म्याग्दी उद्योग वाणिज्य संघले ५० वर्ष पुगेको स्वर्ण वर्षको अवसर पारेर जिल्लामा कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री वितरण गरेको छ । संघले जिल्लाको बेनी अस्पताल, ६ वटा स्थानीय तह, म्याग्दी बालगृह र पत्रकार महासंघ म्याग्दीलाई गरी १ लाख ७० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको जनाएको छ ।
हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय पुनः कारोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएका कारण संक्रमण न्युनीकरणका लागि माक्स, स्यानीटाईजर र ग्लोव्स सहयोग गरिएको संघका अध्यक्ष बेलबहादुरले कटुवालले जानकारी दिए । जिल्लामा पछिल्लो तथ्याङ्कअनुसार हाल १ सय ४ जना कोरोना भाइरसका सक्रिय संक्रमितहरु रहेका छन् ।
बेनी अस्पतालमा आयोजना गरिएको स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठ, महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमकुमार कर्मचार्य र मानार्थ सदस्य नैनकुमार श्रेष्ठले बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर देवान कार्की, नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्य र नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष प्रकाश पौडेललाई स्वास्थ्य सामग्रीहरु वितरण गरेका थिए ।
संघको पालिकास्तरमा रहेका इकाइहरुमार्फत स्थानीय तहहरुलाई सामग्री उपलब्ध गराइने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव अमित बानियाँले जानकारी दिएका छन् । उनका अनुसार वि.सं. २०२७ सालमा स्थापना भएको संघमा हाल २ हजार भन्दाबढी सदस्य रहेका छन् । जिल्लाको विकास निर्माण, पर्यटन र आर्थिक उपार्जनका क्षेत्रमा म्याग्दी उद्योग वाणिज्य संघले आवश्यक भूमिका खेल्दै आइरहेको छ ।