बागलुङ, २९ कात्तिक – जिल्लाको रिघा गाविस–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध बिहार’ निर्माणको लागि प्रवासमा रहेका नेपालीले २३ लाख सहयोग गरेका छन् ।
विभिन्न ४७ मुलुकबाट संकलित २३ लाख ८० हजार १ सय २१ बिहारलाई हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली संघका प्रतिनिधि सोम सापकोटाले सो रकम बराबरको चेक बिहारका अध्यक्ष शेरबहादुर घर्ती मगरलाई प्रदान गरे ।
अन्तराष्ट्रिय आर्थिक सहयोग अभियान समितिका संयोजक रहेका सापकोटाको पहलमा उक्त रकम संकलन भएको हो । बुद्ध बिहार निर्माणमा सहानुभूति राख्ने सयौँ व्यक्तिले सहयोग गरेको उल्लेख गर्दै सापकोटाले विश्वका सानादेखि ठूला देशमा रहेका नेपालीबाट रकम उठेको बताए ।
बुद्ध धर्मको दर्शन प्रवद्र्धनसंगै पर्यटन विकासमा टेवा पुग्नेमा विश्वास लिएको उनको भनाई छ । बढीजसो रकम हङकङ, बेलायत, बेल्जियम, जर्मन, कतार लगायतका देशमा पुगेका बागलुङले र छिमेकी जिल्लाका प्रवासीले सहयोग गरेका छन् । बिहार समितिले उक्त रकम बिहारको भौतिक संरचना निर्माणमा खर्चने जनाएको छ ।
बौद्ध धर्मावलम्बी लगायत सबै समुदायको धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलका रुपमा बिहारलाई विकास गरिने समितिका अध्यक्ष घर्ती मगरले बताए । करिब दुई करोडको लागत योजना तयार गरेर बिहार निर्माणको काम अघि बढेको उनको भनाई छ ।
बिहार निर्माण गर्न मात्रै ३० लाख लाग्ने अनुमान गरिएको छ । त्यसबाहेकका संरचना निर्माणमा थप खर्च हुने समितिले जनाएको छ । गुम्बा, चैत्य, आश्रम, पोखरी, बुद्ध मूर्ति, सडक, वनभोज स्थल, प्रवेशद्वार लगायतका संरचना र पूर्वाधार निर्माणको योजना बनाईएको छ । समितिले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्तुपा भने निर्माण गरिसकेको छ ।
गाविस, जिविस, पर्यटन मन्त्रालय, सहरी विकास मन्त्रालयबाट पनि सहायता लिएर स्तुपा निर्माण गरिएको हो । स्थानीय दाताले समेत स्तुपा निर्माणमा सहयोग गरेका छन् ।
बागलुङ सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित रिघा गाविसमा बन्न लागेको बिहारले पर्यटनसंगै आर्थिक, सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास लिईएको छ ।
Previous Articleप्रचण्ड सरकारका सय दिनः हर्ष न विस्मात
Next Article चिसो बढेपछि बालबालिका बेसीमा