अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएका पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङको बुलका स्थानीयलाई खाद्यान्न र लत्ताकपडा सहयोग भएको छ । गंगा जिसी फाउण्डेशन र मोना मकाउको सहकार्यमा करिब दुईलाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको हो ।
गएको असार २५ गते पहिरोले विस्थापित भएका स्थानीयलाई प्रभु एअरको हेलिकप्टरमार्फत उक्त सामानहरु ढुवानी गरी हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापा, धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, मालिकाका उपाध्यक्ष खरमाया बिटालु, मराङका वडा अध्यक्ष राजाराम सुवेदीको उपस्थितिमा फाउण्डेशनका अध्यक्ष नारायण जिसी र मोना मकाउका प्रतिनिधि कमल पौडेलले सामान हस्तान्तरण गरेका थिए ।
पैदलमार्गबाट पु¥याउन अझै असहज रहेकाले दुईवटा संस्थाको साझेदारीमा सहयोग हस्तान्तरण गरिएको फाउण्डेशनका अध्यक्ष जिसीले जानकारी दिएका छन् । उनले आफ्नी स्वर्गीय बहिनी गंगाको नाममा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको संस्थामार्फत सामाजिक एवं मानवीय सेवाको क्षेत्रमा सक्रिय हुने समेत बताए ।
यसअघि उपचारको क्रममा ज्यान गुमाएकी गंगा जिसीको स्मृतिमा फाउण्डेशनका अध्यक्ष जिसी र उनका भाई किसान जिसीले बेनी अस्पतालमा ४ वटा कोठासहितको भवन, जामुनाखर्क माध्यमिक विद्यालयमा एकलाख रुपैयाँ बराबरको अक्षयकोष तथा प्राकृतिक विपत्ति एवं उपचारमा आर्थिक अभाव भएकालाई समेत लाखौं रुपैयाँ सहयोग गरिएको अध्यक्ष जिसीको भनाइ छ ।
यता मोना मकाउका अध्यक्ष चिरञ्जीवि पौडेलले संस्थामार्फत राहतस्वरुप एकलाख बराबरको सहयोग हस्तान्तरण गरिएको जानकारी दिएका छन् । म्याग्दी जिल्लामा विभिन्न व्यक्ति तथा संस्थामार्फत विपद्मा परेकाहरुलार्ई आर्थिक र जिन्सी सहयोग गर्ने गरिएको छ ।
Previous Articleमैले मेरो रङ्ग बदलेको आरोप छ मलाई
Next Article रुप्से दैनिक ! २७ श्रावण २०७७