पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको हिलबाङमा थुनिएको खोलाको पानी बग्न थालेको छ । सोमबार दिउँसो एक्कासी पाँखु सामुदायिक वनबाट खसेको पहिरोले थुनिएको हिलबाङ खोला करिब तीन घण्टापछि पानी बग्न थालेको हो ।
अर्मनका वडा अध्यक्ष भूपेन्द्रबहादुर केसीले थुनिएको खोलामा ओभरफ्लो भएर पानी बग्ने सम्भावना अझै नभए पनि जोखिम भने टरेको बताए । थुनिएको खोलाबाट केही भाग पानी विस्तारै बग्न थालेको अवस्था भए पनि खोला थुनिँदा करिब १५ मिटर गहिरो ताल बनेको छ । पहिरो खस्ने क्रम रोकिएको छैन्भने राती भीषण वर्षा भए थप जोखिम बढ्ने उनले बताएका छन् ।
खोलामा थुप्रिएको माटोको नजिकै पानीको सतह पुगेकाले छेउबाट पानी बग्न थाले पनि जोखिम भने कायमै रहेको प्रत्यक्षदर्शीको भनाइ छ । पानीको सतह घटाउन सम्भव नभए पनि थुनिएको ठाउँबाट बग्ने सम्भावना रहेकाले कुर्सिम्ला र खारापानीका बासिन्दालाई रातको समयमा सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ । लगातार पहिरो खसेपछि खोलाको बहाव रोकिएको थियो । पहिरोले थुनिएको स्थानमा प्रहरीसहितको टोली समेत पुगेको छ ।
रातको समयमा थुप्रिएको पानीको ताल फुट्न सक्ने जोखिमलाई समेत मध्यनजर गरी गाउँपालिकाले प्रभावित क्षेत्र आसपासमा सुरक्षित हुन अपिल गरेको अध्यक्ष सतप्रसाद रोकाले बताए । जोखिमलाई मध्यनजर गरी जनप्रतिनिधिसहितको टोली परिचालन गरिएको बताउँदै उनले साविकको अवस्थामा पानी नबगेसम्म पहिरोस्थलमा निगरानी बढाइएको जानकारी दिएका छन् । ढुङ्गा र माटोले खोला थुनेकाले खोला बग्ने आसपासका क्षेत्रमा कटानको जोखिम रहेको गाउँपालिकाले जनाएको छ ।
Previous Articleनवआगन्तुक प्रजिअलाई उद्योग बाणिज्य संघ म्याग्दीको स्वागत
Next Article गजल