प्रहरीमा उजुरी दिदाँ आफू पीडित भएको बताएकी १९ वर्षीया महिलाले अदालतमा आफू पीडित नभएको बताएपछि चितवन अदालतले महिलालाई नै सजाय तोकेको छ ।
बलात्कार प्रयास घटनाको मुद्दामा अदालतले असार ७ गते यस्तो फैसला गरेको हो । चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले पीडित भनिएकै महिलालाई सजाय तोकेर आरोपित भनिएका पुरुषलाई सफाइ दिएको चितवन अदालतका सूचना अधिकारी श्रेष्तेदार रुद्रमणी गिरीले बताउनु भयो ।
महिलालाई एक महिना कैद र आरोपित भनिएकालाई ६३ हजार नगद क्षतिपूर्ति तिर्ने फैसला भएको चितवन अदालतका सूचना अधिकारी श्रेष्तेदार गिरीले इन्सेक जिल्ला प्रतिनिधिलाई फोनमा जानकारी दिनुभयो । गलत बयान दिनेलाई पनि सजायको व्यवस्था कानुनले गरेको भन्दै श्रेष्तेदार गिरीले अदालतको फैसलाबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताउनु भयो ।
कास्की जिल्ला पोखरा महानगरपालिका–३१ का २१ वर्षीय पुरुषले १९ वर्षीया महिलालाई चितवनको सौराहामा ०७६ कात्तिक ७ गते बलात्कार प्रयास गरेको भन्दै महिलाको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले ०७६ कात्तिक ९ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतको आदेशमा सफाइ पाएका आरोपित भनिएका पुरुषलाई पूर्पक्षका लागि थुनामा पठाइएको थियो । पटक पटकको पेशीपछि ०७७ असार ७ गते यस मुद्दाको अन्तिम फैसला हुँदा पुरुषले सात महिना कारागारमा बिताएको श्रेष्तेदार गिरीले बताउनु भयो ।
इन्सेकअनलाइन/दिपेन्द्र अधिकारी