बागलुङ, २९ कात्तिक – पश्चिमाञ्चल फाइनान्सको ५ करोड ३३ लाख हिनामिना गरेको आरोपमा तत्कालीन शाखा प्रबन्धक गणेशप्रसाद पौडेल पक्राउ परेका छन् । फाइनान्सको बेनी शाखा प्रमुखका रूपमा काम गर्दा संस्थाको रकम हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पौडेललाई पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एसपी दिवस लोहनीका अनुसार उनले अर्को बैंकमा रहेको फाइनान्सको खाताको रकम निकाली आफैंले प्रयोग गरेको, बैंकमा जम्मा गर्न भन्दै लिएको रकम जम्मा नगरेको र संस्थाको मुद्दती खाताका ग्राहकको कीर्ते हस्ताक्षर गरेर आफैंले पैसा निकालेको खुलेपछि पक्राउ गरिएको हो ।
ब्युरोले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उनले चेकमार्फत गरिमा विकास बैंकमा रहेको फाइनान्सको खाताको १ लाख ३८ हजार रुपैयाँ निकालेर आफैंले प्रयोग गरेका थिए । यसैगरी, उनले २ करोड ५३ लाख रुपैयाँ बैंकमा जम्मा गर्ने भन्दै फाइनान्सबाट निकालेर जम्मा नगरी आफैंले अपचलन गरेको अनुसन्धानमा खुलेको छ ।
ब्युरोको विवरणअनुसार उनले संस्थाका ग्राहकका मुद्दती खाताबाट कीर्ते हस्ताक्षर गरेर १ करोड ५ लाख निकालेर अपचलन गरेको देखिएको छ भने शाखा प्रमुखको हैसियतले ७ जना ऋणीलाई दिएको ३७ लाख ऋण चुक्ता हुनु अगाडि नै धितो फुकाएर संस्थाको कर्जा जोखिममा पारेको खुलेपछि पक्राउ गरी अनुसन्धान अगाडि बढाएको लोहनीले जानकारी दिए ।
पश्चिमाञ्चल फाइनान्स बेनी शाखाका पूर्व प्रमुख पक्राउ
Previous Articleनेटो प्रमुखले दिए ट्रम्पलाई चेतावनी
Next Article संविधानका प्रावधान यसरी कुल्चन्छ अख्तियार