पछिल्लो समय नेपाली गीत सङ्गीतको क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल कर्णप्रिय स्वरकी धनी म्याग्देली चेली ईन्दु बानियाँले ‘आकाश पनि’ बजारमा ल्याएकी छिन् । यसअघि ‘दिलराजा, दिलरानी’को अपार सफलतापछि प्रेम समर्पणलेयुक्त ‘आकाश पनि’ बोलको भिडियो सार्वजनिक गरेकी हुन् ।
‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’, ‘राम कसम चट्टै’, ‘गाई चराउने पाखैमा’ र दिलराजा, दिलरानी जस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुगेकी गायिका बानियाँको अर्को साङ्गीतिक कोसेली ‘आकाश पनि’को म्युजिक भिडियो सार्वजनिक भएलगत्तै निकै लोकप्रिय बनेको छ । मिन बानियाँको शब्द रचना रहेको यस गीतमा बिबी. अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस भिडियोमा सुबास जिसीको निर्देशन तथा छायाङ्कन, पवित्रा जिसीको सम्पादन र गीतको मिक्सिङ श्यामश्वेत रसाईलीले गरेका हुन् ।
‘जुनी–जुनी तिमै हो नि छुट्टिदैन यो ज्यान’ जस्ता मार्मिक शब्द शिल्पमा प्रणयभाव छचल्किएको यस गीतमा सङ्गीत र स्वरको अनौठो समायोजन महसुस गर्न सकिन्छ भने प्रेमरसको रसस्वादन गर्दै प्रेम प्रणयको वास्तविक यथार्थताबोध पनि गर्न पाइन्छ । साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै स्थापित गायिकाको रुपमा चर्चा कमाएकी बानियाँका यसअघि सार्वजनिक भएका गीतहरुले बजारमा निकै चर्चा पाएका छन् । ‘तिम्रो न्यानो त्यो काखैमा’ बोलको गीतबाट आफ्नो साङ्गीतिक यात्रा थालेकी गायिका बानियाँले ‘सबै गुमाएर बरु’ बोलको गीत सार्वजनिक गरेपछि उनको चर्चा चुलिएको हो ।
कर्णप्रिय आवाजकी धनी बानियाँको सानैदेखिको गीत सङ्गीतप्रतिको लगावका कारण अहिले उनी यो मुकामसम्म आइपुगेको म्याग्दीमा उनलाई नजिकैबाट चिन्नेहरुले बताएका छन् । रेखाकौशल रेग्मीको शब्द रचना रहेको ‘सबै गुमाएर बरु’ गीतले बानियाँलाई म्याग्दीमा मात्रै नभएर देश विदेशमा समेत परिचित गरायो । त्यसपछि गायिका ईन्दुको स्वरमा सजिएको ‘राम कसम चट्टै’ बोलको गीत बजारमा आएपछि उनको ख्याती चुलियो । गीतको म्युजिक भिडियो सार्वजनिक भएसँगै गीतले निकै चर्चा पाएको छ । अहिले म्याग्दीका गाउँगाउँ र वस्तीवस्तीसम्म पनि यो गीत गुनगुनाउने गर्दछन् । बिन्ध्यवासिनी म्युजिक प्रालिको युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा मनोजराज शिवाकोटीको शब्द, सङ्गीत रहेको छ ।
उक्त गीतको म्युजिक भिडियो काजिस श्रेष्ठले निर्देशन गरेका छन्भने म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय निक्कै रोचक देखिन्छ । त्यसैगरी कृष्ण पौडेलको शब्द र दिपक शर्माको सङ्गीत रहेको ‘गाई चराउने पाखैमा’ (पहिलो प्रेम) बोलको गीत रेकर्ड गराएकी ईन्दु सर्वोत्कृष्ट नवगायिका अवार्डद्वारा सम्मानित भैसकेकी छिन् । ‘गाई चराउने पाखैमा’ गीतबाट उनी राप्ती म्युजिक अवार्ड–२०७४ का लागि सर्वोत्कृष्ट नवगायिका महिला सुगम सङ्गीत विधाको अन्तिम ५ सम्म छानिएकी थिइन् ।
म्याग्दी जस्तो विकट ठाउँमा जन्मिएर विभिन्न किसिमका बाधा र अवरोधहरुलाई छिचोल्दै गायन क्षेत्रमा जमेकी बानियाँ जति छरिती र फुर्तिली छन्, उनको स्वरमा पनि उत्तिकै माधुर्यता रहेको गीत सङ्गीतका जानकारहरु बताउँछन् । उनको स्वरमा प्राकृतिकपना पाइनुका साथै शब्द उच्चारणमा समेत वैयाकरणीय शुद्धता रहेको गीतकार मधुकर पौडेलले बताए ।
ईन्दुको‘दिलराजा, दिलरानी’ सफलतापछि ‘आकाश पनि’ बजारमा
Previous Articleकोरोनालाई जितेर दुई युवा घर फर्किए
Next Article बलात्कृत भएँ भनी उजुरी दिनेलाई नै अदालतबाट कैद फैसला