँगै केन्द्र, प्रदेश र स्थानीय सरकारले गरेको कामको विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको अनेमसंघले जनाएको छ ।
Previous Articleप्रवासी नेपाली मञ्चको प्रतिनिधिमण्डलले गुनासो सुनाउने क्रममा संगठन विभाग प्रमुख बिष्णु पौडेललाई भेटेर सुझाए प्रवास कमिटीहरु समस्याहरु
Next Article प्रतिपक्षको विरुद्धमा सरकार