बागलुङ, २६ कात्तिक – जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ को प्रशासनिक तथा व्यापारिक केन्द्र रहेको बुर्तिबाङ गाविस कार्यालयले ३ बर्षपछि आफ्नै गाविस सचिव पाएको छ ।
२०७० पुस २५ गते तत्कालिन गाविस सचिव नन्दराम भुषालले अबकाश लिएपछि अहिलेसम्म अरु गाविसमा दरबन्दि भएका सचिवले बुर्तिबाङ गाविसमा सेवा दिँदै आएका थिए । जिल्ला वन कार्यालय बागलुङका नायव सुब्बा चण्डीराज पौडेललाई जिल्ला विकास समितिले बुर्तिबाङ गाविस कार्यालयको सचिवको रुपमा पठाएपछि बुर्तिबाङले आफ्नै गाविसमा दरबन्दि सहितको सचिव पाएको हो ।
पौडेललाई जिल्ला विकास समितिले यहि कार्तिक १२ गतेको पत्रमार्फत बुर्तिबाङ गाविस हेर्ने गरि पठाएको स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । यस अघिका ३ बर्षमा अर्को गाविसमा दरबन्दि रहेका सचिवले हेर्नुपर्दा सचिवलाई सेवा प्रवाह गर्न तथा नागरिकलाई सेवा लिन समस्या हुने गरेको स्थानियले गुनासो गर्दै आएका थिए ।
जनसंख्याको चाप धेरै भएको नगरउन्मुख तथा एकीकृत सेवा केन्द्रसहितका कार्यालय भएको ठाउँमा पुर्ण जिम्मेवारीको सचिव नहुँदा काम प्रभावकारी हुन सकेको थिएन । नयाँ आएका सचिव पौडेललाई खुंगा दरबन्दि भई अहिले सम्म बुर्तिबाङको काम हेर्दै आएका सचिव विष्णुप्रसाद शर्माले एक कार्यक्रमको आयोजना गरि बरबुझारथ गरेका छन् ।
राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थितिमा दुवै सचिवले बरबुझारथ गरेका थिए । कार्यक्रममा बोल्दै नवआगन्तुक सचिव चण्डिराज पौडेलले तोकिएको नियम र मापदण्डभित्र रहेर काम गर्ने बताए । पौडेलले राजनितिक दल, गाविस कार्यालय र सम्पुर्ण सरोकारवाला बीच समन्वय र सहकार्य गरेर कामगर्ने बताए ।
उनले सहकार्यका लागि सबैलाई आग्रह समेत गरे । बुर्तिबाङमा १ बर्ष १२ दिन सेवा दिएर बिहिबारदेखि आफ्नो जिम्मेवारी औपचारिक रुपमा हस्तान्तरण गरेका सचिव विष्णुप्रसाद शर्माले आफ्नको कार्यकालमा सहयोग गर्ने राजनितिक दल र सरोकारवालालाई धन्यवाद दिए । उनले बुर्तिबाङमा काम गर्न अप्ठ्यारो भएका कारण कर्मचारी आउनै नमान्ने भनेर गरिने प्रचार गलत भएको भन्दै आफ्नो गाविस सचिव जीवनमा बुर्तिबाङको कार्यकाल सबैभन्दा सहज भएको दाबीसहित खुसी व्यक्त गरे ।
राजनितिक दलको तर्फबाट नेकपा माओवादी केन्द्रका चित्र भण्डारीले गाविसको विकास र सुधारका लागि सबैसँग सहकार्य गरेर काम गर्न नवआगन्तुक सचिवलाई आग्रह गरे । कार्यक्रममा वडा नागरिक मञ्च बुर्तिबाङ–१ का संयोजक गुञ्जबहादुर भण्डारी र पत्रकारको तर्फबाट सामुदायिक रेडियो परिवर्तनका स्टेशनम्यानेजर राम सुवेदीले गाविसका गतिविधिमा पारदर्शिता काययम गरेर काम गर्न, बजेट विनियोजन तथा योजना निर्माणमा दिर्घकालिन प्राथमिकता कायम गरेर काम गर्न नवआगन्तिुक सचिव पौडेललाई सचेत गराए ।
कार्यक्रममा उपस्थित राजनितिक दल र सरोकारवालाले एकबर्ष गाविसको काम सम्पादन गरेर सहयोग गरेका सचिव विष्णुप्रसाद शर्मालाई धन्यावाद दिएका थिए । कार्यक्रम निवर्तमान गाविस सचिव विष्णुप्रसाद शर्माको अध्यक्षता र कार्यालय सहायक चुडामणि भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।