म्याग्दी, २६ कात्तिक
म्याग्दीको ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकीय महत्व बोकेका सम्पदाको संरक्षण नहुँदा ओझेलमा पर्दै गएका छन् । बाईसे चौबीसे राज्यकालको समयमा जिल्लाको विभिन्न स्थानमा तत्कालीन राजा महाराजाले बनाएका राजदरबार, कुटी तथा कोटमन्दिर लगायतको संरक्षण हुन नसक्दा धार्मिकस्थल र सम्पदाको लोप हुने खतरा बढ्दै जान थालेको छ । म्याग्दीको बेनी नगरपालिका–१२ गाजनेमा रहेको ऐतिहासिक डढेकोट राजदबार, बेनपा–१० ढोल्ठानको ढोलठान राजदरबार, ज्यामरुककोटस्थित ज्यामरुककोट र ताकम कोटलगायत प्राचीन महत्व झल्कने राजदरबार, कुटी र कोटमन्दिरहरु संरक्षणको अभावमा जिर्ण बन्दै गएको स्थानीयवासीले बताएका छन् । मन्दिरभित्र रहेका ऐतिहासिक महत्वका सामानहरु चोरी हुने, खिया लाग्ने र हराउँदै जाँदा दरबार भग्नावशेषका रुपमा परिवर्तन हुने थालेपछि स्थानीयवासीले चिन्ता गरेका छन् । समुन्द्री सतहदेखि दुईहजार तीनसय मिटरको उचाईमा अवस्थित ऐतिहासिक महत्व बोकेको गाजनेको डढेकोट दरबार अहिले भग्नावशेषका रुपमा परिणत भएको छ । गाजने गाउँदेखि केही माथी जङ्गलमा रहेको डढेकोट दरबार आसपासमा वैरभूमे, भूमे, बडुवा, नरसिंह, गुफाडिल र सिद्धको थानजस्ता महत्वपूर्ण ठाउँहरु रहेपनि संरक्षणको अभावमा जिर्ण बन्दै गएको गाजनेका अगुवा यामबहादुर बानियाँले बताए । उनका अनुसार, डढेकोट र गुफाको डिलबाट म्याग्दी जिल्लाको ३७ गाविस देखिनुका साथै पर्वत, बागलुङ, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाको दृष्य अवलोकन गर्न सकिन्छ । यसैगरी सोही ठाउँबाटै संसारको सातौं अग्लो हिमाल धौलागिरि तथा अन्नपूर्ण, माछापुच्छ«े, गूर्जा, निलगिरी, मानापाथीलगायत दर्जनौं हिमश्रृङ्खलाहरु देखिन्छन् । ती अग्ला डाँडापाखा र चुचुरामा परापूर्वकालमा भुरे टाकुरे राजाहरुले राज्य गर्ने गरेको किम्बदन्ती रहेको छ भने थापा र मल्ल राजाहरुले दरबार एवं कुटीको निर्माण गरेका थिए । उनीहरुले आफुलाई विरोधीसँग लडाईँ गर्नका लागि अग्लो स्थानमा गएर दरबार निर्माण गर्ने र त्यहीँ बसेर लडाईं गर्न सजिलो हुनेहुँदा ती दरबार बनाएका हुन् । १५ सय शताब्दीतिर राजा दिलिपबम मल्लले राज्य गरेको डढेकोट दरबार आगालागी भएपछि उनी ढोल्ठानमा बसाई सरेर त्यही दरबार निर्माण गरेको इतिहाँस रहेको अगुवा बानियाँले जानकारी दिए । ढोल्ठानमा रहँदा राजा जाडोको समयमा बेनीबजार र गर्मीमा ढोलठान पुगेर बस्ने गरेको बुढापाकाहरु बताउँछन् । त्यसैबखत ‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी’ भन्ने बोलको गीत समेत चर्चामा रहेको कहिलेकाहीं सुन्नमा आउने गरेको छ । ऐतिहासिक महत्वका धरोहरको राज्यका निकायबाट आवश्यक बजेट विनियोजन गरी तिनको प्रचारप्रसारका साथै आवश्यक संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको सरोकारवालाको भनाई छ ।
–प्रताव बानियाँ/म्याग्दी
Previous Articleकार्कीविरुद्ध महाअभियोग प्रस्तावमा संसदमा छलफल आज
Next Article अर्गलको पहिचान