हिमाली जिल्ला म्याग्दीबाट कोरोना भाइरसलाई जितेर दुई युवा शनिबार घर फर्किएका छन् । रोजगारीको सिलसिलामा ईन्डिया पुगेर फर्किएका उनीहरुलाई बेनीको आइसोलेसनमा राखेर उपचार गरी पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
मालिका गाउँपालिका–४, ओखरबोटका ३० वर्षीय र मंगला–४, बराङ्जाका १९ वर्षीय एकएक जना युवालाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । गएको जेठ ९ गते ईन्डियाबाट बेनी आएका ३० वर्षीय युवाको जेठ १४ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । रिपोर्ट पोजिटिभ आएसँगै उनलाई तत्कालै बेनीस्थित शैक्षिक तालिम केन्द्रको भवनमा बनाइएको आइसोलेसनमा राखेर उपचार गरियो ।
त्यहाँबाट उनको एक हप्तापछि पुनः परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनको पछिल्लो जेठ ३० गते गरेको पिसिआर परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएसँगै एक हप्ता आइसोलेनमा राखेर डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिए । यसैगरी बराङ्जाका १९ वर्षीय युवाको पहिलो रिपोर्ट पोजिटिभ आए पनि त्यसको एक हप्तामा गरेको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई समेत डिस्चार्ज गरिएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताए ।
जेठ १४ गते ईन्डियाबाट बेनी आएका परियारको २२ गते पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा राखेर उपचार गर्नुका साथै हप्ता दिनमा गरेको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि विदाई गरिएको सदस्य केसीले जानकारी दिए । कोरोना जितेका दुवै युवालाई कमाण्ड पोष्टका संयोजक एवं म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत अधिकारी र स्वास्थ्य कार्यालय प्रमुख लम्सालले खादा लगाई माक्सलगायत सामग्री दिएर विदाई गरेका थिए ।
डिस्चार्ज भएका युवालाई विदाई गर्दै प्रजिअ ढकालले घरमा गएर पनि एक हप्तासम्म होम क्वारेन्टाइनमै बस्न, सुरक्षा सतर्कता अपनाउन र केही समस्या भएमा तुरुन्तै खबर गर्न सुझाव दिएका छन् । अहिले बेनी नगरपालिकाका ४६ वर्षीय र मालिका गाउँपालिकाका ३० वर्षीय एकएक जना पुरुष आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीबाट हालसम्म कुल २ सय ५७ जनाको पिसिआर नमुना सङ्कलन गरी पठाइएकोमा २०८ नमुनाको रिपोर्ट आएकोमध्ये २०२ नेगेटिभ र ६ ओटा नमुना कोरोना पोजिटिभ आएको छ ।
अझै संक्रमित बिरामीको दोस्रो र तेस्रो रिपोर्टको नमुनासहित ४९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यस्तै ५ सय २९ जनाको आरडिटी परीक्षण गरिएकोमा ५ सय २७ नेगेटिभ र २ जनाको पोजिटिभ आएको थियो । तर, पोजिटिभ आएको दुई जनाको पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएको छ । अहिले बेनीमा ४० जना पुरुषसहित ७ महिला रहेकोमा २ जना आइसोलेसन र बाँकी सबै क्वारेन्टाइनमा छन् ।
Previous Articleएकल महिलाको सन्दर्भ
Next Article ईन्दुको‘दिलराजा, दिलरानी’ सफलतापछि ‘आकाश पनि’ बजारमा