नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष कार्यकारी एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुने आजको आवश्यकता भएकामा जोड दिएका छन् ।
तेहौं गणतन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य सुधार मात्र नभई गुणात्मक परिवर्तनको प्रतिनिधित्व गरेको बताएका छन् ।
‘यो राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ’, सन्देशमा प्रचण्डले भनेका छन् । उनले गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा प्राणोत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पर्ण गर्दै बेपत्ता योद्धा र घाइतेहरुको समर्पणप्रति उच्च सम्मान प्रकट गरेका छन् ।
प्रचण्डले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ं) रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिने सबैको उच्च प्रशंसा गर्दै एतिहासिक गणतन्त्र दिवसका अवसरमा सबैको सु–स्वास्थ्य र प्रगतिको कामना गरेका छन् ।
उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।