ब्रसेल्स, २९ कात्तिक – उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का महासचिव जेन्स स्टलटेनबर्गले नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘एक्लै जानु’ युरोप र अमेरिका दुवैको विकल्प नभएको चेतावनी दिएका छन् । उनले पश्चिमा शक्तिका लागि यो पुस्तामा सुरक्षा सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको बताए ।
नवनियुक्त अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अमेरिकाले अमेरिका–युरोपसहितको पश्चिमी सैनिक गठबन्धन (नाटो) का लागि खर्च गर्न नहुने र यो पुरानो भईसकेको बताएका थिए ।
ट्रम्पले भनेका थिए, ‘कुनै नेटो सदस्य राष्ट्रमाथि हमला भएमा र उसले आफ्नो भागको रकम नतिरेमा उसको सुरक्षामा सहयोग गर्न जानुअघि अमेरिकाले सोच्ने छ ।’ उनले नेटो सदस्य राष्ट्रले आफ्नो सुरक्षाको खर्च आफैले बेहोर्नुपर्ने बताउँदै आएका छन् ।
बेलायतको अब्जर्भर पत्रिकामा लेख्दै नेटो महासचिव जेन्सल अमेरिकाको यो तर्कमा दम भएपनि केही देशलाई धेरै वित्तीय सहयोग आवश्यक रहेको जनाएका छन् ।अमेरिकाले नेटोको खर्चको ७० प्रतिशत आफैले बेहोर्दै आएको छ । उनले अमेरिकालाई सुरक्षित र स्थिर युरोपमा मात्रै अमेरिकाको हित रहेको स्वीकार गर्न पनि आग्रह गरेका छन् ।
नर्वेका पूर्वप्रधानमन्त्री समेत रहेका स्टोलटेनबर्गले अनिश्चितताको यो समयमा मजबुत अमेरिकी नेतृत्वको आवश्यकता रहेको र युरोपले पनि आफ्नो भागको जिम्मेवारी उठाउनुपर्ने उल्लेख गरेका छन् । उनले अमेरिकामाथि भएको सेप्टेम्बर ११ को आक्रमणमा नेटोले आत्मरक्षाको आफ्नो नियम लागु गरेको स्मरण गराएका छन् ।
Previous Articleबाहिरबाटै भित्रियो करोडौं भारु
Next Article पश्चिमाञ्चल फाइनान्स बेनी शाखाका पूर्व प्रमुख पक्राउ