मैले मेरो रङ्ग बदलेको आरोप छ मलाई ।
म हिजो जे थियँ
र आज पनि त्यही छु
न जन्मेको घर फेरेको छु,
न सपनाको सहर छोडेको छु
केवल अगाडि बढेको छु र
पाइलाहरु अगाडि बढेका छ्न /
बदलीएका छन
तर यहाँ मलाई रङ्ग बदलेको आरोप छ।
मैले बसन्तमा जस्तो पालुवा फेर्न जान्दिन
इन्द्रेणीले जस्तो
एकैछिन सौन्दर्यता देखाएर हराउन पनि जान्दिन
म हिजो पनि कालो र नराम्रो लाग्ने मान्छे
र आज पनि त त्यही छु
कालै छु,कालो नै लाग्छ सबलाई म र मेरो मन
अनि कसरी रंग बदले मैले
तर यहाँ मलाई रङ्ग बदलेको आरोप छ ।
हो म हिजो जुन प्रकृतिको काखमा
सुन्दर जस्ताको टहरामा जन्मिए
आज उसले रङ्ग फेरेको छ
सेता सुकिला छानाहरु
कालो अध्यारा छानामा परिणत छ्न
रातो माटोले पोतिएका भित्ताहरु
कालो र धुवाँदार बनेका छन
हो,मैले फेर्न सकिन घरका जस्ताहरु
पोत्न सकिन काला भित्ताहरु
त्यसैले उसले रङ्ग बदलेको हो
तर यहाँ मलाई मैले रङ्ग बदलेको आरोप छ ।
मैले लुगा फेर्दा लुगामा बदलिएको रङ्ग
असारमा धान रोप्दा,
होलीमा रंगिन बन्दा,
पुराणमा पहेँलो हुँदा बदलिएको रङ्ग,
यदि मैले रङ्ग बदलेको मानिदैन भने
कसम, मैले मेरो रङ्ग बदलेको छैन
म जे थिय, त्यही छु
म जहाँ थिँय त्यहीँ छु
जस्तो थिँय, उस्तै छु
अनि कसरी मैले मेरो रङ्ग बदले त?
मैले मेरो रङ्ग बदलेको भन्ने आरोप
मिथ्या हो सरकार ।